PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

फेरि उस्तै घटना : घरभित्रै मृत अवस्थामा भेटिए ३२ वर्षीय श्रीमान् र २२ वर्षीया श्रीमती



पहिलोपोस्ट

फेरि उस्तै घटना : घरभित्रै मृत अवस्थामा भेटिए ३२ वर्षीय श्रीमान् र २२ वर्षीया श्रीमती

काठमाडौं : सोमवार ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा घरभित्रै एक दम्पती मृत अवस्था फेला परेका छन्। राजविराज घर भएका र लामो समयदेखि ललितपुरमा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल मृत अवस्थामा भेटिएका हुन्।

चार वर्षदेखि फ्लाट भाडामा लिएर आएका उनीहरु आफ्नो कोठामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन्। घटनास्थलबाट प्रहरीले स्लफर नामको विषादीको बट्टासमेत फेला पारेको छ। प्रहरीको प्रारम्भीक अनुसन्धानले विष सेवनबाट आत्महत्या गरेको देखाएको छ।

'विष भेटिनुले आत्महत्यातिर नै अनुसन्धान केन्द्रित भएको छ। तर, अन्य एङ्गलबाट पनि अनुसन्धान गरिरहेका छौं,' एसएसपी बज्राचार्याले भनिन्।

मृत पुरुष भने भेटनरीको सामान सप्लाइको काम गर्दै आएका थिए। उनीहरुको गत फागुनमा विवाह भएको आफन्तले प्रहरीलाई जानकारी  दिएका छन्। तर, अहिलेसम्म उनीहरुको मृत्युको कारण भने खुलिसकेको छैन। घरमा कोही नभएको मौका छोपी आत्महत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ।

उनीहरु बुबाआमासँगै बस्दै आएका थिए। तर, गत शुक्रवारमात्र उनीहरुको बुबाआमा आफन्तकहाँ गएका थिए। आइतवार बिहान छोराबुहारीलाई फोन गर्दा सम्पर्क नभएपछि उनीहरुले घरबेटीलाई फोन गरे। घरबेटीले कोठाको झ्याल खोलेर हेर्दा अस्वभाविक अवस्था देखे। शंका लागेपछि खबर गरेको प्रहरीलाई घरबेटीले जानकारी दिएका छन्।

'छोरा बुहारीको फोन नलागेपछि घरबेटीले कोठाको झ्यालबाट चिहाएर हेर्दा शंका लागेर प्रहरीलाई जानकारी दिएको बताएका छन्। अन्य कुराको अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी दिनेश घिमिरेले भने।

प्रहरीले घटनास्थलबाट कुनै पनि सुसाइड नोट र मृत्युको कारण खुल्ने कुनै पनि कागजपत्र भेटेको छैन। उनीहरुको मोबाइलमा कुनै जानकारी वा केही भेटिने आशंकामा प्राविधिक पक्षको अनुसन्धान सुरु गरिएको छ।

बन्द कोठाभित्र उनीहरु मृत फेला परेका थिए। पुरुषको शरीरको तल्तो भाग अर्धनग्न भएको प्रहरीले जानकारी दिएको छ।

केही दिनअघि मात्र काठमाडौंको टोखामा एक दम्पती यस्तैगरी मृत अवस्था फेला परेका थिए। टोखास्थित ग्राण्डी भिलामा  उमेश केसी र उनकी श्रीमती सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका थिए। प्रहरीको अहिलेसम्मको अनुसन्धानले श्रीमतीले नै श्रीमानको हत्या गरेको अनि त्यसपछि आत्महत्या गरेको खुलेको छ। उनीहरुको मृत्यु भएको समय झन्डै १२ घण्टा फरक देखिएको थियो। श्रीमानको टाउकोमा प्रहारको कारण मृत्यु भएको देखियो भने श्रीमतीको ह्याङगिङको कारण।

यसअघि गत भदौ २६ गते भक्तपुर मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरा भन्ने ठाउँमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला परेको थियो। घटनाको प्रकृति झन्डै उस्तै थियो। घरमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा मृत अवस्थामा फेला परेका थिए। प्रहरीले अनुसन्धान गर्दै जाँदा सुदीपले श्रीमती र छोराको हत्या गरेपछि आफूले विष सेवन गरेर आत्महत्या गरेको निष्कर्ष निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell