PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

खाने तेलमा अचाक्ली मुल्यवृद्धि, नियमनकारी निकाय भने मौन



सरला सुवेदी

खाने तेलमा अचाक्ली मुल्यवृद्धि, नियमनकारी निकाय भने मौन
फोटो : Getty Images

काठमाडौं : तिहारपछि खाद्यतेलको मूल्य अस्वभाविक रुपमा बढेको छ। तोरी, सूर्यमुखी र भटमासको तेलमा क्रमिक भएको मूल्यवृद्धिले उपभोक्ताको भान्सा महंगिएको छ।

किन बढ्यो तेलको मूल्य? उपभोक्ता बिक्रेतालाई भाउमा मनोमानी गरेको दोष दिन्छन्। बिक्रेता उत्पादकबाटै बढैर आएको भन्दै पन्छिन्छन्। नियमनकारी निकाय वाणिज्य उपभोक्ता संरक्षण विभागका अधिकारीहरू कारण खोजी भइरहेको भन्दै पन्छिन्छन्।

बिक्रेताहरूकै भनाइमा कोभिडको असर सुरू भएयता बजारमा तेलको खपत कम भएको छ। पहिले जस्तो होटल-रेष्टुरेन्टहरुमा तेलको खपत भएको छैन। उपभोक्ताले पनि ठूलो परिमाणमा खरिद गरेर स्टक राख्न छाडेका छन्। आपूर्ति सहज छ।

उद्योगहरुका लागि कच्चा पदार्थको आयातमा पनि समस्या छैन। तैपनि तेलको मूल्य हप्तैपिच्छे बढ्ने क्रम रोकिएको छैन।

चाडबाड सकिएलगतै २ महिनामा भटमासको तेलको मूल्य प्रतिलिटर ४० रुपैयाँसम्म बढेको छ भने सनफ्लावर तेल पनि लिटरमा ४० रुपैयाँले। गत कात्तिकमा प्रतिलिटर १८० रुपैयाँ रहेको सनफ्लावर तेल हाल २२० रुपैयाँ पुगेको छ। १७० रुपैयाँ रहेको भट्मासको तेल २०० देखि २२० रुपैयाँ भएको छ।

सरदर समान हुनुपर्ने मूल्य तेलका उत्पादक कम्पनी र ब्रान्डअनुसार पनि फरक फरक छ। गत महिनासम्म प्रतिकार्टुन १८ सयदेखि १९ सय पर्ने तेल २ हजार रुपैयाँभन्दा बढी पर्न थालेको व्यवसायीहरुले नै बताएका छन्। खुद्रा बिक्रेताहरू हरेक पटक होलसेलसँग खरिद गर्दा मूल्य बढ्ने गरेको प्रष्टीकरण दिन्छन्।

बजार नियमन गर्ने सरकारी निकाय वाणिज्य उपभोक्ता संरक्षण विभागका अधिकारीहरूसँग यसबारे रेडीमेड जवाफ छ- अनुसन्धान भइरहेको छ। ठोस निष्कर्षमा पुगेका छैनौं।

विभागले गत महिना थोक, खुद्रा बिक्रेता र तेल उत्पादक संघसँग छलफल गरेको जनाएको थियो। तेल उद्योगीसँग कच्चा पदार्थ आयात गरिएको प्रज्ञापनसहित मृल्यवृद्धि स्वाभाविक की अस्वाभाविक भन्नेमा खोजी गरिरहेको पनि बताइएको थियो।

केही तेल उद्योहरुको कच्चा पदार्थ आयातको प्रज्ञापनपत्र हेर्दा बाहिरबाटै मूल्य बढेर आएको देखिएको वाणिज्य विभागका निर्देशक शिवराम सेढाइले बताए। 'उद्योगीको कच्चा पदार्थ आयातमै मूल्य बढेर आएको तर्क सही रहेछ। उनीहरूको खरिद र लागत हेर्दा बढी मूल्य लिएको भन्न मिलेन,' उनले भने। थप केही उद्योगका उत्पादनका बारेमा अनुसन्धान भइरहेको उनले बताए।

गत महिनायता क्रमिक भइरहेको मूल्यवृद्धिबारे पनि विभाग अनुसन्धानमै रहेको उनले बताए। विभागको दैनिक बजार अनुगमन टोलीलाई किराना व्यवसायीहरुले मूल्य बढेर आएको जबाफ दिन्छन्। थोक बिक्रेताको बिलमा पाइने कैफियत टोलीले खोजी गरिरहेको छैन।
 

साना पसलहरुमा अनुगमन गर्ने विभाग मूल्यवृद्धि गर्ने उद्योगीसम्म पुग्न नसकेको भनाइ बिक्रेताहरूको छ। एक व्यवसायीले भने 'विभागले मूल्य मूल्य किन बढ्यो भनेर प्रज्ञापनपत्र मात्र हेर्दैछ, उद्योगीको स्टक र लागत पनि हिसाब गर्नुपर्छ।'

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै उद्योगीहरुले यसै अनुरुप तेलको मूल्य बढाइरहेका छन्। 'मनोमानी भइरहँदा सरकारी संयन्त्रले उपभोक्ताको हितका नजरले हेर्न सकेको देखिँदैन,' उपभोक्ता संरक्षण मंचका अध्यक्ष प्रेमलाल महर्जनले भने, 'मूल्य बढाएको बढाएकै गर्नुपर्ने कारणलाई जायज मान्न सकिँदैन।' अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्यो भनेर उद्योगीहरुले बहाना पाएको उनले बताए।

'मूल्य बढ्न कच्चा पदार्थको अभाव हुनु, उत्पादनमा समस्या हुनु, बजारमा माग बढेर आपूर्तिमा समस्या भएको भए स्वभाविक मान्नुपर्छ, तर अहिलेको कारण जायज छैन,' उनले भने, 'राजनीतिक अस्थिरताको फाइदा लिन व्यापारीले मनोमानी गरे, सरकारले हेरेन।'

बजारमा तेलको मूल्यमा एकरुपता नभएको नेपाल खुद्रा किराना व्यवसायी संघका अध्यक्ष राजकुमार श्रेष्ठको भनाइ छ। पहिले स्टक रहेको तेल कुनै व्यवसायीले प्रतिलिटर १९० रुपैयाँमा पनि बिक्री गरिरहेको उनले बताए।

'अधिकतम मूल्य प्याकेटमै लेखेर आएपछि व्यापारीले त्यही रेटमा बेच्नैपर्छ। आफूले घाटा खेपेर सस्तोमा बेच्ने कुरै हुँदैन,' उनले भने। गत महिना १७५ रुपैयाँ रहेको भटमासको तेलको प्याकेटमा अहिले २१० रुपैयाँ एमआरपी राखेर बजारमा पठाइएको छ। तोरीको तेलको मूल्य पनि लिटरमा ४० रुपैयाँले बढेको छ। पहिले प्रतिलिटर २२० रुपैयाँ भएको तोरीको तेल हाल २६० रुपैया पुगेको उनले बताए।

'तेलको कार्टुनमा मूल्य नखुलाउने भएकाले एमआरपी कति राखिएको भन्ने व्यवसायीहरुलाई जानकारी हुँदैन,' उनले भने। हाल बजारमा बढी बिक्ने सनफ्लावर अमृत तेल प्रतिलिटर २१० देखि २२० रुपैयाँ छ। सनफ्लो तेल १९० देखि २१० र धारा हेल्थ प्रतिलिटर २५० रुपैयाँ छ। तेलको मूल्य घट्ने अवस्था नरहेको व्यवसायीको भनाइ छ।

एक महिनामा प्रतिलिटर ३५ देखि ४० रुपैयाँसम्म मूल्य बढेको छ। नेपालमा भटमास र तोरी तेस्रो मुलुकबाट आयात हुने गरेको छ। उद्योगीले तेल भारतमा निर्यात गर्दा गत महिनादेखि भटमासको तेल महंगिएको छ। भटमासको तेलको कारोबारको तथ्यांकले निर्यातभन्दा आयात बढी देखाउँछ। १४ अर्बभन्दा बढीको तेल आयात हुँदा स्थानीय बजारमा खपत सवा एक अर्बको देखिएको छ। जसमा उद्योगीले मूल्य बढाउनुपर्ने कुनै कारण नभएको थोक व्यवसायीहरुको दाबी छ।

गत जेठमा प्रतिलिटर १६० रुपैयाँ सनफ्लावर, अमृत १६५, सनफ्लो १८० र धारा तेल प्रतिलिटर २०० रुपैयाँमा बिक्री भइरहेको थियो। कोभिडको समयमा खपत वृद्धि नभएकाले थोरै थोरै मूल्य बढेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell