PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हाम्रो सभापतिको तालुमा आलु फल्यो, फेरि प्रधानमन्त्री हुन बेर छैन : रामचन्द्र पौडेल



पहिलोपोस्ट

हाम्रो सभापतिको तालुमा आलु फल्यो, फेरि प्रधानमन्त्री हुन बेर छैन : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो परिस्थितिले नेपाली राजनीतिको निर्णायकको जिम्मेवारी काँग्रेसको काँधमा आएको बताएका छन्। काँग्रेस भरतपुर महानगरले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बेलामा सभापति शेरबहादुर देउवा पुन प्रधानमन्त्री हुनसक्ने सम्भावनासमेत बढेको उल्लेख गरे।

त्यसैले प्रतिनिधि सभा पुनर्स्थापना भएर केही नबिग्रने पौडेलको भनाई थियो। 'प्रतिनिधि सभा आए पनि केही नोक्सान छैन। उनीहरु दुई फ्याक भएका छन्। हामी त निर्णायक नै छ नि। काँग्रेस जता लाग्छ त्यतै निर्णय हुन्छ,' प्रतिनिधिसभा विघटनको विरोधसभामा पौडेलले भने, 'हाम्रो सभापतिको तालुमा आलु फल्यो। फेरि प्रधानमन्त्री हुन बेर छैन।'

यसका लागि पहिले प्रतिनिधिसभा बचाउनुपर्ने पौडेलको भनाई थियो। पौडेलले पछिल्लो अवस्थाले देश ठूलो विद्रोहतिर जान लागेकाले यसबाट जोगाउन काँग्रेस अघि सर्नुपर्ने अवस्था आएको बताए।

पौडेलले भने, 'प्रतिनिधिसभा विघटनले ठूलो विद्रोहतिर धकेलिँदैछ। शक्ति केन्द्रहरुको क्रीडास्थल बनाउँदैछन्। नेपाललाई रणभूमि बनाउँदैछन्। देशलाई दुष्चक्रमा फसाउन लागिएको छ। त्यसैले पहिले संविधानलाई बचाउँ। पहिले प्रतिनिधिसभालाई बचाउँ। त्यसपछि चुनाव लडौला।'

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर आफैले अदालतलाई धम्क्याउन खोजेको समेत पौडेलको आरोप थियो। प्रधानमन्त्रीतिर इंगित गर्दै पौडेलले भने, 'न्यायाधीशहरुले संविधानतिर हेर्ने होइन। यो त राजनीतिक कुरा हो भनेर केपी ओलीले भनिसके। प्रधानमन्त्रीले अदालतलाई दबाव दिने हो? अदालतलाई धम्क्याउने? त्यसो भनेपछि हामीले आन्दोलन गर्ने कि नगर्ने? प्रधानमन्त्री लोकतन्त्र हुँदैन भन्दैछन्। लोकतन्त्रको चीरहरण हुँदा नेपाली काँग्रेस चुप लागेर बस्दैन।'

संविधान अनुसारको चुनावमात्र काँग्रेसलाई स्वीकार्य भएको उनको भनाई थियो। चुनाव पञ्चायतमा समेत भएको उल्लेख गर्दै पौडेलले असंवैधानिक सरकारले गरेको कदमको विरोध गर्नुपर्ने बताए।

'चुनाव आयो भनेर केही साथीहरु रमाएका छन्। यसरी हतारिएर हुँदैन। पहिले लोकतन्त्र बचाउँछौ। संविधान बचाउँछौं। यसमा टेकेरमात्र चुनावमा हुन्छ। यस्ता चुनाव पञ्चायतमा पनि आए गए। ७० वर्ष लडेर आएको संविधान छ। संविधानमा टेकेर आएको चुनावमा मात्र जाने हो।'

सर्वोच्चमा विचाराधीन मुद्दामा काँग्रेसले दबाव नदिएको प्रस्ट पार्दै उनले प्रधानमन्त्री ओलीको कदमको प्रतिरोध गरेको बताए। संविधानमाथि लात हानेर प्रम ओलीले सर्वोच्चमाथि नै हस्ताक्षेप गर्न खोजेको आरोप लगाउँदै पौडेलले भने, 'संविधानमाथि लात हानेको छ। परस्परविरोधी कुरा गर्न चाहन्छौं। अदालतसँग हामीले अपील गर्न पाउँछौं। वकालत गर्न पाउँछौं। संविधान हेर्नुस् भन्न पाउँछौं। दबाव हैन अनुरोध गरेको हो हामीले। केपी ओलीले हस्ताक्षेप गरेका छन्। हामीले त्यसको प्रतिरोध गरेका हौं।'

पौडेलले कम्युनिस्ट सिद्धान्तका लागि नभई स्वार्थका लागि एकजुट भएको र त्यो नमिलेपछि फुटेको जनताले बुझिसकेको दाबी गरे। उनले थपे, 'संविधानसभामा केपी ओली पनि सँगै थियौं नि। विद्यादेवी भण्डारी पनि सँगै थियौं। सिद्धान्त हैन स्वार्थका लागि मिलेका रहेछन् कम्युनिस्ट। अहिले जनताले बुझिसके उनीहरुको छल, ढोङ, ढाँट। कम्युनिस्टको पछि लाग्नेहरुले गहिरिएर सोच्ने दिन आएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell