PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

राणाकालको प्रमुख प्रशासनिक केन्द्र अबको प्रधानमन्त्री कार्यालय : यसरी हुँदैछ प्रबलीकरण

राणाकालको प्रमुख प्रशासनिक केन्द्र अबको प्रधानमन्त्री कार्यालय : यसरी हुँदैछ प्रबलीकरण

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : २०७२ सालको भूकम्पले क्षति पुगेको सिंहदरबार पुनर्निर्माणको चरणमा रहेको छ। रेट्रेफिटिङबाट हाल राणाकालमा बनेको देशको प्रमुख प्रशासनिक केन्द्रको भवन पुनर्निर्माण भइरहेको हो।

भत्काएर आधुनिक शैलीमा बनाउने कि पुरानै शैलीलाई कायम राख्दै पुनर्निर्माण गर्ने भन्ने लामो बहसका कारण भूकम्प गएको धेरै समयसम्म सिंहदरबारको पुनर्निर्माणको कामले गति लिन सकेको थिएन। विशेषगरी पश्चिमी मोहडालाई पुनर्निर्माण गर्न जटिल रहेकोले धेरै समय लिएको हो।

राणा प्रधानमन्त्री चन्द्र शमशेर जबराले निर्माण गर्न लगाएको सिंहदरबारको पश्चिमी मोहडा वि सं २०३० मा लागेको आगोमा पनि बचेको थियो। उत्तर, दक्षिण र पूर्वी मोहडामा जलेर नष्ट भएको थियो। पछि आधुनिक प्रविधि अपनाएर नै ती भवनको पुनर्निर्माण गरिएको थियो। २०७२ सालमा सबै मोहडामा क्षति पुगेको थियो।  

हाल सिंहदरबारको पश्चिम मोहडाको काम बाँकी छ। अन्य मोहडाको प्रबलीकरणको काम सम्पन्न भइसकेको छ। प्रबलीकरण  सकिएको तीनवटा मोहडालाई अन्तिम रुप दिने काम भइरहेको छ।

प्रबलीकरण सकिएको क्षेत्रमा प्रधानमन्त्री कार्यालयका साथै प्रधानमन्त्रीका सल्लाहकार लगायतको कार्यकक्ष रहने बताइएको छ। अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्थान्तरण गरी व्यवस्थापन गर्ने कामसमेत भइरहेको छ। भवन र कार्यकक्षमा रंग लगाउने, कार्पेटिङ, सुरक्षा प्रणाली विकास लगायतका कामहरु भइरहेका छन्। छिट्टै यो भवन उद्घाटन गर्ने तयारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रहेको छ।

प्राधिकरणले सिंहदरबारको सबै मोहडाको प्रबलीकरणका लागि १ अर्ब १० करोडभन्दा बढी लागत लाग्ने अनुमान गरेको छ।

विसं १९६० मा चन्द्र शमशेरले सिंहदरबारको निर्माण गर्न लगाएका थिए। विसं १९५८ मा सत्तामा आएपछि उनले लाल दरबार र सेतो दरबार खरिद गर्न चाहेका थिए। तर त्यो खरिद गर्न नसकेपछि चन्द्र शमशेरले सिंहदरबार निर्माण गर्नका लागि प्रतिरोपनी ९० रुपैयाँको दरले करिब ३५० रोपनी जग्गा खरिद गरेको पुरुषोतम शमशेर जबराले ‘राणाकालिन ऐतिहासिक दरबारहरु’ किताबमा उल्लेख गरेका छन्। नियो क्लासिकल शैलीमा निर्माण भएको सो दरबार निर्माण गर्न त्यसबखत ५० लाखभन्दा बढी नलागेको उनले उल्लेख गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell