PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पीएम कपमा फर्ममा देखिएका पृथु बास्कोटा भन्छन्, ‘मेरो फोकस टिकेर खेल्नेमा’



मुकुन्द घिमिरे

पीएम कपमा फर्ममा देखिएका पृथु बास्कोटा भन्छन्, ‘मेरो फोकस टिकेर खेल्नेमा’

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट जारी छ। प्रतियोगितामा वाग्मती प्रदेशले आइतवारको खेलमा सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकाल्यो। यो वाग्मतीको दोस्रो जित हो। पहिलो खेलमा त वाग्मतीले घरेलु क्रिकेटमा बलियो मानिने विभागीय टोली शसस्त्र प्रहरीको एपीएफलाई हराएको थियो। एपीएफ प्रतियोगिताको साविक विजेता समेत हो।

त्यस्तै, दोस्रो खेलमा वाग्मती प्रदेशले पूरै ५० ओभर खेल्दै उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्‍यो भने बलिङ पनि कसिलो देखियो। नेपाली घरेलु क्रिकेटमा ५० ओभर टिकेर खेल्नु नै पनि ब्याटिङका हिसाबले हेर्ने हो भने ठूलो कुरा हो। धेरैजसोको खेलमा ५० ओभरको खेल पुग्दैन। आजै मूलपानीमा भएको खेल नै यसको तात्तातो उदाहरण हो। जसमा ३७.४ ओभरमा प्रदेश १ समेटिएको थियो भने १०३ रनको झिनो लक्ष्य पछ्याएको गण्डकीले जितका लागि ८ ओभर गुमाएर ३७ ओभरसम्म संघर्ष गर्नुपरेको थियो।

खैर, वाग्मतीले आफ्ना दुवै खेलमा बलियो ब्याटिङ प्रस्तुत गर्दै गर्दा दुवै खेलमा उत्कृष्ट ब्याटिङ गर्ने खेलाडी हुन् पृथु बास्कोटा। हुन त उनी कुनै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य रहे पनि चोटका कारण लामो समय उनी बाहिर रहन पुगे। र, उमेर समूहमा नेपाली टोलीको कप्तानीसमेत गरिसकेका उनी पुनरागमनका लागि तयार भएका देखिन्छन् पछिल्ला प्रदर्शनहरुमा।

पछिल्ला दुई खेलमध्ये पुलिसविरुद्धको खेलमा उनी ४८ रनमा अभिजित रहे भने आज भएको सुदूरपश्चिमविरुद्धको खेलमा ८४ रनमा आउट भए। अर्को हिसाबले भन्ने हो भने प्रधानमन्त्री कपको आफ्नो पहिलो खेलमा अर्धशतकबाट चुके र दोस्रो खेलमा शतकबाट।

जारी प्रतियोगितामा आफ्नो ध्यान लामो पारी खेल्नेमा रहेको बताउँछन् बास्कोटा।

‘मेरो फोकस भनेको लङ ब्याट गर्ने नै हो। हिजोको र आजको अवस्था फरक थियो। हिजो चेज गर्नुपर्ने अवस्थामा थियौँ। आज जाँदा पिच खेल्नका लागि त्यस्तो गाह्रो पनि थिएन। त्यति धेरै टर्न थिएन’, उनले आफूले खेलेका दुई खेलहरुको तुलना गर्दै भने, ‘फिल्डहरु पनि अलि इनसाइड नै भएकाले अलि खेल्न सजिलो भएको थियो। ब्याटमा नै आइरहेको थियो बल। खेल्न अलि सजिलो थियो।’

नेपाली राष्ट्रिय टोलीको सदाबहार समस्या ब्याटिङमै देखिन्छ। अतः राष्ट्रिय टोलीमा पुनरागमनका लागि योजना के छ? भन्ने प्रश्नमा उनी खास खुल्न चाहेनन्।

‘कमब्याक भनेर भन्दा पनि वान गेम एट अ टाइम लिइ रहेको छु। आफ्नो तर्फबाट गर्नुपर्ने फिटनेस फिजिकललगायतका कुराहरु गरिरहेको छु’, आफूले धेरै पर भन्दा पनि अगाडि आउने खेलहरुमा ध्यान दिइरहेको दावी गर्दे उनले भने, ‘त्यस्तै कमब्याक भनेर बिग पिक्चर भन्दा पनि अगाडिको खेलमा कसरी राम्रो गर्न सकिन्छ, टिमलाई कसरी जिताउन सकिन्छ त्यसमै केन्द्रित छु अहिले।’

पहिलो खेलमा अर्धशतक र दोस्रो खेलमा शतकबाट चुक्दा उनलाई नमजा लागेको स्वीकार्छन्। यद्यपि खेल सुधार्दै लगेर त्यसलाई पूरा गर्नेमा आशावादी पनि सुनिन्छन्, भन्छन् : चुक्न त चुकेकै हो। राम्रै भइरहेको थियो। तर यस्तै भयो। अब अर्को म्याचमा हेरौँ।

प्रतियोगितामा आफ्नो टिमको लक्ष्य उपाधि रहेको बताउँदै उनले आफूलाई आँफैसँग प्रमाणित गर्न चाहेको बताए।

‘आफ्नो उत्कृष्ट प्रदर्शन दिन खोजिरहेको छु। आफूलाई प्रमाणित गर्न खोजिरहेको छु। फिल्डमा जतिसक्दो अवसर पाउँछु लामो पारी खेल्न खोजिरहेको छु’, वाग्मती टोलीका उपकप्तानसमेत रहेका उनले भने, ‘टिमलाई जिताएर या एउटा राम्रो पोजिसनमा पुर्‍याउने भन्ने माइन्ड सेट छ।’

प्रतियोगितामा उनको सबै भन्दा बढी ध्यान धेरै टिकेर खेल्नेमा रहेछ।

‘प्यासन्सको एकदम आवश्यकता छ। ५० ओभरको खेल हो समय हुन्छ। बीचमा आफ्नो सटहरुलाई प्रहार गर्न कुन अवस्थामा कस्तो खेल्ने भन्ने चाहिँ ध्यान दिएर खेल्नुपर्ने हुन्छ’, आफ्नो टिममा जिम्मेवारीबोध गर्दै बास्कोटाले भने, ‘हाम्रो ब्याटिङ लाइन पनि अलि तलसम्म धेरै लामो पनि छैन। जस्तै एक ओभरमा खराब डेलिभरी पनि आइहाल्छ त्यसलाई छाड्ने हो सिंगल्सहरु लिने हो भने राम्रो हुन्छ भन्ने मानिसिकता बनाएर खेलिरहेको छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell