इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि फराकिलो जित निकालेको छ। इतिहाद स्टेडियममा भएको खेलमा सिटीले क्रिस्टल प्यालेसमाथि ४-० गोलअन्तरको फराकिलो जित निकालेको हो।
जोन स्टोनेसको गोलमा खेलको २६ औं मिनेटमा सिटीले अग्रता बनाएको थियो। पहिलो हाफमा सिटी एक गोलले अघि रह्यो। दोस्रो हाफमा इल्के गुण्डोगनले सिटीका लागि अर्को गोल थपे। उनले खेलकव ५६ औं मिनेटमा गोल गर्दा स्टोनेसले ६८ औं मिनेटमा गोल गरे। त्यस्तै ८८ औं मिनेटमा रहिम स्ट्रलिङले गोल गर्दा घरेलु टोली सिटीले प्यालेसमाथि फराकिलो जित निकाल्यो।
जितसँगै १७ खेलबाट ३५ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लिएको छ। गएराति नै भएको अर्को खेलमा शीर्ष स्थानको होडमा रहेका लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दा अंकदुरी घटाउनका लागि सिटीलाई फाइदा पुग्यो। शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको १८ खेलबाट ३७ अंक छ।
