काठमाडौं : प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न खेलमा पुलिसलाई हराउँदै वाग्मतीले सुखद सुरुवात गरेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न खेलमा वाग्मतीले ७ विकेटको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको विभागीय टोली नेपाल पुलिस २९.३ ओभरमा १११ रन बनाएर अलआउट भएको थियो। पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान सर्वाधिक २१ रन बनाउँदा सुनिल धमला र कुशल भुर्तेलले समान १७ /१७ रन बनाएका थियो। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न नसक्दा नेपाल पुलिस १११ रनमा समेटिएको थियो।
बलिङतर्फ वाग्मतीका नन्दन यादव र तिलक भण्डारीले समान ४/४ विकेट लिँदा रामनरेश गिरीले २ विकेट लिए।
सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको वाग्मतीले निर्धारित लक्ष्य ३४.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
वाग्मतीका लागि पृथु बास्कोटाले सर्वाधिक अभिजित ४८ रन बनाउँदा इशान पाण्ड १७ रनमा अभिजित रहे।
त्यस्तै, पारस खड्काले १७ रन तथा आदिल खानले १२ रन जोडे।
बलिङमा दीपेन्द्र सिंह ऐरी र ललीत राजबंशीले समान १/१ विकेट लिए।
प्रतियोगितामा तीन विभागीय र सातवटा प्रदेशको टिमसहित जम्मा १० टिमलाई २ भागमा विभाजन गरिएको छ। समूह 'ए' त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन्। समूह 'बी' मा नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन्।
