काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न खेलमा वागमतीले सदूरपश्चिममाथि १८० रनको सानदार जित निकालेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको वागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९९ रन बनाएको थियो।
बलियो ब्याटिङ गरेको वागमतीका पृथु बास्कोटाले सर्वाधिक ८४ रन बनाउँदा आदिल खानले ६३ रन बनाए। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले समान ३२ रन जोड्दा पारस खड्काले २० रन जोडे।
बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले सर्वाधिक ३ विकेट लिँदा भोजराज भट्ट र सन्तोष भट्टले समान २/२ विकेट लिए। त्यस्तै बिनोद लामा १ विकेट लिए।
ठूलो लक्ष्य लिए ब्याटिङमा उत्रिएको सुदूरपश्चिम सुरुमै धराशायी भएको थियो। २१ ओभर सकिँदा सुदूरपश्चिम ११९ रनमा समेटिएको थियो।
सुरुवाती ब्याट्सम्यान गजेन्द्र बोहोरा, खडक बोहोरा, अरुण ऐरी र सञ्जु दमाइ शुन्य रनमै पभेलियन फर्कँदा अर्जुन साउद र किरण ठगुन्नाले पारीलाई सम्हाल्न चाहेका थिए। साउदले ३१ रन बनाउँदा ठगुन्न २४ रन बनाएर पभेलियन फर्किए। त्यस्तै खस्किँदै गरेको सदूरपश्चिमको प्रदर्शनबाट सम्मानजनक स्कोर सम्म टिमलाई डोहोर्याउन नारायण जोशीले आक्रामक ब्याटिङ गर्दै २९ बलमा अभिजित ४४ रन जोडे।
बलिङतर्फ वागमतीका लागि रामनरेश गिरीले स्वर्वाधिक ४ विकेट लिँदा नन्दन यादवले २ तथा दीपेश श्रेष्ठ, तिलक भण्डारी र बिपिन आचार्यले समान १/१ विकेट लिए।
दुई खेल खेलेको वागमतीको यो दोस्रो जित हो भने सुदूरपश्चिमले प्रतियोगितामा आफ्नो पहिलो खेलमै पराजय ब्यहोरेको हो।
