PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ब्लुप्रिन्टसहित आन्दोलनमा उत्रिने प्रचण्डको उद्‍घोष, भने : चुनाव भन्दै प्रणाली भाँच्न पाइन्न



पहिलोपोस्ट

ब्लुप्रिन्टसहित आन्दोलनमा उत्रिने प्रचण्डको उद्‍घोष, भने : चुनाव भन्दै प्रणाली भाँच्न पाइन्न
फोटोः सविन धमला

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनलाई उठाउन ब्लुप्रिन्टसहित आउने बताएका छन्। पटकपटक जनताले उही नेताहरुका लागि किन साथ दिने भन्ने प्रश्नको जवाफमा प्रचण्डले स्वेतपत्र जारी गरेर आफ्नो मान्यता, विचार र आन्दोलनबारे प्रस्ट पार्ने जनाएका हुन्।

आन्दोलनरत नेकपाका अध्यक्षद्वय प्रचण्ड तथा माधवकुमार नेपालले संचारकर्मीहरुसँग आज बिहान गरेको छलफलमा लोकतन्त्र, सुशासन लगायतका विषयमा प्रस्ट रुपमा स्वेतपत्र सहित आउने बताए। 'आन्दोलन किन भन्नेमा यहाँहरुको भनाइपछि हामीले ब्लु प्रिन्टसहित आउनुपर्छ भन्ने प्रष्ट भएको छ,' प्रचण्डले भने, 'हामी पदका लागि आन्दोलनमा आएका होइनौं भन्ने बुझाउन आवश्यक देखियो।'

हिजोमात्र पत्रकार तथा लेखक नारायण वाग्लेले नागरिक बडपत्रसहित आन्दोलनमा उत्रिन प्रचण्ड-नेपाल समूहलाई आग्रह गरेका थिए।

छलफलमा पत्रकारहरुले जनताहरु आन्दोलनमा आउने आधार के भन्दै प्रश्न गरेका थिए। जनस्तरमा पदका लागि यो समूह आन्दोलनमा छ भन्ने स्थापित रहेको पत्रकारहरुले बताएपछि विचार, सिद्धान्त र मान्यतामा रहेको अन्तरसहितको प्रतिवद्धता सहित आउने निष्कर्षमा पुगेको प्रचण्डले बताएका थिए।

ब्लुप्रिन्टसहित आउनुपर्ने विषय यसअघि नेकपाको स्थायी कमिटीमा पनि उठेको थियो। 'स्थायी कमिटीमा पनि यो कुरा उठेको थियो। आज तपाईँहरुले पनि उठाइदिनुभयो धन्यवाद,' छलफलपछिको अनौपचारिक कुराकानीनमा नेकपा नेता जनार्दन शर्माले भने।

निर्वाचन आयोगमा नेकपाको आधिकारिकता विषय विचाराधीन रहेको तथा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा नटुङ्ग्याइसकेको अवस्थामा पुन: प्रधानमन्त्री ओलीको टिमसँग एकताको सम्भावना कति छ त? पत्रकारहरुको प्रश्नमा प्रचण्डले तत्काल एकताको तुक नरहेको बताए। 'उहाँ (केपी ओली)ले तत्काल आत्मालोचना गर्ने सम्भावना पनि छैन। कुर्सी नै भाच्ने र घर नै भत्काएर हिँड्नु भएको छ। यस्तोमा तत्काल एकता हुने छैन,' प्रचण्डले भने, 'अर्को पाँच/दश वर्षपछि यसमा के हुन्छ भन्न सकिन्न।'

प्रचण्ड-नेपाल समूहले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई संयुक्त आन्दोलनका लागि आग्रह गरे पनि उसले त्यसलाई स्वीकार गरेको छैन। काँग्रेसले सर्वोच्चको फैसला कुर्ने बताइसकेको छ। पार्टी विभाजन भइनसकेको तर्कसमेत गर्दै आएको छ काँग्रेसले। यस्तोमा सर्वोच्च अदालतले निर्वाचनको बाटो देखायो भने प्रचण्ड-नेपाल समूह चुनावका लागि जान्छ त?

'निर्वाचन त एक वर्षपछि हुनेवाला नै छ। स्थानीय तहको निर्वाचन एक वर्षपछि र त्यसपछि अरु पनि हुन्छ। तर अहिलेको प्राथमिकता संविधान र लोकतन्त्रलाई डिरेल गर्ने काम विरुद्ध हो,' पत्रकारहरुको प्रश्नको जवाफमा प्रचण्डले भने, 'निर्वाचनमा गएर संविधानमाथि गरिएको प्रहार जोगिन सक्दैन। चुनाव मुख्य कुरा होइन, प्रणाली कुरा हो।' उनले निर्वाचनको विरोधी नभएको पनि प्रस्ट्याए।

नेतृत्व तहमा रहेका नेताहरुको उही अनुहारलाई जनताले विश्वास गर्नुपर्ने आधारमाथि गरिएको प्रश्नपछि दुई पटक प्रधानमन्त्रीसमेत रहिसकेका प्रचण्डले त्यस विषयलाई लिएर 'प्रणाली' बनाउने समेत बताए। 'हामी प्रधानमन्त्री पदका लागि मरिहत्ते गर्ने होइनौं भन्न चाहन्छु। यसको म व्याख्या गर्न चाहन्न,' उनले भने, 'कति पटक प्रधानमन्त्री बन्ने वा नेतृत्व लिने भन्नेबारे हामी प्रणाली नै बनाउने छौं।'

प्रचण्डले आन्दोलन साकाहारी भएको भन्ने विषयलाई पनि छलफलमा प्रस्ट्याए। 'त्यो भनाइलाई आक्रोश र आवेगका रुपमा लिइदिनुहोला। १२ बुँदे सहमतिदेखिका परिवर्तनमा भूमिका खेलेकाले आवेग र आक्रोश पैदा भएको हो। साकाहारी आन्दोलन भएन भन्नुको अर्थ हिंसात्मक भनेको होइन। यति छिटो दुर्घटना भएकोले अलि आवेगमा बोलेको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell