PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दीपक मनाङ्गेको विश्लेषण : गोल्डस्टार लगाउने नेतालाई डाक्टर मार्टिन जुत्ता दिएजस्तो भयो बहुमतको सरकार



सविन ढकाल

दीपक मनाङ्गेको विश्लेषण : गोल्डस्टार लगाउने नेतालाई डाक्टर मार्टिन जुत्ता दिएजस्तो भयो बहुमतको सरकार
फाइल फोटो

काठमाडौं : 'शीर्ष नेताहरू कुरा मिल्दा सँगै बसेर रक्सी खान्छन्। हाम्रा अगाडि चाहिँ झगडा गरेको जस्तो गर्छन्।'

२०७४ सालको प्रदेशसभा निर्वाचनको अभियानमा मनाङमा खटिँदा उनले दिएको अभिव्यक्ति हो यो। चुनावी अभियानमा जुट्दा उनलाई निर्वाचनमा होमिएको गुन्डा भन्दिन्थे मान्छेहरु। उनी आफैँ पनि पटक पटक सुन्थे - गुन्डा नाइके पनि निर्वाचनमा भन्ने। यस्तो अभिव्यक्ति आएपछि प्रतिकार गर्थे - कुनै देशमा गुन्डाले चुनाव लडेको देख्नु भएको छ? चुनाव लडेपछि के गुन्डा?

चुनावमा प्रतिस्पर्धा मात्र गरेनन् उनले। जित पनि निकाले। नेकपाले उनका लागि आफ्ना उम्मेदवार फिर्ता लिएर मैदान खाली गरेको थियो। त्यसपछि भने उनको पहिचान फेरियो र भए प्रदेश सांसद। उनलाई तपाईँले चिनिहाल्नुभयो होला। हो, उनी राजीव गुरुङ उर्फ दीपक मनाङ्गे नै हुन्। कुनै समय काठमाडौँका गल्लीमा गुन्डाको नाइकेको छवि बनाएका दीपक मनाङ्गेको भूमिका अहिले पूरै फेरिएको छ। उनलाई बदनाम गराउने ट्याग क्रमश धमिलो हुँदै गएको छ। र, उनको छातीमा टाँसिएको छ प्रदेश सांसदको लोगो।

कुनै समय थियो प्रहरीले उनलाई समात्नुलाई चर्चित सफलताका रुपमा व्याख्या हुन्थ्यो। चर्चामा अहिले पनि छन् उनी तर फरक हिसाबको। मनाङ जिल्ला निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपक नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका थिए, जितपछि। तर, अहिले भने फेरि आफूलाई स्वतन्त्र सांसद भन्न थालेका छन्।

'म अहिले पनि स्वतन्त्र सांसद नै हुँ। त्यतिखेर बहुमत पुर्‍याउनका लागि नेकपालाई सहयोगमात्र गरेको हुँ,' प्रदेशसभा सांसद दीपक मनाङ्गेले भने।

नेपाल कम्युनिस्ट पार्टी अहिले दुई धारमा विभाजित भएपछि उनलाई स्वतन्त्र हुन थप सहज भएको छ। प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको अध्यक्षतामा एउटा गुट र पुष्पकलम दाहाल प्रचण्ड - माधवकुमार नेपालको अध्यक्षता अर्को गुट सक्रिय छ। पार्टीको नाम र सूर्य चिन्ह कसको भन्नेमा लफडा जारी नै छ। यस्तोमा मनाङ्गे भने पार्टी एक होस् भन्ने नै चाहन्छन्। बहुमत ल्याएको दलको चर्तिकलाले आफू चकित भएको बताउँछन् उनी।

'यो नेकपा पार्टीको विवाद हो। यसलाई बाहिर ल्याएर जनतालाई दु:ख दिन पाइँदैन। बहुमत भएको सरकारले पनि काम गर्न सकेन भने कसले गर्छ?,' मनाङ्गेल पहिलोपोस्टसँग भने।

उनको प्रश्न रोकिएन।' चुनावमा के एजेन्डा लिएर जाने?'

त्यसैले उनले बहुमतको सरकारलाई जुत्ताको बिम्बसहित व्याख्या गरे। 'बहुमतको सरकार कस्तो भने नि, गोल्डस्टार लगाएको मान्छेलाई डाक्टर मार्टीनको ब्रान्ड दिए जस्तै भयो,' मनाङ्गेले भने।

त्यसो त प्रतिनिधिसभा विघटनको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालत सुनुवाई जारी छ। अर्कोतिर दुई चिरामा रहेका पार्टीका नेताहरु कार्यकर्ता आफ्नोतिर तान्ने ध्याउन्नमा पूरै व्यस्त छन्। त्यही होडबाजीको बिचमा छन् दीपक मनाङ्गे। गण्डकी प्रदेशमा ६० जना प्रदेशसभा सदस्यमध्ये नेकपाको बहुमत छ। त्यो चिरा पर्दा मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको पक्षमा २७ जना सांसद छन्। बहुमतका लागि चाहिन्छ ३० सिट। बाँकी ३ जना जुटाउँदा गुरुङ सुरक्षित हुन्छन्। त्यसैले दीपक मनाङ्गेको राजनीतिक भाउ बढेको छ अहिले।

कुनै बेलाको राजावादी। बिचमा काँग्रेसहुँदै नेपाल कम्युनिस्ट पार्टीमा आइपुगेका मनाङ्गे अहिले भने प्रष्ट शब्दमा भन्छन् - स्वतन्त्र हुँ। नेकपाका वरिष्ठ नेता वामदेव गौतमको कित्तामा उभिएका छन् उनी यतिखेर। वामदेव मध्यमार्गमा छन्। उनी दुई कित्तामा रहेका नेकपाका नेताहरुलाई मिलाएर जानुपर्ने भन्दै हिँडिरहेका छन्। वामदेबको त्यही मोर्चाभित्र छन् दीपक मनाङ्गे। के अब वामदेव र दीपक मनाङ्गेहरुले दुई कित्तामा देखिएका नेताहरूलाई एक बनाउन सक्लान् त? के भन्छन् मनाङ्गे।

'उहाँले मेलमिलापको लागि भन्नु भएको थियो। नेताको मनभित्र के राखेका छन् मलाई थाहा भएन। तर मेरो कुरा भनेको मेलमिलाप गराउनु नै हो,' मनाङ्गेले भने।

चुनावको समयमा नेकपाले आफ्नो उम्द्वार फिर्ता लिएपछि दीपक मनाङ्गेको जित सुनिश्चित भएको थियो। त्यसैले अहिले उनी दुईपक्षका नेतालाई एउटै टेबलमा राखेर वार्ता गराउने जिम्मेवारी आफूमाथि आइलागेको बताउन भ्याउँछन्।

'दुवै नेतालाई वार्ताको टेबलमा राख्नुपर्‍यो भनेर लागेको हो। मलाई यसमा केही नाफाघाटा छैन। राम्रो हो भनेर मात्र लागेको हूँ,' मनाङ्गे आफ्नो राजनीतिक कित्ताबारे प्रस्ट्याए।

निर्वाचनको माहोलमा शीर्ष नेताहरुलाई नै 'डन' बताएका थिए उनले। ती डनहरु देखावटी झगडा गर्ने र रक्सी खान सँगै बस्ने उनको तर्क थियो। यतिखेर उनले भनेजस्तो मन माझामाझको अवस्था भने टाढा नै देखिन्छ। तर, उनी नेकपालाई माया भने गर्छन्।

दीपकको कम्युनिष्ट पार्टीलाई यति धेरै माया चाहिँ किन त?

'मलाई कम्युनिस्टको माया होइन। चुप लागेर टिभीमा नेताको गाली गरेको हेरेरमात्र किन बस्नु भनेर हो,' उनले जवाफ दिए।

तर, स्वतन्त्र सांसद हुनुको अर्थ पनि बुझिसकेका छन् उनले। ठूला राजनीतिक दलका भन्दा २० जनामात्रै स्वतन्त्र सांसद विजयी भएको खण्डमा काम गर्न सकिने उनको बुझाइ छ। राजनीतिक दलमा उनीहरुकै एजेन्डा र स्वार्थको घेरा रहेको उनको आरोप छ।

'स्वतन्त्र उम्मेद्वारमा राजनीतिक दलका प्रतिनिधिभन्दा कम स्वार्थ हुन्छ। बहुमतको सरकारमा त झन् छाडापन देखियो। कम्युनिस्टमात्र होइन, कांग्रेसको ताल पनि त्यही हो,' उनले भने।

कम्युनिस्ट तीन वर्षसम्म टिकेको तर्क गर्दै काँग्रेसको पनि उही हाल रहेको मनाङ्गेको बुझाइ रहेछ। 'कांग्रेसले बहुमत ल्यायो भने तीन महिनामा फुट्छ। कांग्रेसमा धेरै एजेन्डा भएका मानिस छन्,' मनाङ्गेले भने।

दीपक मनाङ्गे बदनाम छविबाट चर्चामा थिए। अहिले राजनीतिका कारण। पहिलेको पहिचान र राजनीतिक पहिचानको अन्तर के त?

नजिकबाट राजनीतिक हेर्दा घिनलाग्दो देखिएको सुनाए उनले। 'मैले राजनीतिलाई हेरेँ। मैले जन्माएका मान्छे नेता भए। तर, यति घिनलाग्दो रहेछ। दुई तिहाइको सरकारले त केही गरेन अब झन् के होला?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell