PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

काठमाडौं महानगरपालिकामा आंशिक रुपमा खुले विद्यालय, पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने



पहिलोपोस्ट

काठमाडौं महानगरपालिकामा आंशिक रुपमा खुले विद्यालय, पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने
फाइल फोटो।

काठमाडौं : कोभिड-१९ का कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आइतवारदेखि खुलेका छन्।

कोभिड-१९ संक्रमणको कारण गत चैत्र ११ गतेदेखि लकडाउन भएपछि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा आइतवारदेखि भौतिक रुपमै उपस्थित भई विद्यालय सञ्चालन भएका छन्। काठमाडौं महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयले विद्यार्थीहरुको उपस्थितिमा भौतिक रुपमा विद्यालय खोल्न सकिने बताएपछि आइतवारदेखि महानगरपालिका भित्रका केही विद्यालय खुलेका हुन्।

कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेर विद्यार्थीहरुको चाप घटाएका छन्। विजय स्मारक माध्यमिक विद्यालयका प्रध्यानाध्यापक डिल्लीप्रसाद शर्माले आइतवारदेखि आफ्नो विद्यालय भौतिक रुपमा पठन पाठन गर्नेगरी खुलेको जानकारी दिए। नर्सरीदेखि कक्षा ५ सम्म एक सिफ्ट र ५ कक्षादेखि १० कक्षासम्म अर्को सिफ्ट गरी विद्यालय सञ्चालन गरिने प्रधानाध्यापक शर्माले बताए।

काठमाडौंका केही विद्यालयहरु आइतवारदेखि खुलेपनि सम्पूर्ण विद्यालय खुल्न भने अझै केही दिन लाग्ने भएको छ। कतिपय विद्यालयले भने पूर्वतयारी गरिरहेको र काठमाडौं महानगरपालिकाको औपचारिक पत्र प्राप्त नगरेको भन्दै विद्यालय खोलिसकेका छैनन्। केही दिनपछि पठनपाठन सञ्चालन गर्ने उनीहरुको तयारी रहेको छ। रत्नराज्य माध्यमिक विद्यालयका प्रधानाध्यापक रामाशिस यादव शिक्षक र विद्यार्थी विद्यालय आउन उत्सुक भएपनि पूर्वतयारी गर्न समय लाग्ने भएकाले केही दिनमा विद्यालय खोल्ने बताउँछन्।

कतिपय विद्यालयले अनलाइन प्रणालीमार्फत कक्षा सञ्चालन गरिरहेका थिए। भौतिक रुपमा विद्यालय सञ्चालन गरिएसँगै विद्यार्थीहरु मास्कको प्रयोगसहित विद्यालय जान थालेका छन्। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell