PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

प्रधानमन्त्री कपको लागि प्रदेश २ को टोली काठमाडौंमा, कुन जिल्लाबाट को-को खेलाडी परे?



राधेश्याम पटेल

प्रधानमन्त्री कपको लागि प्रदेश २ को टोली काठमाडौंमा, कुन जिल्लाबाट को-को खेलाडी परे?

वीरगंज : माघ २ गतेदेखि काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि प्रदेश २ को क्रिकेट टोली सोमवार काठमाडौं गएको छ। बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले गम्छा र फूलमाला लगाई खेलाडीहरुलाई विदाई गरेका हुन्।

मेयर यादवले टिमका प्लेइङ-१४ र ४ जना वैकल्पिक, टिम कोच र व्यवस्थापक गरी २० जनाको टोलीलाई शुभकामना दिँदै विदाई गरेका हुन्। प्रदेश २ को टोलीले भोली माघ ६ गते लुम्बिनी प्रदेशसँग र ११ गते सुदुरपश्चिम प्रदेशसँग टियू क्रिकेट मैदानमा खेल्नेछ। माघ ९ गते मुलपानीको खेलमैदानमा वाग्मती प्रदेश र नेपाल पुलिससँग खेल्नेछ।

त्यस्तै, माघ १४ गते पहिलो सेमिफाइनल, १५ गते दोस्रो सेमिफाइनल र १७ गते फाइनल हुने कार्यतालिका क्यानले तय गरेको प्रदेश २ का खेलाडी छनौट समितिका संयोजक मुर्तुजा हवारीले जानकारी दिए।

कुन-कुन जिल्लाबाट को-को खेलाडी परे?

प्रदेश २ को क्रिकेट टोलीमा पर्साबाट प्रदेश कप्तान सुरजप्रसाद कुर्मी, सैफुल्लाह अन्सारी गरी २ जना, बाराबाट कुमार थापा, रबिकुमार साह, आदिल अन्सारी गरी ३ जना, सर्लाहीबाट सुधीर चौधरी, महोत्तरीबाट राहुलप्रताप सिंह र रबिकुमार सिंह गरी २ जना, सप्तरीबाट मेहबुब आलम र विवेक यादव गरी दुई जना र धनुषाबाट हिमांशु दत्त, दिव्याशु मल्लिक, हरिशंकर साह, विशाल सुस्लिङ गरी ४ जना प्लेइङ १४ मा परेका छन्।

त्यसैगरी, वैकल्पिक खेलाडीहरुमा पर्साबाट नसरुद्दीन अन्सारी, बाराबाट तीर्थराज दास, सर्लाहीबाट गुल्शन झा, सप्तरीबाट आशिष झा गरी ४ जना परेका छन्। प्रदेश २ मा सबैभन्दा बढी धुनषाबाट खेलाडी चयन भएका छन् भने रौतहट र सिरहाबाट एक जना खेलाडी पनि चयन भएनन्।

प्रदेश २ को टिम प्रशिक्षकमा प्रकाश शर्मा र व्यवस्थापकमा सुवास जैसवाल रहेका छन्। विदाई कार्यक्रममा टिम प्रशिक्षक शर्माले प्रदेश २ ले प्रतियोगिता जित्न १०० प्रतिशत एर्फट लगाउने प्रतिबद्धता जनाए।

उनले भने, ‘हामी सबै खेल जित्ने हिसाबले राम्रो प्रदर्शनमा ध्यान दिने छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell