12.jpg)
काठमाडौं : फेसबुक स्क्रोल गर्दै जाँदा राजीव साह (परिवर्तित नाम) को आँखा 'स्काइ मोबाइल' नाम गरेको फेसबुक आइडीमा टक्क अडियो।
बजारभाउ भन्दा सस्तोमा आइफोन ११ सस्तो मूल्य - ७४ हजार रुपैयाँमात्र। ३० प्रतिशत छुटको अफर थियो। बजारमा यही यही फोन किन्ने हो भने १ लाखभन्दा धेरै पर्थ्यो।
फेसबुकमा राखिएको विज्ञापन हेरेर उनले आइफोन र अर्को एउटा १८ हजार रुपैयाँ पर्ने इलेकट्रोनिक डिभाइस पनि मगाए। फेसबुक पेजमा नै सम्पर्कका लागि नम्बर राखिएको थियो। त्यही नम्बरमा कल गर्दा विदेशीले उठाए। र, छिनोफानो भयो किन्ने। सामान बाहिरबाट आउँदै थियो।
इसेवाको एउटा आइडी दिइएको थियो, पैसा तिर्न। सुरुमा राजीवले किन्न लागेको सामानको विवरण सहित फारम भरे। अनि डिसेम्बर २५ मा पेस्की स्वरूप ५ हजार रुपैयाँ पठाए, इसेवाबाटै।
रकम भुक्तानी भएसँगै उनले मगाएको सामानको पार्सल गरेको जानकारी आयो- पार्सल आइडी सहित। आफ्नो सामान कहाँ आइपुगेको उनले हेरिरहेका थिए। अमेरिका हुँदै स्पेनबाट ग्रिससम्म सामान आएको रेकर्ड हेरिरहेका उनी प्रतीक्षामा थिए। ग्रिसमा आइपुगेपछि इन्सुरेन्सको लागि भन्दै सामान रोकियो। त्यसपछि उनीसँग माथियो ४० हजार रुपैयाँ। आफ्नो सामान कहाँ बारेमा जानकारी लिँदै पीडित युवा
सामान आइरहेको देखेका उनले फेरि पैसा इसेवाबाट नै पठाए। रोकिएको सामान फेरि लेबनान, इराक हुँदै पाकिस्तान आइपुग्यो। सामान आइपुग्न लागेपछि फेरि राजीवसँग २५ हजार रुपैयाँ मागियो। भएको केही पैसा उनले दिए। तर, फेरि सामान भारत आएर अड्कियो।
मगाएका वस्तु आफ्नो घरमा नै आउने बताइएको थियो उनलाई। तर, सामानभन्दा पहिले उनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट फोन आयो। प्रहरीको फोनले उनलाई विचलित बनायो। उनले सामान अर्डर गरेको अनलाइन त फेक रहेछ। जसविरुद्ध परिसरको टोलीले अप्रेसन गरिरहेको थियो। त्यही अप्रेसनको क्रममा प्रहरी पीडितसम्म पुगेको थियो।
'मलाई त सामान आउँछ भन्ने विश्वास थियो। उनीहरूले दिएको आइडीबाट सामान कहाँ आएको भन्ने समेत जानकारी दिइएको थियो। तर अहिले भने ठगिएको भन्ने लागेको छ,' राजीवले सुनाए।
मेडिकल सप्लाएरका रूपमा काम गर्दै आएका २० वर्षीय राजीव ब्याचलर अध्यायरत युवा हुन्। राजीवमात्र होइन अनलाइनमा सामान खरिद गर्ने क्रममा अहिलेसम्म उनी जस्तै ८ जना यसैगरी ठगिएका छन्। ठगिनेमा महिलाहरु पनि छन्।
लामो समयको अप्रेसनपछि प्रहरीले नेपालबाट अनलाइनमा ठगी गर्ने समूहका दुई जनालाई पक्राउ गर्न सफल पनि भएको छ। 'कोभिडको समयमा धेरैले सामान किन्न अनलाइनलाई माध्यम बनाएको देखिन्छ। यही मौका छोपेर केही ठगी गर्ने गिरोह सक्रिय भएको जानकारी पाएपछि हामीले अनुसन्धान सुरु गरेका थियौँ,' महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले भनिन्।
मनी ट्रान्सफरबाट पनि उस्तै धन्दा
प्रहरीले सामाजिक सञ्जालबाट ठगी गरेको आरोपमा पर्सा पकाहामैनपुर गाउँपालिका ४ का २८ वर्षीय अजय भन्ने प्रमोद साह र पर्सा बहुदरमाई नगरपालिका ८ घर भएका ३९ वर्षीय मेवालला साह तेलीलाई नियन्त्रणमा लिएको छ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा प्रमोद नेपालमा बसेर विदेशीहरूलाई अनलाइनबाट विभिन्न इसेवामा हालेको रकम झिकेर अर्को खातामा हाल्ने, अरूको नाममा इसेवा आइडी खोल्ने जस्ता क्रियाकलापमा सक्रिय रहेको एसएसपी बज्राचार्यले जानकारी दिइन्।
पक्राउ परेका साह पेसाले मनी ट्रान्सफरका हुन्। त्यसो त बेलाबेलामा उनी विदेश मानिस पठाउने एजेन्टका रूपमा पनि काम गर्दै आएको अनुसन्धानमा देखिएको छ। मनी ट्रान्सफरमा रकम झिक्न आएका मानिसको नागरिकताको फोटो कपी राख्ने र त्यही मार्फत् इसेवा आइडी खोल्ने गरेको खुलेको छ।
'उसले सुरुमा नै पैसा झिक्न आउने मानिसको नागरिकताको दुई वटा फोटोकपी गर्ने र एउटा आफूसित राखेर फोटो मिलाएर आइडी खोल्ने गरेको देखिन्छ,' एसएसपी बज्राचार्यले भनिन्। पत्रकार सम्मेलनमा जानकारी दिँदै एसएसपी बज्राचार्य
त्यस्तै, सोही नागरिकता भएको मानिसको फोन नम्बर र नागरिकताको फोटोकपी समेत प्रयोग गरेर मोबाइलको सिम कार्ड लिने गरेको प्रहरीले जानकारी दिएको छ। यसरी लिएको नम्बर इसेवामा हालेर त्यहीबाट नेपाली ग्राहकले सामान खरिद गर्न हालेको पैसा अर्को सेवा आइडीमा पठाउने गरेको देखिएको छ।
'उनले सहजै थाहा नहोस् भनेर धेरै आइडीबाट रकम ट्रान्सफर गरेर बैङ्क खाताबाट झिक्ने गरेको देखियो। बैङ्क एकाउन्ट पनि साथीको कार्ड मागेर झिक्ने गरेको देखियो,' एसएसपी बज्राचार्यले भनिन्।
अहिलेसम्मको अनुसन्धानमा साहले ३० लाख रुपैयाँ भन्दा बढी ट्रान्सफर गरेको खुलेको छ। तर, उनले यसरी जम्मा गरेको रकम विदेशमा रहेका अन्य गिरोहका सदस्यलाई कसरी पठाउँथे भन्ने खुलेको छैन। यो रकम हुन्डी वा अन्य तरिकाले पठाएको हुन सक्ने एसएसपी बज्राचार्यले बताइन्।
'विदेश पैसा नजाने भए विदेशीहरूले यसरी किन काम गर्थे? रकम कुनै न कुनै तरिकाले विदेश पुग्ने गरेको छ भन्ने हो। अनुसन्धान नै जारी छ,' बज्राचार्यले भनिन्।
यी सबै ठगीमा विदेशीहरु नै मुख्य योजनाकार भएको खुलेको छ। घटनाको थप अनुसन्धानको लागि नेपाल प्रहरीको केन्द्रीय अनसन्धान व्यूरो, इन्टरपोल शाखासँग पनि समन्वय गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।