PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बर्दिया पुगेर वर्षमान पुनले भने, ‘केपी ओली अवैधानिक प्रधानमन्त्री हो’



पहिलोपोस्ट

बर्दिया पुगेर वर्षमान पुनले भने, ‘केपी ओली अवैधानिक प्रधानमन्त्री हो’

बर्दिया : नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले निर्वाचन घोषणापछि कामचलाउ हैसियतमा सीमित भइसकेको ओली सरकारले ‘फुलफेज’ सरकारका रुपमा काम गरिरहेको भन्दै आपत्ति जनाएका छन्।

पुनले आफैँ निर्वाचन घोषणा गर्ने र पूर्ण अधिकार रहेको दावी गर्ने प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरु अलोकतान्त्रिक भएको टिप्पणी गरे। संविधानमै प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने स्पष्ट उल्लेख भएको चर्चा गर्दै उनले ओलीले पूर्ण अधिकार छ भन्नु अनैतिक र गैरसंवैधानिक भएको टिप्पणी बताए।

‘कथित चुनाव घोषणापछि राजीनामा दिएको भए र राष्ट्रपतिले कामचलाउको चिठ्ठी दिएको भए वैधानिकताको सानो त्यान्द्रो भए पनि बाँकी रहन्थ्यो’, पुनले भने, ‘प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुनै मिल्दैन, केपी ओली अवैधानिक प्रधानमन्त्री हो।’

पूर्व मन्त्री पुनले कामचलाउ सरकारले संविधान र कानुनविपरीत दिएका आदेश पालना नगर्न सुरक्षा निकाय र कर्मचारीलाई आग्रह पनि गरे।

‘सुरक्षा निकाय र प्रशासनका कर्मचारीलाई कामचलाउन सरकारले दिएका निर्देशन संविधानसम्मत छ कि छैन? कानुनसम्मत छ कि छैन? जनअभिमतअनुसार छ कि छैन? भन्ने विचार गरेर मात्र पालना गर्न म अनुरोध गर्छु’, नेकपाको प्रचण्ड-माधव नेपाल पक्षका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई आइतवार बर्दियामा सम्बोधन गर्र्दै पुनले भने, ‘एउटा गुटका लागि, एउटा व्यक्तिका लागि भोलि पछुताउनुपर्ने अवस्था नआओस्। म अहिले नै सचेत गराउन चाहन्छु, सुझाव दिन चाहन्छु।’

यस्तै, उनले प्रतिनिधिसभा विघटनपछि गरिएका सबै काम असंवैधानिक हुने भन्दै संसद पुनर्स्थापनापछि ती सबै सच्याइने बताए।

त्यस्तै, आइतवार नै बाँकेमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पुनले प्रधानमन्त्री केपी ओलीले संविधान मिच्नुका साथै जनताको अभिमतमाथि कुठाराघात गरेको आरोप लगाए। असंवैधानिक रुपमा संसद विघटन गर्ने ओलीको कदमले लोकतन्त्रमाथि चुनौती खडा भएको तथा मुलुक प्रतिगमनतिर धकेलिएकाले आफूहरु बाध्य भएर संघर्षमा उत्रिएको पुनको भनाइ थियो।

तत्कालीन एमाले र माओवादी एकता गर्दा गरिएका समाजवाद, राष्ट्रिय पुँजी निर्माण, देश विकास र जनताको जीवनस्तर उकास्ने अभियानबाट केपी ओली भागेको आरोप उनले लगाए।

पार्टीको विशाल पंक्ति प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपामा रहेको भन्दै उनले कार्यकर्ताले असंवैधानिक कदमलाई साथ नदिएपछि पदको आश्वासन बाँड्न थालिएको बताए। ओलीले गल्ती स्वीकार गरेर प्रतिनिधिसभा ब्युँताउने निर्णय गरे फेरि पार्टीमा फर्काउन सकिने उनले स्पष्ट गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell