PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

ओलीको उच्चतम वैंश चलेको छ, यो धेरै टिक्दैन : योगेश भट्टराई



पहिलोपोस्ट

ओलीको उच्चतम वैंश चलेको छ, यो धेरै टिक्दैन : योगेश भट्टराई

काठमाडौं : पूर्व मन्त्री तथा नेकपा नेता योगेश भट्टराईले २०६२/६३ को आन्दोलनबाट राजा फाल्न सकेको भए पनि आफैंभित्र रहेका महाराजाहरुलाई चिन्न नसकेको बताएका छन्। 

प्रेस संगठनको दोश्रो राष्ट्रिय भेलालाई  प्रज्ञा प्रतिष्ठानमा सम्बोधन गर्दै भट्टराईले आन्दोलनका क्रममा देखिएका महाराजाहरुलाई फाले पनि पार्टी भित्रकै महाराजालाई चिन्न नसकिएको बताएका हुन्। 

'हिजो सात सालमा क्रान्ति हुँदा केही सम्झौता भए। त्यसले २०१७ साल निम्त्यायो। ३० वर्ष संघर्ष गर्नुपर्‍यो। २०४७ सालमा महाराजाका श्रीपेच हल्लाउन सक्यौँ पूर्ण रुपमा उपलब्धी हात परेन,' उनले भने, '२०६२/०६३ सालमा आन्दोलन गर्‍यौँ। देखिएका महाराजाहरुलाई त फाल्यौँ। तर, कम्युनिस्ट भित्रै महाराजा जन्मिएका रहेछन्। चिन्न सकेनौँ।'

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेकाहरुलाई भट्टी पसलमा लागेको भिडको संज्ञासमेत दिए। 'भट्टी पसलमा भिड देखिन्छ। तर प्रश्न भनेको हामीले भट्टी पसल रोज्ने कि दूध पसल? गोठालो नै सही दूध पसल रोज्नुपर्छ,' उनले भने। 

उनले आफू पदका लागि कसैको पछि नालागेको भन्दै महाराजालाई फाल्नका लागि सही बाटो रोजेका प्रचण्ड र नेपालको साथमा उभिएको बताए। 'यदि यो केपी ओली, प्रचण्ड र माधव नेपालबीचको पदको लडाइ हुन्थ्यो भने म उहाँहरुको छेउमा आएर बस्ने थिइन्,' उनले भने।
उनले प्रधानमन्त्री केपी ओलीको दिन धेरै नभएको समेत जिकिर गरे। 

'अहिले प्रधानमन्त्री ओलीको उच्चतम वैंश चलेको छ, यो धेरै दिन टिक्नेवाला छैन,' उनले भने,'अलिकति तपाईँहरुले धक्का दिनुभयो भने ढलिहाल्छ।' 

भट्टराईले प्रचण्ड र माधव नेपालले पुष्पलालले स्थापना गरेको पार्टीको लिगेसी बुझेको भन्दै कम्युनिस्टहरुको लिगेसी आफूहरुतिर रहेको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell