PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रदेश १ लाई फराकिलो अन्तरले हराउँदै एपीएफको सुखद सुरुवात, अभिनासले लिए पाँच विकेट



पहिलोपोस्ट

प्रदेश १ लाई फराकिलो अन्तरले हराउँदै एपीएफको सुखद सुरुवात, अभिनासले लिए पाँच विकेट
तस्बिर: क्यान

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा विभागीय टोली एपीएफले जित निकालेको छ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले प्रदेश १ लाई १ सय ३५ रनले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले आशिफ शेखको आक्रामक अर्धशतकको सहायतामा २४३ रन जोडेको थियो।

एपीएफले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २४४ रनको लक्ष्य प्रस्तुत गर्‍यो।

एपीएफका लागि आशिफ शेखले सर्वाधिक ५९ रन बनाउँदा बसन्त रेग्मीले ४० रन जोडे। त्यस्तै सुन्दीप जोराले ३०, कप्तान सरद भेषवाकरले २० तथा ओपनर सुवास खकुरेलले १९ रन जोडे।

बलिङतर्फ प्रदेश १ का लागि फिर्दोस अन्सारी, दीपेश कणेल, हेमन्त राई र श्रवण यादवलेले समान २/२ विकेट लिँदा सोनु मण्डल र जोसक खड्काले समान १/१ विकेट लिए।

२४४ रनको रनको लक्ष्य पछ्याएको प्रदेश १ ४२.४ ओभरमा सबै विकेट गुमाउँदै १०८ रनमा सीमित भयो।

सुरुबाटै ब्याटिङमा धर्माराएको प्रदेश १ का लागि मिनस थापाले सर्वाधिक १८ रन बनाउँदा फिर्दोस अन्सारीले १७ तथा दीपेश कणेलले १६ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन्।

प्रदेश १ लाई सस्तैमा समेट्न एपीएफका अभिनास बोहोराले सर्वाधिक ५ विकेट लिए। त्यस्तै बसन्त रेग्मीले २ विकेट लिँदा किशोर महतो र शरद भेषवाकरले समान १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell