कास्की : पोखरा-बाग्लङ राजमार्गमा शनिवार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
दुर्घटनामा पोखरा महानगरपालिका-१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए।
प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए।
पोखरा-२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा २ च ७४१० नम्बरको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइएको छ।
दुर्घटनामा एक जनाको मृत्यु
सुनसरीको इटहरी उपमहानगरपालिका-१ आँपगाछीमा शनिवार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धरान-१० का ३० वर्षीय विक्रम चेमजोङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
इटहरीबाट धरानतर्फ जाँदै गरेको को ३२ प ६७१६ नम्बरको मोटरसाइकल र धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार चेमजोङको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए। मोटरसाइकलमै सवार धरान-१० का साइल तुलाधर घाइते भएका छन्।