PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

परवानीपुरका घरबारविहीनहरुले वीरगंजमा गरे प्रदर्शन



राधेश्याम पटेल

परवानीपुरका घरबारविहीनहरुले वीरगंजमा गरे प्रदर्शन

वीरगंज : वीरगंजका मेयर विजयकुमार सरावगी र वडा नम्बर २१ लिपनीविर्ताका वडा अध्यक्ष हबिब मियाँको विरुद्धमा आइतवार वीरगंजमा प्रदर्शन गरिएको छ। वडा नम्बर २१ परवानीपुर श्रीसिया खोला (वीरगंज खाद्य उद्योग अगाडि) बसोबास गर्दै आएका दलित विपन्न परिवारहरुले उक्त विरोध प्रदर्शन गरेका हुन्।

वीरगंज महानगरले रेल-वेको लागि जग्गा खाली गराएपछि करिब १२ जनाको परिवार अहिले घरबारविहीन बनेको छ। एक साताअघि उक्त जग्गा खाली गराएपछि एक दर्जन बासिन्दाहरु खुल्ला अकाशमुनि त्रिपाल टाँगेर कठ्याग्रिँदो चिसो मौसममा जीवन बाँचिरहेका छन्। उनीहरुले आन्दोलन गर्दै आएका पनि छन्।

जग्गा खाली गराएपछि स्थानीयहरुले वडा कार्यालय परवानीपुर अगाडि समेत प्रदर्शन गरेका थिए। आइतवार बिहान वडा कार्यालय र त्यसपछि वीरगंजको घण्टाघर पुगेर प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका थिए।

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई ज्ञापन पत्र बुझाइएको घरबार विहीनहरुको आन्दोलनमा सहयोग गरिहेका जसपाका नेता राधाकृष्ण रौनियारले बताए। प्रदर्शनमा ‘भ्रष्टाचारी मेयर चाहिदैन ’, ‘मेयर विजय सरावगी मुर्दावाद’, ‘वडा अध्यक्ष हबिब मियाँ मुर्दाबाद’लगायत नाराहरु लगाइएको थियो।

ज्ञापन पत्र बुझ्दै पर्साका सीडीओ तामाङले दुई तीन दिनमा पीडित पक्ष, वडा अध्यक्ष र वीरगंज खाद्य उद्योगका सञ्चालकबीच वार्ता गराई घरबारविहीन बनेका एक दर्जन सुकुम्बासीहरुको उचित बासको व्यवस्थापन मिलाइने आश्वासन दिएका छन्। घरबारविहीन बनेकाहरु उद्योगसँग मिलेर वडा अध्यक्षले परवानीपुरका अन्य क्षेत्रमा रेल्बेको जग्गा खाली नगराएको र आफूहरुको घर टहरा भत्काएर अन्याय गरेको आरोप लगाएका छन्।

यता, वीरगंज महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष हबिब मियाँले कृषि बजार निर्माणको लागि महानगरबाट जग्गा खाली गराउन निर्देशन आएकोले जग्गा खाली गराएको बताए। वीरगंजका मेयर विजय सरावगीले विकासको कामको लागि ऐलानी जग्गा खाली गराइएको बताए। उनले संघीय सरकारको कृषि मन्त्रालयबाट एकीकृत ७० करोडको बजेटमा परवानीपुरमा कृषि मण्डी निर्माण गरिने भएकोले सो क्षेत्र खाली गराउने अभियान चलाइएको बताए।

उनले वीरगंज खाद्य उद्योगदेखि स्वस्थ्य चौकी परवानीपुरसम्मको सबै बस्ती खाली गराउने योजना रहेको बताए। बाहिरका व्यक्ति आएर बसोबास गर्दै आएको र लकडाउनमा पक्की घर समेत बनाउन थालेपछि महानगरले जग्गा खाली गर्न जानकारी गराएको थियो। उनले विकासको काममा आउने विरोध तथा बाधालाई समान्य रुपमा लिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell