PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विद्यार्थीलाई सडकमा ओराल्न प्रचण्डले गरे टाउको फुटाउने कुरा, रावलको भाषणमा हैँसे मिलाउँदा झलनाथकोमा देखाएनन् रुचि



प्रकाश भण्डारी

विद्यार्थीलाई सडकमा ओराल्न प्रचण्डले गरे टाउको फुटाउने कुरा, रावलको भाषणमा हैँसे मिलाउँदा झलनाथकोमा देखाएनन् रुचि

काठमाडौँ: पहिलो चरणको आन्दोलन सफल भएको समीक्षा गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकलम दाहाल 'प्रचण्ड' तथा माधवकुमार नेपाल समूह दोस्रो चरणको आन्दोलन आक्रामक बनाउने रणनीतिमा छ। अध्यक्ष प्रचण्ड र नेपाललगायतका नेता आन्दोलनको माहोल बनाउन राजधानी र राजधानी बाहिरका मञ्चहरूको उपयोग गरिरहेका छन्।

माघ ९ गतेको आन्दोलनको तयारीस्वरूप युवा संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले एकैदिन राजधानीमा कार्यक्रम गरे। प्रज्ञा प्रतिष्ठानमा अनेरास्ववियुले कार्यक्रम गर्दा बुद्दनगरमा युवा संघले भेला गर्‍यो। दुवै ठाउँमा प्रमुख अतिथि थिए प्रचण्ड।

विद्यार्थी र युवा संघका नेता कार्यकर्तालाई उचाल्न नेताहरुले आक्रामक भाषण गरे।

टाउको फुटाउनेदेखि आन्दोलन गरेर काठमाडौँलाई अस्तव्यस्त बनाउन उनीहरूको उर्दी छ। माघ ९ गते ओलीको 'मुटु हल्लाउने' गरी विरोध कार्यक्रम गर्ने प्रचण्ड नेपाल समूहको दाबी छ।

प्रचण्ड र रावल आउँदा तात्यो माहोल

विभाजनपछि नेकपाका दुवै समूहको शक्ति प्रदर्शनस्थलमध्ये एक हो प्रज्ञा प्रतिष्ठान। ओली समूहको युवा संघ र काठमाडौँ जिल्ला कमिटीले प्रज्ञा प्रतिष्ठानमै आफू विरोधी नेतालाई आक्रमण गर्न ओलीलाई अघि सारेका थिए। जहाँ ओलीले तल्लो स्तरको भाषामा आफू विरोधी नेताको आलोचना गरेका थिए।

प्रचण्ड नेपाल समूहले पनि काठमाडौँ जिल्ला कमिटी र युवा संघको भेला गरेर ओली गुटका नेताहरूप्रति प्रतिष्ठानबाटै प्रत्याक्रमण गरिसकेको छ। आइतबार पनि ओलीविरुद्ध शक्ति प्रदर्शनकै लागि अनेरास्ववियुले उपत्यका भेलाको आयोजना गर्‍यो। प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य भीम रावल र सुरेन्द्र पाण्डेलगायतका नेता थिए वक्ताका रूपमा थिए।

कार्यक्रममा सबै नेता प्रवेशका बेला माहोल तात्थ्यो नै। तर भीम रावलको उपस्थितिमा भने अरूभन्दा बढी नै देखियो। उनको स्वागतमा सहभागी विद्यार्थीले माहोल तताए। कार्यक्रममा प्रचण्ड प्रवेश गर्दा पनि प्रचण्ड जिन्दाबाद भन्दै उनलाई हौस्याउन भ्याए विद्यार्थी नेता र कार्यकर्ताले।

अरू नेताको भन्दा रावलको बसाइ पनि फरक देखियो। ल्यापटप, इयरफोन र मोबाइल उनीसँगै थिए। बेला-बेलामा उनी मोबाइल हेरिरहन्थे भने इयरफोन जोडेर सुन्थे पनि।

१२ बजेका लागि तोकिएको कार्यक्रम आधा घण्टा ढिला हुँदा पनि सुरु नभएपछि रावल भने हतारिए।

तोकिएको समयमा सुरु नहुँदा रावलले आयोजकलाई बोलाएर घडी देखाउँदै कानेखुसी गरे। त्यसैको केहीबेरमा कार्यक्रम सुरु भयो। जतिबेला प्रचण्डको उपस्थिति भइसकेको थिएन। उनी कार्यक्रम सुरु भएको आधा घण्टा ढिलो २ बजे मात्रै आइपुगे। कार्यक्रम सुरु भइसक्दा समेत प्रचण्डले बुद्धनगरमा युवा संघको भेलालाई सम्बोधन गरिरहेका थिए। उनले ओलीमाथि मेजर अप्रेसन हुने अभिव्यक्ति दिए बुद्धनगरमा। त्यहाँबाट उनी सोझै प्रज्ञा प्रतिष्ठान हान्निए।

मञ्चमा उपस्थित शीर्ष नेतामध्ये सुरुमा बोले सुरेन्द्र पाण्डे। पाण्डेले ‌ओलीले बयलगाडाको सन्दर्भ कसरी निकालेका थिए भन्नेबारे बोल्ने भ्याए।

बयलगाडा प्रसंग सम्झदै भने, 'म काठमाडौँको आन्दोलनको संयोजन गरिरहेको थिएँ। ओलीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गरेका थियौँ। ओलीले कानमा भने तपाईँको कुरा बुझेको छु। तर तपाईँले चाहेको कुरा भन्न सक्दिनँ भन्नु भो। भाषणका बेला बयलगाडामा चढेर अमेरिका पुगिँदैन भन्दै गणतन्त्र नआउने कुरा गर्नुभयो।'

प्रचण्डकै छेउमा बसेका पाण्डे मञ्चमा भाषण गर्न जानुअघि बेला बेलामा प्रचण्डसँग कानेखुसी गरिरहेका हुन्थे।

विधिका डल्लाले धोयौँ तर प्रधानमन्त्री हुँदा गन्हाए

उनीपछि बोल्ने पालो पाएका भीम रावल सुरुमै आक्रामक देखिए। उनी रोष्ट्रममा चढ्दा विद्यार्थीले उनलाई फुर्क्याए। डा. भीम रावल जिन्दाबाद भन्दै। नेता कार्यकर्ता माझ आफ्नो लोकप्रियता देखेर दंग देखिन्थे रावल। ओलीविरुद्ध कविता सुनाएर सुरु गरे रावलले मन्तव्य। ओलीले प्रतिगमन गरेको, संविधानमा खड्ग प्रहार गरेको, पार्टी एकता गर्दा गरेको वाचा बिर्सिएको लगायतका प्रसंग थियो उनको कवितामा।

ओलीले प्रचण्डलाई स्याम्पूले धुँदा-धुँदा ड्रमका ड्रम स्याम्पू सकिएको भए पनि उनी नसुध्रिएको बताएका थिए केही समय अघि अनेरास्ववियुको भेलामा। उनैलाई जवाफ फर्काए, रावलले।

ओलीलाई पनि आफूहरूले एमालेमा हुँदा विधिका डल्लाका डल्लाले धोएको भए पनि उनी प्रधानमन्त्री हुँदा गन्हाएको बताए रावलले।

'विधिका डल्लाका डल्लाले धौयौँ तर प्रधानमन्त्री भएपछि गन्हाउनुभयो डल्ला काम लागेन,' उनले भने

उनले आफू कानुनको विद्यार्थी भएकाले ओलीलाई प्रश्न सोधिरहेको बताए। 'तपाईँ कुन धारा अन्तर्गतको प्रधानमन्त्री हो मलाई जवाफ दिनुस्?,' उनको प्रश्न थियो।

महोल जति तात्दै जान्थ्यो उति नै उनी आक्रामक हुन्थे।

उनले नेकपाको विवाद समाधानका लागि भएको भदौ २६ को सहमतिबारे ओलीलाई सोध्न भ्याए।

'तपाईँको हस्ताक्षर तपाईँकै हो कि खड्ग चलाउने खड्गप्रसाद ओलीको,' उनको प्रश्न थियो।

रावलको भाषणलाई मञ्चमा बसेका प्रचण्डले भने निकै रुचिकर मानेर सुनिरहेका थिए। उनी टाउको हल्लाउँदै रावललाई हैँसे थपिरहेका थिए। बेला-बेलामा रावलतिर फर्किएर हेर्थे।

रावलको भाषणमा रुचि, खनालले भाषण गर्दा हाई

रावलपछि बोल्ने पालो थियो वरिष्ठ नेता झलनाथ खनालको। उनले सुरुवात कम्युनिस्ट आन्दोलनबाट गरे। ओलीको विगत र वर्तमानका गतिविधिलाई लिएर उनले आलोचना गरे। रावलको भाषणलाई रुचिपूर्वक सुनिरहेका प्रचण्डले खनालको भाषणमा भने खासै रुचि देखाएनन्। उनले आफूसँगै बसेका सुरेन्द्र पाण्डेसँग अधिकांश समय गफ गरे। उनले हाई गर्दै खनालको भाषणका बेला अल्छी व्यक्त गरे।

ओलीले सबै ठाउँमा एकलौटी गरेको खनालको आरोप थियो। 'कमिसन प्लानिङमा पार्टीमा सल्लाह नगरी गुट च्यापे। नीति र कार्यक्रम नितान्त पुँजीवादी दक्षिणपन्थी धारको बनाए। बजेट आयो मनपरि तरिकाले बाँडफाँड गरियो। झन् बढी शंका पैदा भयो हुँदा-हुँदा पहिलो र दोस्रो अध्यक्ष भनेपछि झन् शंका भयो,' उनले भने।

उनले अदालत र निर्वाचन आयोगले संविधानकै आधारमा निर्णय गर्ने बताए।

'केपी ओली जस्ता तानाशाहले संविधान मिच्ने अधिकार छैन भन्ने निर्णय गर्नेछ। हामीलाई सर्वोच्चको विश्वास छ,' उनले भने।

ओली र उनको समूहलाई रुखको बोक्रासँग तुलना गर्दै खनालले कटाक्ष गर्न भ्याए।

'रुखले बोक्रा फेर्नु भनेको रुख ढल्नु होइन। बालुवाटारको बैठक मण्डले प्रवृत्तिको बैठक हो। निन्द्राबाट बिउँझिनुस,' उनले भने।

उनले ९ गतेको आन्दोलनलाई व्यापक बनाउन आग्रह गरे। उपत्यकालाई अस्तव्यस्त पार्न कार्यकर्तालाई अपिल पनि गरे।

प्रचण्डको भाषाणअघि सानु माया

नेकपाका दुवै समूहका लामा-लामा कार्यक्रम सहभागीका लागि निकै पट्यारलाग्दा हुन्छन्। एक-अर्काविरुद्धको आरोप प्रत्यारोपले सहभागीलाई दिग्दार बनाइरहेको हुन्छ। धेरैजसो कार्यक्रममा सांगीतिक प्रस्तुति राखिएको हुँदैन। तर, आइतबारको कार्यक्रममा भने देखियो। सुरुमै राष्ट्रिय गानमा कलाकार नाचे भने प्रचण्डको भाषणअघि पनि सबैलाई हलभित्र बोलाउन आयोजकले आइडिया लगाए।

गायक रूपक डोटेल देखिए मञ्चमा। उनको सानु माया...गीतले ताली पायो। माहोल तातिएपछि प्रचण्ड भाषणका लागि मञ्चमा पुगे।

सुरुबाटै प्रचण्ड आक्रामक बने। उनी अन्तिम वक्ता पनि थिए। धेरै समय पनि लिन चाहन्न भन्दै उनले तत्कालीन परिस्थितिलाई आफ्नो नजरबाट नियाल्न भ्याए। ओलीविरुद्ध भ्याएसम्मको आक्रमक शैली अपनाए।

उनले आफूले ओलीमाथि जाइलाग्न चाहेको बताए। आन्दोलन अब सामान्य खालको नहुने उनको भनाई छ।

उनले ओली अनौठो मानिस भएको चर्चा गरे। मलामी जाँदा हाँस्ने र जन्ती जाँदा रुने विशेषता ओलीमा भएको प्रचण्डको भनाई छ।

'मलामी जाने बेला हाँस्दै हिँड्नु भा'छ। जन्ती जाने बेला रुँदै हिँड्नु हुन्थ्यो,' उनले भने।

उनले आफू किन आक्रोशित भएको भन्नेबारे पनि प्रस्टीकरण दिन भ्याए। 'देश रोएको बेला तपाईँ हाँसेको देखेर आक्रोश आएको हो,' उनको भनाई थियो।

पूर्व माओवादीका नेताहरूले आफूलाई छाडेर ओलीलाई साथ दिएकोमा जोगीको संज्ञा दिएका छन्। 'नयाँ जोगीले हो धेरै खरानी घस्ने। जसको कोही थिएन एक्लै थिए ल्याएर स्थायी कमिटी सदस्य बनाएँ। अहिले त म तिनलाई चिन्दा पनि चिन्दिनँ,' प्रचण्डले भने।

ओलीलाई आफूले प्रधानमन्त्री बनाउने वाचा गरेपछि मात्र संविधान निर्माण र पार्टी एकीकरण सम्भव भएको प्रचण्डको दाबी छ।

'म प्रधानमन्त्री सजिलै त्याग्ने मान्छे। मैले प्रधानमन्त्री तपाईँ नै हो भनेपछि पार्टी एकीकरण र संविधान बन्यो,' प्रचण्डले भने।

'टाउको फुटाउने मन छ'

नेकपाभित्रको आन्तरिक किचलोका बेला पनि ओलीसँग नरम देखिएका प्रचण्ड भदौ २६ को सहमति पालना नभएपछि भने उनिविरुद्ध आक्रामक देखिन थालेका हुन्। प्रतिनिधिसभा विघटनपछि भने ओलीप्रति प्रचण्ड झनै आक्रामक छन्। प्रज्ञा प्रतिष्ठानमा पनि उनले आक्रामक शैली दोहोर्‍याए।

उनले आन्दोलनलाई शाकाहारी नबनाउने आवेगको बनाउन अपिल गरेका छन्। उनले आफूलाई आन्दोलन गरेर टाउको फुटाउन मन लागेको बताए।

'आवेगको आन्दोलन हुनुपर्‍यो। गिरिजा बाबु माधव जस्तै किन हो किन टाउको चिलाएको हो कि किन हो लाठी खान मन छ। शाकाहारी आन्दोलनले पुग्दैन तपाईँहरुको टाउको रक्षाका लागि मेरो टाउको फुटाउन तयार छु,' उनले भने।

माहोल अनुसारको भाषण गर्न सिपालु प्रचण्डले ओलीविरुद्ध सिङ्गो देश लागिसकेकाले अब आन्दोलनलाई आफूले क्लिक गर्ने बताए।

आन्दोलनको माहोल बनिसकेकाले अब स्विच दबाउन मात्रै बाँकी रहेको बताए। उनले ओली र उनी समूहका नेताको आन्दोलन गरेर मुटु हल्लाउन पनि नेता कार्यकर्तालाई अपिल गरेका छन्। जोसिलो शैलीमा भाषण सुरु गरेका प्रचण्डले बिट मार्दा पनि आक्रोश कम गरेनन्। उनले अब ९ गतेको आन्दोलन निर्णायक हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell