PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एन्फाको 'कंग्रेस'मा चुनावी माहोल : गत वर्षको आयव्यय विवरण पासदेखि विधान संशोधनसम्म, चल्यो वामदेवको चर्चा



मुकुन्द घिमिरे

एन्फाको 'कंग्रेस'मा चुनावी माहोल : गत वर्षको आयव्यय विवरण पासदेखि विधान संशोधनसम्म, चल्यो वामदेवको चर्चा

काठमाडौं: अखिल नेपाल फुटबल एसोसिएसन- एन्फाको १९ औं कंग्रेस मंगलवार बेलुकी सकियो। सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न साधारणसभा चलिरहँदा चुनावी माहोल बनेको देखिन्थ्यो। एन्फामा पछिल्लो समय दुई धार देखिँदै गर्दा जिल्लाबाट आएका प्रतिनिधिदेखि केन्द्रका पदाधिकारीहरुसम्म कसको कित्ता कता भन्ने चासोमा देखिन्थे। बाहिर भेटिएका एक जना एन्फाका उच्च पदाधिकारी भन्दै थिए, 'कित्ता त क्लियर गर्नै पर्‍यो नि। बामदेव भएर बस्नु भएन। कर्माजीलाई यसपटक समर्थन गर्न सकिँदैन।'

त्यस्तै कास्की जिल्लाबाट आएका अर्को एकजना प्रतिनिधि भने अध्यक्षले काम गर्न खोजिरहेकाले उनको साथ नछोड्ने तर्क गर्दै थिए। भन्दै थिए, 'सबै कुरा भनेजस्तो कहाँ हुन्छ र?'

माहोल चुनावी थियो। अझ बन्द सत्र सकिँदै गर्दा पत्रकारलाई निर्णय सुनाउन भित्र बोलाइएको थियो। त्यतिकैमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ ‘नोट अफ डिसेन्ट’ लगायतका कुराबारे केही भन्दै थिए। बीचमा गएकाले कुरा बुझ्न त सकिएन तर असन्तुष्टिहरु पनि छन् है भन्ने कुराहरु खुले। लगत्तै अध्यक्ष कर्माछिरिङ शेर्पा बोल्न थाले। उनले साधारणसभा सफलताको साथ सम्पन्न भएको दाबी गर्दै केही कुराहरु स्पस्ट पारे। सायद त्यसअघि जिल्लामा चुनावी माहोल आफ्नो पक्षमा पारेको आरोप कतैबाट आएको हुनुपर्छ त्यसैले अध्यक्ष शेर्पाले जवाफ दिँदै थिए, 'हाम्रो आम्दानी बढ्यो भने चुनाब अघि अर्को पनि थप्नुपर्ने हुनसक्छ। कार्यक्रम पनि बढ्दै जान्छ, पैसा पनि थपिँदै जान्छ। तर यो चुनावका लागि होइन त्यसैले गर्दा नेपाली फुटबल विकेन्द्रीकरण गर्ने भनेको थियौं नि त्यही अनुसार जिल्लामा बल किन्ने पैसा, ग्रासरुट लगायताका सबै कुरा हामी जिल्लामा दिँदै छौं।'

उनको उत्तरको प्रश्न नसुने पनि अनुमान पक्कै लगाउन सकिन्छ साधारण सभामा अध्यक्ष शेर्पालाई जिल्लामा चुनावी माहोल आफ्नो पक्षमा पार्न खोजेको आरोप लागेको हुनुपर्छ। जे होस एन्फाको १९ औं कंग्रेस सफलताका साथ सम्पन्न भएको दाबी गरियो।

के भए निर्णय?

एन्फा प्रवक्ता किरण राईले साधारण सभाबाट सोमबार एन्फा कार्यसमितिले प्रस्ताव गरेका निर्णयहरु पास भएको जनाए। जसमध्ये अध्यक्षको वार्षिक प्रतिवेदन सर्वसम्मतले पास भएको छ। त्यस्तै गत वर्षको आम्दानी खर्चको विवरण पनि साधारण सभाबाट पास भयो।

‘त्यस्तै एन्फाले गतवर्षको आम्दानी खर्च अनुमोदन गरेको छ। जसमा गत वर्षको आम्दानी ४० करोड २६ लाख ४९ हजार ६९९ रहेको थियो भने खर्च ४१ करोड २६ लाख ९५ हजार १ सय ५६ रुपैयाँ खर्च भएको थियो,’ राईले भने, ‘अलि बढी खर्च भएको छ।’

आगामी वर्षको कार्यक्रम २०७७/७८ का लागि बजेट तथा कार्यक्रम अनुमोदन गरेको छ।

‘बजेट ८५ करोड ६६ लाख ४२ हजार २४० अनुमोदन गरेको छ,’ राईले भने।

एन्फाको आगामी कार्यक्रमहरुमा आगामी वर्षको कार्यक्रमहरु बाँकी रहेको बी डिभिजन लिग, प्रदेश लिगहरु, एन्फा प्रेसिडेन्ट कप, राष्ट्रिय महिला लिग, जिल्ला लिग, अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता, फुटसल छनोट लगायतका विभिन्न वर्कसप आयोजना गर्ने लगायत छन्।

त्यस्तै विराटनगरमा भएको कंग्रेसको निर्णयहरु पनि अनुमोदन भएको राईले जनाए। त्यस्तै खोटाङ मनाङ र नवलपरासीलाई अस्थायी सदस्यबाट पूर्ण सदस्य बनाउने निर्णय भयो।

त्यस्तै साधारणसभाले पछिल्लो एन्फाले कसरतमा जुटेको विधान संशोधन पनि पारित गरेको छ।

‘विशेष विधान संशोधनको छलफल थियो। कतिपय हाम्रो विधानमा त्रुटीहरु थिए। फिफा र एएफसीको केही गाइडलाइनहरु हामीलाई थियो,’ प्रवक्ता राईले भने, ‘त्यसको आधारमा पनि हामीले संशोधन गरेका छौं। नेपाल सरकारले जारी गरेको खेलकुद ऐनले पनि हामीलाई केही विषय निर्देशित गरेको थियो। विधान संशोधनको प्रस्तावलाई पनि पारित गरेको छ। अब त्यो कार्यन्वयनमा जाने चरणमा छ।’

त्यस्तै साधारणसभाले अघिल्लो वर्षको फुटबल गतिविधिको मुल्याङ्कन गरेको र आगामी योजनाका लागि अवधारणाबार चासो दिएको राईले जनाए।

‘अघिल्लो वर्षको फुटबलको समीक्षा गरेको छ र आगामी वर्षका लागि अवधारण बनाएको छ,’ राईले भने, ‘यसबारे धेरै सुझावहरु आएको छ। यी सबै कुराहरुलाई एन्फाले ग्रहण गरेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell