PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मिरापिक चढ्दाको कहिल्यै भूल्न नसकिने ती क्षण...



पहिलोपोस्ट

मिरापिक चढ्दाको कहिल्यै भूल्न नसकिने ती क्षण...

  • टेकबहादुर गर्बुजा पुन -

घुम्ने र एड्भेन्चर सौख। सानै सही, हिमाल चढ्ने हुटहुटी। फेसबुकले जुराइदियो अवसर। गोर्खा रेजिमेन्टबाट सिंगापुरमा १८ वर्ष प्रहरीका रुपमा कार्यरत रहँदा कहिल्यै यस्तो मौका जुरेन। ड्युटीमै बित्यो समय। तर, सोख भने बच्चैदेखि घुम्ने।

४ वर्षअघि जब म सिंगापुर गोर्खा पुलिस अफिसरको जागिरबाट रिटायर्ड भए, अनि सुरु भयो एडभेन्चर लाइफ। म्याग्दीमा लाहुरे परिवेशमा हुर्केर लाहुरे भएको म अवकाशपछि नेपालको मुक्तिनाथदेखि जापान, दक्षिण कोरिया, रसिया र चीनसम्म घुमेँ। अधिकांश एसियाली देश पुगेँ। एडभेन्चर गर्दागर्दै म आफैं पनि प्याराग्लाइडिङ पाइलट बनेँ।

मैले युवा अवस्थामा विदेशलाई कर्म भूमि बनाए पनि नेपालका हिमाल चढ्ने हुटहुटी र मनोरम दृश्यको स्वाद लिने आकांक्षा मनमा रहिरह्यो। यसको सुरुवात मैले सन् २०२० बाट गरेँ। डिसेम्बर ३ का दिन ६ हजार ४ सय ७६ मिटर उचाइको मिरापिक आरोहण गरेँ। हिमाल चढ्दाका आरोह अवरोध थुप्रै छन्। तर चढ्ने अवसरका लागि मियो बन्यो फेसबुक।

नोभेम्बर २१ का दिन फेसबुक चलाउँदै गर्दा एक विज्ञापनमा ध्यान पुग्यो। जहाँ ट्रेकिङ र क्लाइम्बिङको प्याकेज थियो। मैले तुरुन्तै फोन गरे। तीन दिनपछि अर्थात् २३ नोभेम्बरमा हिँड्ने भनियो। मैले आरोहणका लागि कुनै सपिङ नगरेको जानकारी गराए। कम्पनीले भोलिको दिन (२२ नोभम्बर) अलिअलि शपिङ गरेर काठमाडौं आउन सुझाए। भोलिपल्ट हल्का किनमेल चल्यो।

एकजना शेर्पा चिनेका थिए। उनको सामान लिएर म काठमाडौं पुगेँ। काठमाडौंबाट मुख्य गाइड देन्सा शेर्पाको नेतृत्वमा मसहित कम्पनीमार्फत् १४ जनाको टोली मिरापिकलाई गन्तव्य बताउँदै सोलुखुम्बुतिर हिँड्यो। पदमार्ग पनि गर्ने तालिका रहेकाले हामी लुक्ला नगई सल्लेरीबाट माथि उक्लियौं। चौलेन हुँदै खारे पुगियो। खारेसम्म हाम्रो पदयात्रा थियो। ५ हजार मिटर माथिको पदयात्रामा देखिएका हिमालका मनोरम दृश्य, प्रष्ट देखिएको पाँच पोखरीले मोहित बनायो। पदयात्रामा बस्ने घर र होटलको भने समस्या झेल्यौं। पर्याप्त थिएन ठाउँ। बिहान ब्रेकफास्ट गरेपछि साँझमात्रै खाना मिल्यो। बाटोमा चिउरा, भुटेको मकै र बिस्कुटकै भर।

खारेभन्दा अलिकति माथि मेराला (५२ सय मिटर) मा हामीलाई आरोहण तालिम (क्लाइम्बिङ ट्रेनिङ) दिइयो। हाइ अल्टिच्युडमा गएर तल झर्ने र आरोहण गर्दा ख्याल गर्नुपर्ने कुराहरु, उपकरण कसरी प्रयोग गर्ने जानकारी पायौं। तालिम सकेर फर्किँदै गर्दा हामी हिम पहिरो (एभ लेन्चर) मा पर्‍यौं। स्टोरिङ गर्नका लागि ग्याल्जे शर्पा अगाडि हिँडिरहेका थिए। उनीसँगै जाँदाखेरी आकाश कराएको जस्तो आवाज सुनियो। माथि हेरेँ। एउटा ठूलो ढुंगा आफूतिर आइरहेको!

शेर्पालाई जानकारी गराएँ। शेर्पाले 'भाग्नु भाग्नु' भने पछाडिको ग्रुपलाई। साथसाथै माथिबाट ढुंगा, माटो, पानीसँगै हिउँको ठूलो पहिरो एक्कासी आफूतिर उफ्रिँदै आइराखेको देखेँ। म र शेर्पा अगाडि भाग्यौं। पछाडिका ग्रुप पछाडितिर। खोँचमा हिँडिरहेका बेला यो घटना भयो। म त सिध्दिएँ भन्ने लाग्यो। छेउमा भएका शेर्पा ढुंगामुनि लुकेर बाँचे। म पनि दौडेर सुरक्षित ठाउँमा पुगेँ। हामी जहाँनेर थियौं त्यहीँ पहिरो झर्‍यो। सुरुमा त आफू पनि गइयो, अरु साथीहरु सबै गए भन्ने लाग्यो। साथसाथै कसरी आफू बच्ने, छिटो भाग्ने बाहेक अरु सोच्नै सकिएन त्यतिखेर। भाग्दाभाग्दै अलि अलि हिउँले डल्लाले चाहिँ हिर्कायो।

धन्न! बाँचियो। त्यतिखेर खुशीले आँखाबाट आसु नै टप्कियो। साथीहरु पनि धेरैजसो रोए। बाच्ने भन्ने आशै थिएन। बाँचेपछि खुशीको सीमा नै रहेन। म पुरिएको भए त्यहीँ हुन्थे। मेरो परिवारको के हुन्थ्यो होला भन्ने सोचाई आयो। परिवार साथीभाइ सबै सम्झिएँ।

'यस घटनापछि शेर्पाहरुले नै ट्रिप क्यान्सल गरौं' भने। मृत्युलाई नजिकै देखेर हामी सबै साथीहरु पनि तयार भयौं। हामी त्यसै हतोत्साही थियौं। त्यो घटनापछि मानसिक रुपमै हामी कमजोर भइसकेका छौं। काठमाडौंबाट जुन मनोबल उत्साह लिएर गएका थियौं, सबै होपलेस। तल फर्किसकेपछि होटल सञ्चालक थिरे शेर्पाले 'यस्तो सान्सानो पहिरो त आइराख्छ, त्यस्तो टाइमटेबलमा परेर त्यो घटना भयो। अब यहाँसम्म आइसकेपछि चढ्नुपर्छ' भनेर उकासे।

उनले प्रेरित गरेपछि हामी फेरि तयार भयौं उक्लिन। समय तालिका, तालिम गरेको भोलिपल्ट आरोहणका लागि अगाडि बढ्ने थियो। तर, भोलिपल्ट गएनौं। आराम गर्‍यौं। पर्सिपल्ट खारेबाट अगाडि बढ्यौं। डिसेम्बर २ तारिखका दिन ५८ सय मिटर उचाईंको हाइ क्याम्प पुग्यौं।

ओढारजस्तो ठाउँमा क्याम्प राखिएको थियो। त्यो रात हाइ क्याम्पमा बसियो। ३ जनालाई अक्सिजनको कमीले सास फेर्न सकस। उनीहरु हाइ क्याम्पबाट फर्किए। हाइ क्याम्पमा अक्सिजनको कमी थियो। चिसो पनि। निदाउन लाग्दा अक्सिजन कम भएर हुनुपर्छ, झसङ्ग हुँदै ब्युँझिने, भइरह्यो। सबै साथीहरुलाई यो समस्या देखियो। राम्रोसँग सुत्न सकिएन। खाना पनि नरुच्ने रहेछ। बमिटिङ हुने रहेछ। यद्यपि, शेर्पाहरुको हेरचाह भने प्रशंसनीय थियो। उनीहरुले खाना दिने, अक्सिजन जाँच गर्ने, राती सुतेको बेला कम्फर्ट छ कि छैन, स्लिपिङ ब्याग राम्रोसँग लगाएको छ छैन, टेन्टहरुको हेरचाहदेखि रातभर निरन्तर जाग्राम रहेर गरिरहे। उनीहरुको परिश्रमका अगाडि हामी त केही होइन भन्ने महसुस भयो।

बिहान साढे २ बजेतिर ब्रेकफास्ट खाएर ३ बजे त्यहाँबाट हामी आरोहणका लागि हिँड्यौं। शेर्पासहित ७ जनाको ग्रुप माथितिर लाग्यौं। अक्सिजनको कमीले हिँड्न गाह्रो भयो। चढ्न सकिन्छ कि सकिँदैन भन्ने ढुकढुक भइरहेको थियो। टिममा कोही छिटो त कोही बिस्तारै हिँड्ने। जति माथि गयौं, उज्यालो बढ्दै गयो। उज्यालोसँगै हिमालको मनोरम दृश्य सुन्दरताले मनमा शीतलता प्रदान गर्‍यो। हिँड्दाखेरी र अक्सिजनको कमीले भइरहेको समस्यालाई पनि बिर्सायो दृष्यहरुले। तर, राति नसुतेका कारण हिँड्दाहिँड्दै निद्राले असहज बनाइरहेको थियो।

बेलाबेलामा उडाउला झै गरी आउने कडा हावाले पछार्ला कि भन्ने डर पनि। हामीभन्दा अगाडि अर्को कम्पनीको ग्रुप थियो। अर्को ग्रुप देख्दा आफ्नै साथी जस्तो महसुस हुने रहेछ यस्तोमा। माथि उक्लिँदै जाँदा गाइडले पिक आइसक्यो भन्दै गफ दिइरहे। तर, आउँदैन त पिक!

हाम्रो हिँडाई ढिलो थियो। समयमै पिकमा चढ्न सकिन्न भन्ने कि चिन्ता मनमा थियो। १२ बजेपछि मौसम खराब हुने भएकाले चाँडै पुगेर फर्किनुपर्ने थियो। ९ बजेतिर मिरापिक नजिकै देखियो। फाइनल्ली हामी डिसेम्बर ३ को बिहान १० बजेर २० मिनेटमा माइनस २१ डिग्री तापक्रममा मिरापिक हिमालको चुचुरोमा पुग्यौं। चुचुरोमा पुग्नुभन्दा अघिको २० मिनेटको बाटो एकदमै खतरनाक थियो। दुइटै साइडमा एकदमै भिरालो। अलिकति पनि बिरायो भने सिधै ३ हजार मिटर तल पुग्ने खतरा। तर, हामी त्यसलाई सकुशल पार गरेर चुचुरोमा पुग्यौं।

सफल आरोहण भएकाले मन पुलंकित थियो। त्यहाँबाट हिमालका दृश्यहरु हेर्ने र तस्विरहरुले लिने काम गर्‍यौं। चुचुरोमा धेरै बस्न नमिल्ने रहेछ। मौसम खराब भइरहने। पिकको आकार नै परिवर्तन भइरहने हिउँले। हामीलाई सुरुमा नै धेरै बेर बस्न नमिल्ने भनिएको थियो। बढीमा १० मिनेटको समय दिइएको थियो। तर, हाम्रो मनले कहाँ मान्थ्यो? त्यत्रो दु:ख गरेर चुचुरोमा पुगेका थियौं। १५ मिनेट बितायौं। कहिल्यै नदेखेको भ्युको रसपान गर्न पायौं। चुचुरोमा पुग्दा साथीहरुले खुशी साटासाट गर्‍यौं। हग गर्‍यौं।

शेर्पाले हामीले लगाएका इक्युपमेन्ट, डोरीहरु ठिक छ कि छैन जाँच गरे। तल झर्दाखेरी अलि अफ्ठ्यारो बाटो थियो। बिस्तारै बिस्तारै डिस्टेन्स मेन्टेन गर्दै तल झर्‍यौं। पिकबाट मेरा साउथ र मेरा नर्थ अवलोकन गर्दै झर्‍यौं। तलतल कालो बादल मडारिरहेको थियो। झर्दा छिटोछिटो भयो। हाइ क्याम्पमा ३ बजेतिर पुग्यौं। त्यहाँबाट सामानहरु लिएर तल झर्‍यौं। ९/१० बजेतिर खारेस्थित होटलमा पुग्यौं।

जे होस् एउटा हिमाल चढियो। यस्तो हुँदो रहेछ हिमाल, यसरी चढ्नुपर्ने, कस्तो दु:ख हुने रहेछ थाहा पाइयो। पहिला नचढ्दा सकिन्छ कि सकिन्न केही थाहा थिएन। अब एकखालको अनुभव प्राप्त भयो।

भोलिपल्ट २ बजेतिर खारेबाट तल थाङ्ना आइपुगियो। त्यहाँ होटलमा बास बस्यौं। भोलिपल्ट ८ बजेर हिँडेर ३ दिन लाग्ने बाटो एक दिनमा छोटो बाटो जाने भनेर सटकट बाटो हिँड्यौं। जाँदै गर्दा एकदमै अफ्ठ्यारो बाटोमा पुगियो। स्थानीयले बन्द गर्न खोजेको रुट रहेछ जुन प्रयोगहीन अवस्थामा थियो। लगभग ५ हजार फिटमाथिको डाँडामा चिप्लो बाटो, हुस्सु लागेको थियो। त्यहाँबाट खस्यो भने कहाँ पुग्ने पत्तो थिएन। बाँच्ने कुनै सम्भावना थिएन खस्यो भने। ढुंगाको कप्चाको बाटो भएको पार गरियो। अर्को डाँडा पनि त्यस्तै।

डाँडामै रात पर्‍यो। हामीलाई ३ ग्रुपमा विभाजन गरियो। म पहिलो ग्रुपमा थिए। हाम्रो गाइड शेर्पाले डाँडामै ओढारमा बास बस्न सुझाए। ओढ्ने केही थिएन। त्यतिकै रात बिताउनुपर्ने थियो। पिउने पानी सकिसकेको थियो। तिर्खा र भोक एकदमै। त्यतिबेला मैले शेर्पालाई यति हाइअल्टिच्युडमा जाडो हुन्छ, बरु तल जाऔं तल बसौ भनेँ। शेर्पाले माने। अनि टर्च बालेर हिँड्यौं। बाटो खुट्याउनै गाह्रो। पानीको प्यास झन् बढ्दै गयो। पानी खोज्न थाल्यौं। एउटा खोला कराएको आवाज सुनियो। १०/११ बजिसकेको थियो रातको।

अध्यारो र बादलको हुस्सु थियो। त्यहीँ आवाज सुन्दैसुन्दै पछ्याउँदा एउटा खोला भेटियो। पानी खाइयो। अब बाँचियो जस्तो महसुस भयो। अर्कातिर पछाडिका दुइटा समूह कहाँ पुग्यो भन्ने चिन्ता पनि थियो। हामीले खोलाबाट थर्मसमा पानी राख्यौं। लुक्ला आउने बाटो थाहा थिएन। त्यस्तै तल झर्ने क्रममा बाटो थाहा नभएपछि ओडारमा बस्ने निष्कर्षमा पुग्यौं।

दाउरा खोज्यौं र आगो बाल्यौं। दुई घण्टापछि धेरै माथि एउटा टर्चको लाइट देखियो। तिनीहरु पनि आगो देखेर हामी भएकै ठाउँमा आए। त्यो ग्रुप हामी भएको ठाउँमा आइपुग्यो। दोस्रो ग्रुपमा भने बाटो देखेका शेर्पा थिए। उनीहरु हामी भएकै ठाउँमा आएपछि हाम्रो समूह ठीक बाटोमा रहेको थाहा भयो। तेस्रो ग्रुप धेरै पछाडि थियो। टर्चको ब्याट्री सकिसकेको थियो उनीहरुको। त्यसैले आउन गाह्रो पर्‍यो। तलबाट भरिया लाइट लिएर माथि गए र उनीहरुलाई ल्याए।

सबै सुरक्षित भएको थाहा पाएपछि खुशी लाग्यो। त्यसपछि तीनवटै ग्रुप तल सँगसँगै झरियो। साढे ३ बजे लुक्लाको होटलमा पुग्यौं। खाना खाएर सुत्यौं। भोलिपल्ट बिहानको फ्लाइटमा सबै जना आ-आफ्नो गन्तव्यमा लाग्यौं। कम्पनीले हिमाल चढेको प्रमाणपत्र उपलब्ध गरायो।

हामी हिमाल चढ्दा सञ्चारको समस्या पायौं। केही भइहाल्यो भने हेलिकोप्टर बोलाउन पनि नसकिने अवस्था रहेछ। इक्युमेन्टहरु महँगो। अल्टच्युडमा प्रयोग गर्ने सामानहरु नेपालीले धान्न नसकिने खालको रहेछ। बाटोमा होटलहरुको पनि अभाव। आधुनिक तातो बनाउने प्रविधिको प्रयोग त कहाँ होस्? ट्रान्सपोर्टेसन, मेडिकलहरुको पनि समस्या। यसलाई सुधार गर्न सकियो भने आरोहण अजै सहज हुनेछ भने पर्यटन बढ्नेछ। यही सिकियो यो आरोहणबाट।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell