PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बलियो पुलिसको चलेन ब्याटिङ, वाग्मतीका कप्तान मल्ल भन्छन्, 'बलिङ अझै अनुशासित बनाउन सकिन्थ्यो'

बलियो पुलिसको चलेन ब्याटिङ, वाग्मतीका कप्तान मल्ल भन्छन्, 'बलिङ अझै अनुशासित बनाउन सकिन्थ्यो'

मुकुन्द घिमिरे/पहिलोपोस्ट


प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लब वाग्मती प्रदेशसँग पराजित भयो। प्रतियोगिताको साविक विजेता समेत रहेको विभागीय टोली पुलिस प्रदेशको टिमसँग पराजित भएको थियो।

खेलमा हारजित सामान्य रुपमा हुने भए पनि नेपाल पुलिस क्लबलाई बलियो टोलीको रुपमा लिइन्छ। जसको एउटा मुख्य कारण हो राष्ट्रिय टोलीका खेलाडीहरुको बलियो उपस्थिति। अधिकांश ब्याट्सम्यान र अलराउण्डरले भरिएको पुलिसको आजको टिमले ब्याटिङमा नै फितलो प्रदर्शन गर्‍यो।

टस हारेर ब्याटिङमा उत्रिएको विभागीय टोली नेपाल पुलिस २९.३ ओभरमा १११ रन बनाएर अलआउट भएको थियो। पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान सर्वाधिक २१ रन बनाउँदा सुनिल धमला र कुशल भुर्तेलले समान १७ /१७ रन बनाएका थियो। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न नसक्दा नेपाल पुलिस १११ रनमा समेटिएको थियो। नेपाल पुलिसको बलियो टोली ब्याटिङ बेलैमा धर्माराएको थियो। उता बलिङमा राम्रो गर्ने प्रयास गरे पनि वाग्मतीले ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। अर्थात डिफेन्डिङ च्याम्पियन टोली प्रतियोगिताको पहिलो खेलमै फराकिलो अन्तरले पराजित भयो।

ब्याटिङमा समस्या देखियो, खेलाडीले आफ्नो गल्ती बुझेका छन्: कप्तान श्रेष्ठ

नेपाल पुलिस टिमका कप्तान मन्जीत श्रेष्ठ आफ्नो टोलीको हारको मुख्य कारण ब्याटिङलाई देखाउँछन्।

'समस्या भनेको हाम्रो ब्याटिङ नै चलेन। योजना अनुसारको खेल पस्कन सकेनौं,' उनी भन्छन्, 'टिममा नेपालका उत्कृष्ट ब्याट्सम्यान छन्। सबै योग्य छन्। तर एफोर्ड देखिएन। जस्तो देखिनु पर्ने त्यो देखिएन।'

यो खेलबाट सिक्दै अर्को खेलमा रणनीति फेरेर मैदान उत्रनु पर्ने श्रेष्ठ बताउँछन्। उनी बलिङमा भने समस्या नभएकाले पेस बलर धेरै नखेलाएको बताउँछन्।

'हाम्रो प्राय सबैजसो अलराउण्डर नै छन्। सबैले राम्रै बलिङ गर्छन्। हामीले एकजना फास्ट बलर खेलाएका थियौ,' उनी भन्छन्, 'स्पीनरले केही गर्ला कि भन्ने थियो त्यसैले पेस बलरलाई प्रयोग गरिएन।'

खेलको एउटा फेजमा पुग्दा खेल आफ्नो पक्षमा पर्लाकी भनेर पनि श्रेष्ठले महसुस गरेका रहेछन्।

'जुन प्रकारले हाम्रो बलरहरुले सुरुमा बलिङ गरेका थिए, खेलमा फर्कन सकिन्छ कि भन्ने पनि लागेको थियो। ३३ मा उनीहरुको ३ विकेट गएको थियो,' उनी भन्छन्, 'हाम्रो ब्याट्सम्यानहरु आउट हुन सक्छ भने अपोनेन्टको ब्याट्सम्यानलाई पनि त आउट गराउन सकिएला नि भन्ने लागेको थियो। यो पछि एक गएर ज्ञानेन्द्रको विकेट जाने हो भने हामी खेलमा फर्कन्छौं भन्ने थियो।'

कप्तान श्रेष्ठ ब्याटसम्यानहरु राम्रा भएर पनि रन जोड्न नसकेकोमा दु:खी सुनिए।

'हाम्रो ब्याट्सम्यानलाई कहिले कतिखेर गएर कस्तो पारी खेल्ने भन्ने थाहा छ। त्यो समयमा क्लिक भएन त्यो आफ्नो ठाउँमा छ,' कप्तान श्रेष्ठले भने, 'क्लिक भएको भए यही कुरा अर्को हुन्थ्यो। क्रिकेट हो जतिबेला जे पनि हुन सक्छ।'

खेलाडीहरुले आफ्नो गल्ती कुन सिनारियोमा भयो भनेर महसुस गरिसकेकाले आगामी खेलमा सुधार गरेर आउने भनेर दाबी गर्छन्।

'उनीहरुले आफूले कहाँ गल्ती गरेँ भन्ने पढिसकेका छन्। मैले यो सिनारियोमा यो गर्दा यहाँ गल्ती गरेँ भनेर उनीहरुले आँफै बुझिसकेका छन्,' उनी भन्छन्, 'हामीले भन्नु भन्दा पश्चाताप ठूलो कुरा हो। अर्को पटक सक्दो बलियो भएर मैदान उत्रने छौं।'

बलियो बलिङ र हौसला

पुलिसको ब्याटिङ धराशायी बनाउन महत्वपूर्ण योगदान रह्यो नन्दन यादव र तिलक बुढाथोकीको। दुवै बलरले पुलिसको ४/४ विकेट लिएका थिए। यादवले ९ ओभरमा ३१ रन दिँदै ४ विकेट झारेका थिए भने बुढाथोकीले ७.३ ओभरमै मात्र १७ रन दिएर ४ विकेट लिएका थिए।

प्रधानमन्त्री कपमा आफ्नो पहिलो विकेट लिन पाउँदा उत्साहीत भएको उनले अनुभव साटे।

'सुरुमा अलि नर्भस थिएँ। पछि ज्ञानेन्द्र दाईले हौसला दिनु भयो। सुरुको ओभर चाहीँ ठीकठीकै मात्र भएको थियो,' उनले भने, 'दोस्रो ओभरबाट चाहीँ खेल सन्तुलित हुन थाल्यो। त्यसपछि लयमै चलिरह्यो बलिङ।'

स्पीनरका लागि बलिङ गर्न मैदान सहज भएको उनले अनुभव सुनाए। त्यस्तै सुरुमा बलिङमा आउनु अघि दवाब महसुस गरेको र बलिङ गर्न थालेपछि कन्फिडेन्स आएको उनले सुनाए, 'सुरु सुरुमा प्रेसर त हुन्छ तर गेममा इन्जोए गर्नुपर्छ भन्नु भएको थियो। मैले नि इन्जोए गरें।'

राष्ट्रिय टिमको कप्तानसँग खेल्दा नराम्रो बल जाँदा पनि अर्को पटकमा राम्रो हुन्छ भनेर अनुभवी खेलाडीहरुले ढाडस दिने गरेको उनले सुनाए।

विकेट नदिएर विस्तारै चेज गर्ने नीति लिएका थियौ: कप्तान मल्ल

अर्कोतर्फ वाग्मती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्ल आफूहरु छिटो खेल सक्ने भन्दा पनि विकेट नदिएर विस्तारै लक्ष्य पछ्याउने नीतिमा खेलेको बताउँछन्।

'विकेट दिएनौ भने चेज गर्न सक्छौ भन्ने थियो। विभागीय टोलीसँग रनरेट भन्दा पनि चेज गर्न सक्यौ भने टिमको रुपमा र व्यक्तिगत रुपमा मनौवैज्ञानिक रुपमा बुस्ट हुन्छ भन्ने लागेको थियो,' कप्तान मल्लले थप स्पष्ट पार्दै भने, 'क्विक फिनिस गर्न खोज्दा कहिलेकाहिँ उल्टो पनि हुन सक्छ। त्यसैले विकेट दिएनौ भने चेज सजिलै गर्छौ भन्ने थियो।'

यद्यपि, बलिङ अझै अनुशासित बनाउन सकिने अवस्था रहेको उनी दाबी गर्छन्। तर पुलिस जस्तो बलियो टोलीलाई सानो स्कोरमा समेट्नुलाई पनि ठूलै उपलब्धिका रुपमा लिएका छन् मल्लले।

'बलिङ अझ अनुशासित आउन सक्थ्यो होला। तर पुलिसको जस्तो बलियो ब्याटिङलाई १११ रनमा समेट्नु भनेको बलरहरुका लागि राम्रो उपलब्धी पनि हो। सुरुमा राम्रो धेरै नभए पनि पछी उनीहरुले पुनरागमन राम्रो गरे,' उनले भने, 'नन्दन र तिलकजस्तो युवा खेलाडीहरुले सोचेजस्तो खेल। त्यस्तै पृथुको लामो समयपछिको खेलमा उसको पारी त्यो अवस्थामा राम्रो थियो।'



ट्रेन्डिङ पोस्ट

Ncell