PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

उडिसाको बौद्ध संस्कृति चिनाउने 'उडियाना-उडिसाका पद्मसम्भव'  



पहिलोपोस्ट

उडिसाको बौद्ध संस्कृति चिनाउने 'उडियाना-उडिसाका पद्मसम्भव'  

काठमाडौं : बौद्ध धर्म संस्कृतिका महत्वपूर्ण थलो उडिसा र पद्मसम्भव, गुरु रिम्पोचेबारे जानकारी दिने पुस्तक 'उडियानाका उडिसाका पद्मसम्भव' सार्वजनिक भएको छ।

बौद्ध धर्मको विकास र विस्तारमा पद्मसम्भव (गुरु रिम्पोचे) नाम छुट्दैन। उनले तिब्बतमा बौद्ध धर्म बिस्तार गर्नका लागि महत्वपूर्ण योगदान पुर्‍याएका थिए। त्यसै गरी भारतको उडिसा बौद्ध संस्कृतिको ऐतिहासिक केन्द्र मानिन्छ।

डा. विमलेन्दु मोहन्तीद्वारा सम्पादित यो पुस्तकमा ऐतिहासिक खोज, तथ्य र पुरातात्विक अभिलेखहरुसमेतका आधारमा विभिन्न विद्वानहरुले लेखेका लेख समावेश छन्।

नेपाल, भारत, तिब्बत, भुटानको सामाजिक जीवनमा बौद्धधर्मको खास प्रभाव भेटिन्छ।

इशापूर्व २६१ मा भारतका सम्राट अशोकको पालामा बुद्ध धर्मले राजधर्मको मान्यता पायो। त्यसपछि बौद्ध धर्म संसारका विभिन्न भूगोलमा फैलियो। यसक्रममा बौद्ध धर्मका अनेक रुप र पद्दतिको विकास हुँदै आयो। तीमध्ये महायान र बज्रयानको विकास उडिसाबाटै भएको मानिन्छ। आठौं शताब्दीपछिका बौद्ध धर्मका स्रोतहरु उडियाना र त्यहाँका राजा इन्द्रभूतिसँग पनि जोडिन्छ।

कमलको फूलबाट जन्मेको र तन्त्रका ज्ञाता मानिने पद्मसम्भवको तिब्बतसँगको सम्बन्धबारे विशेष प्रकाश पारेको छ। पुस्तक बौद्ध धर्मका फरक चरण, फरक आयाम र यसको बिस्तारमा पद्मसम्भवको भूमिकाबारे जान्न चाहनेका लागि उपयोगी छ।

पद्मसम्भवले नेपाल भ्रमण गरेका तथ्यहरुबारे पनि धेरै चर्चा हुने गरेको छ। मुस्तांगदेखि फर्पिंगसम्म पद्मसम्भवसँग जोडिएका गुम्बा र गुफा भेटिएका छन्। त्यसैले बौद्ध इतिहासको विकासक्रम बुझ्न चाहने नेपाली पाठकका लागि पुस्तक उपयोगी छ।

वी रिडले प्रकाशन गरेको यस पुस्तक १६६ पृष्ठ लामो छ र यसको मूल्य आठ सय रुपैयाँ तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell