इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टस इन्टर मिलानसँग पराजित भएको छ। सन सिरो स्टेडियममा भएको खेलमा युभेन्टस मिलानसँग २-० गोलअन्तरले पराजित भएको हो।
मिलानको जितमा आर्टुरो भिडाल र निकोलो बरेलाले गोल गरे। खेलको १२ औं मिनेटमै बरेलाको पासमा गोल गर्दै भिडालले इन्टरलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा मिलान एक गोलले अघि रह्यो।
दोस्रो हाफमा बरेलाले गोल थपे। उनले खेलको ५२ औं मिनेटमा गोल गरेका थिए। त्यसपछि दुबैतर्फबाट गोल नहुँदा मिलानले खेल २-० ले आफ्नो पक्षमा पार्यो।
जितसँगै इन्टरमिलानले शीर्ष स्थानको एसी मिलानसँग अंक बराबरी गरेको छ। एसी मिलान १७ खेलबाट ४० अंक जोड्दै शीर्ष स्थानमा छ भने १८ खेलबाट समान ४० अंक जोडेको इन्टर मिलान तालिकाको दोस्रो स्थानमा छ। युभेन्टस भने १७ खेलबाट ३३ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ।
