PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

रुकुममा कांग्रेस र नेकपा निकट युवाबीच झडप : प्रहरीद्वारा ९ राउण्ड हवाइ फायर, निषेधाज्ञा जारी



पी बी खड्का

रुकुममा कांग्रेस र नेकपा निकट युवाबीच झडप : प्रहरीद्वारा ९ राउण्ड हवाइ फायर, निषेधाज्ञा जारी
फाइल फोटो।

सुर्खेत : रुकुमपश्चिमको आठबीसकोट नगरपालिकास्थित राडी बजारमा स्थानीय युवाहरुबीचको विवादले उग्ररुप लिँदा निषेधाज्ञा जारी गरिएको छ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवाहरुबीच विवाद हुँदा प्रहरीले हवाई फायर समेत चलाएको थियो। तर, स्थिति सामान्य नबनेपछि मंगलवार साँझ ५ बजेदेखि अर्काे निर्णय नभएसम्मका लागि स्थानीय प्रशासनले आदेश गरी कुनै भिडभाड नगर्न र नगराउन भनेको छ।

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमका अनुसार नगरपालिकाको पूर्वमा घारी खोला, पश्चिममा ठूलीभेरी, उत्तरमा दाजे र दक्षिणमा सिम बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

नगरपालिकाभित्र केही समूहले अनावश्यक भेला हुने, अवाञ्छित गतिविधिहरु गरी शान्ति भंग गर्ने प्रयास भइरहेकाले नगर क्षेत्रको तोकिएको चारकिल्लाभित्र जारी गरेको आदेशको बर्खिलाप भए गरेको पाइमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जनाएको छ।

प्रशासनले एकै ठाउँमा पाँच जना भन्दा बढी व्यक्ति जम्मा हुन, कुनै किसिमका भेला तथा भिडभाड हुने खालका कुनै गतिविधिमा रोक लगाएको छ। त्यस्तै, अत्यावश्यक एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दुध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शववाहन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन बाहेक कुनै पनि सार्वजनिक वा निजी, यात्रुवाहक तथा मालवाहक सवारी साधन, अत्यावश्यक उपभोग्य बस्तु बिक्री पसल र औषधि पसल बाहेक सम्पूर्ण पसल, उद्योग व्यवसायमा समेत रोक लगाइएको छ। अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने पसल बिहान ६ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाइने प्रशासनले जनाएको छ।

अत्यावश्यक सेवा कार्यालय बाहेक सवै सरकारी निजी तथा गैरसरकारी क्षेत्रका कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान हुँदै आएका नियमित सेवा सञ्चालनमा समेत रोक लगाइएको जनाएको छ।

दिउँसो प्रहरीले अनियन्त्रित भिडलाई नियन्त्रणमा ल्याउन ९ राउण्ड हवाइ फायर गरेको थियो। स्थिति नियन्त्रणमा नआएपछि अर्काे निर्णय नहुन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

स्थानीय युवाहरुबीच विगतदेखिनै विभिन्न विषयमा विवाद हुने गरेको थियो। मंगलवार भएको विवाद बढेपछि स्थानीय युवाहरुले हानेको ढुंगा मुडाले तीन जना प्रहरी र वडाध्यक्ष तारक शाहीसहित कांग्रेस निकटका तीन जना युवाहरु घाइते भएका छन्। घाइतेहरुको नगरअस्पतालमा उपचार भइरहेको रुकुमपश्चिमका डीएसपी ध्रुवकुमार श्रेष्ठले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell