PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सीमा विवादको विषयमा नेपालले भारतसँग वार्ताको सुरुवात गर्न चाहन्छ : परराष्ट्रमन्त्री ज्ञवाली



पहिलोपोस्ट

सीमा विवादको विषयमा नेपालले भारतसँग वार्ताको सुरुवात गर्न चाहन्छ : परराष्ट्रमन्त्री ज्ञवाली
फोटो : नयाँ दिल्लीस्थित नेपाली दूतावास।

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सीमा विवादको विषयमा नेपालले भारतसँग वार्ताको सुरुवात गर्न चाहेको बताएका छन्। इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सले नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले सीमा विवादका केही विषयहरु थाँती रहेको भन्दै ति विषयमा वार्ता शुरु गर्नुपर्ने बताएका हुन्।

कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सीमाका विषयमा सहमति जुटाउन सके पूर्ण विवादरहित अन्तर्राष्ट्रिय सीमा कायम हुने मात्रै नभई दुई देशका नागरिकमा सकारात्मक सन्देश जाने तथा दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्धमा विश्वासको वातावरण समेत बन्ने बताए। त्यो अवस्थासम्म पुग्न दुई देश सफल हुनेमा पनि उनले विश्वास व्यक्त गरे।

मन्त्री ज्ञवालीले नेपाल र भारतबीचको एक हजार आठसय किलोमिटर अन्तर्राष्ट्रिय सिमानामध्ये केही किलोमिटर खण्डको मात्र सिमांकन बाँकी रहेको बताए। त्यसलाई पूर्णता दिन संवादको लागि नेपाल तयार रहेको र निष्कर्षमा पुग्न विश्वास तथा दायित्वको दायरालाई विस्तारित गर्नुपर्ने उनको भनाइ थियो।

सीमाको विषय वार्तामार्फत समाधान निकाल्न दुवै पक्ष सकारात्मक रहेको भन्दै उनले केही विषयमा मतान्तर रहेपनि समग्र प्रयत्न भने जारी नै रहेको उल्लेख गरे। मैत्रीपूर्ण सम्बन्धमा असर पर्ने दुई देशबीच रहेका समाधान गर्नुपर्ने कुनै पनि महत्वपूर्ण विषयहरु सधैँको लागि थाँती राख्न नहुने कुरामा आफूहरु सकारात्मक रहेको उनले बताए। मन्त्री ज्ञवालीले इपिजीको प्रतिवेदन स्वीकार गरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने कुरामा समेत जोड दिए।

नेपालका लागि भारत सबैभन्दा ठूलो व्यापारीक साँझेदार रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले द्विपक्षीय व्यापार घाटाको समस्या ठूलो रहेको र उक्त असन्तुलनले अर्थतन्त्र टिकाउ नहुने बताए। द्विपक्षीय व्यापार व्यवस्थाको समीक्षा गर्ने प्रकृयामा नेपालले आफ्नो निर्यातको आधार विस्तार गर्न सहयोग पुग्ने उपायहरु समेत अघि सारेको उनको भनाइ थियो। भारतले गरेको प्रशंसनीय प्रगतिबाट नेपाल प्रभावित रहेको भन्दै मन्त्री ज्ञवालीले स्थिर र समृद्ध नेपाल निर्माण गर्नु नै तीन करोड नेपालीको आकांक्षा रहेको सुनाए।

कोरोना भाइरसविरुद्धको खोप विकास गरेकामा उनले भारतका वैज्ञानिक, अनुसन्धान केन्द्र तथा कम्पनीलाई बधाई समेत दिए। उनले भारतले नेपाललाई छिमेकीको नाताले पनि खोपमा सहयोग गर्ने आशा व्यक्त गरे। सार्वभौमिक समानताका सिद्धान्त, पारस्परिक सम्मान र अहस्तक्षेप नेपाल र नेपालीका निम्ति राष्ट्रिय गौरवका अतिमूल्यवान मान्यता भएको भन्दै उनले सुदृढ आधारस्तम्भमा रहेको द्विदेशीय सम्बन्धलाई अझ घनिभूत तुल्याउन सावधानीपूर्वक अघि बढ्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell