PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ओलीको मतियार बन्न नेपाली काङ्ग्रेस सरकारमा जान नहुने शेखरको भनाइ, संसदको पुनःस्थापना एउटै विकल्प



अनन्तराज न्यौपाने

ओलीको मतियार बन्न नेपाली काङ्ग्रेस सरकारमा जान नहुने शेखरको भनाइ, संसदको पुनःस्थापना एउटै विकल्प

विराटनगर : नेपाली काङ्ग्रेसका नेता डाक्टर शेखर कोइरालाले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गरेर संविधान र नेपाली जनतालाई न्याय दिनुपर्ने आग्रह गरेका छन्।

नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिद्वारा शनिवार आयोजित विरोधसभामा नेता कोइरालाले प्रतिनिधिसभाको पुनःस्थापनाको आग्रह गरेका हुन्।

‘मुलुक अहिले रेलको लिकबाट खसेको डिब्बाजस्तो भएको छ,’ कोइरालाले भने, ‘त्यो डिब्बालाई फेरि लिकमा राखेर हाँक्नु परेको छ। यसका लागि प्रतिनिधिसभाको पुनःस्थापना हुनु जरुरी छ। मुलुकको निकासका लागि एउटै उपाय प्रतिनिधिसभाको पुनःस्थापना नै हो।’

उनले नेपाली जनताको पूर्ण अभिमतले संविधान सभाबाट बनाएको संविधानलाई च्यातेर धुजा–धुजा पार्ने अधिकार प्रधानमन्त्री ओली सरकारको नभएको जिकिर गर्दै सर्वोच्चले संविधानप्रति न्याय गर्छ भन्ने कुरामा आफू दृढ रहेको बताए।

शेखरले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अराजनीतिक कदमलाई प्रतिनिधि सभाको पुनःस्थापनाले मात्र सच्याउन सक्ने धारणा प्रकट गरे।

‘संसदको पुनःस्थापना अब कसैले रोक्न सक्तैन,’ उनको कथन थियो, ‘प्रधानमन्त्री कुर्लीकु्र्ली सर्वोच्च अदालतलाई आफ्नो आदेश सदर गर्न धम्क्याइरहेका छन्। कसैले कल्पना नगरेको अराजनीतिक र असंवैधानिक व्यवहार उनी प्रदर्शन गरिरहेका छन्।’ 

कोइरालाले सर्वोच्चले प्रधानमन्त्रीको आदेश सदर गर्यो भने पनि नेपाली काङ्ग्रेसले निर्वाचनको सुनिश्चितताका लागि सडक सङ्घर्ष जारी राख्ने चेतावनी दिए।

पार्टीका केन्द्रीय सदस्य डा. शेखरले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी, अराजनीतिक, असंवैधानिक र अराजनीतिक गतिविधिबाट मुलुक फेरि द्वन्द्वमा फँस्न लागेको धारणा प्रकट गरे।

उनले एक पटकको द्वन्द्वबाट मुलुकले अत्यन्त मेहनतका साथ निकास पाएको उल्लेख गर्दै ओलीका कारण फेरि द्वन्द्व फर्कनसक्ने दोहोर्‍याए।

उनले केपी ओली अधिनायक हुन खोज्नुमा प्रचण्ड र माधवकुमार नेपाल पनि दोषी भएको तर्क पेश गरे।

उनले भने, ‘यसअघि संसदमा ओलीले ल्याएका स्वतन्त्रता विरोधी दर्जनौँ विधेयकमा प्रचण्ड र माधव नेपालले साथ दिएका छन्। फरक पार्टीले पाउने सभामुखको पद रिक्त राख्ने कुरामा प्रचण्ड र माधव नेपालको पनि स्वीकृति थियो।’

डाक्टर कोइरालाले केपी ओलीका असंवैधानिक र अराजनीतिक कदमको मतियार हुन नेपाली काङ्ग्रेस सरकारमा जान नहुने अडान प्रस्तुत गरे।
उनको भनाइ थियो, ‘केपी ओलीको मतियार हुन हामी सरकारमा जाँदैनौं । जानु हुँदैन।’

कोइरालाले ओलीले आफ्नो दलभित्र ६४ प्रतिशत सांसद आफूतिर भएको चर्चा गर्दै यसरी बहुमतमा भएको प्रधानमन्त्रीले संसद विघटन गर्न मिल्दैन भन्ने टिप्पणी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell