PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

मन्त्री सोनलले गरे दुधौरा खोला पुलको शिलान्यास, दर्जनौँ गाउँलाई फाइदा पुग्ने विश्वास



राधेश्याम पटेल

मन्त्री सोनलले गरे दुधौरा खोला पुलको शिलान्यास, दर्जनौँ गाउँलाई फाइदा पुग्ने विश्वास

वीरगंज : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बाराको दुधौरा खोला पुलको शिलान्यास गरेका छन्। आइतवार बिहान उनले पुलको शिलान्यास गरेका हुन्।

जीतपुरसिमरा-८ रमौली लोसन्डा र वडा नम्बर २० बसडील्वा जोड्ने दुधौरा खोेलामा उक्त पुल निर्माण शुरु भएको छ। जीतपुर-ईनर्वासिरा सडक अन्तर्गत पर्ने पुलको लम्बाई १ सय मिटर छ। उक्त पुल १२ करोड ७० लाख ७२ हजार रुपैयाँमा निर्माण गर्ने गरि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ।

सपना मेरिना जेभी कन्स्ट्रक्सन हेटौँडाले पुल निर्माण गर्न २०७६ असोज २८ गते सम्झौता गरेकोमा २०७९ वैशाख २ गतेभित्र पुलको निर्माण कार्य सम्पन्न गराउनु पर्ने शर्त राखिएको छ। पुल नहुँदा सो भेगका जनताले सास्ती खेप्दै आएका थिए। वर्षातको बेला खोलामा पानीको बहाव बढी हुँदा आवागमन ठप्प भई ३० किलोमिटर वीरगंज कलैयाको सडकबाट घुमेर आउजाउ गर्नु पर्छ।

पुल बनेपछि जितपुरसिमराका बासिन्दालाई बाराको सदरमुकाम कलैया आउजाउ गर्न पनि सहज हुनेछ भने दर्जनौँ गाउँका बासिन्दालाई यात्रा सहज हुने विश्वास लिइएको छ।

पुलको शिलान्यास गरेपछि मन्त्री सोनलले प्रदेश २ मा विकासको गति अन्य ६ प्रदेश भन्दा तीव्र रहेको बताए। साथै, पुल निर्माणपछि जनता र किसानले उत्पादन गरेको बाली तथा तरकारीलाई बजार सम्म पुर्‍याउन मद्दत मिल्ने बताए।

उक्त पुल निर्माणको क्रममा स्थानीयले निजी जग्गा परेको भन्दै अदालतमा रिट दिए पनि अदालतले पुल निर्माणको क्रममा व्यक्तिको जग्गा नपरेकोले पुलको काम रोक्न नमिल्ने भनी आदेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell