PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

बजार गस्तीको आँखा छलेर सिमकोटमा चोरीका घटना



रासस

बजार गस्तीको आँखा छलेर सिमकोटमा चोरीका घटना

सिमकोट : हुम्लाको सदरमुकाम सिमकोटमा दिनप्रतिदिन चोरीका घटना बढ्न थालेका छन्। सदरमुकाम सिमकोटमा बजार गस्तीको आँखा छलेर दैनिक चोरी भएको गुनासो आउन थालेको हो। सिमकोट माथिल्लो बजार आसपास क्षेत्रमा दैनिक चोरी हुने गरेको यहाँका नागरिकले गुनासो गरेका छन्।

बिहान र दिउँसोको समयमा समेत चोरी हुने गरेको छ। यस्तै होटल विजयबाट सोमवार बिहान जुम्ला जिल्ला घर भएका राष्ट्रिय समाचार समिति सिञ्जाका संवाददाता उपेन्द्र न्यौपानको ४१ हजार रुपैयाँ मूल्य बरारबको मोबाइल फोन चोरी भएको छ। होटलमा चार्जमा राखेको समयमा आफ्नो मोबाइल चोरी भएको उनले बताए।

उनको बिहान चार्जमा राखिएको समयमा रेडमी टेन प्रो मोबाइल चोरी भएको हो। आफू प्रेस संगठनको बैठकमा जानका लागि सिमकोट आएको र उक्त होटलमा चार्जमा राखेको समयमा चोरी भएको उनले बताए।

यस्तै, सिमकोट माथिल्लो बजारमा रहेको बैंक नजिकको एक घरबाट १८ हजार रुपैयाँ नगद चोरी भएको स्थानीयवासी कालीबहादुर बोहराले बताए। घरमा कोही नभएको मौका छोपेर रातिको समयमा चोरले घरको तालासमेत फोडेर १८ हजार रुपैयाँ नगदसहित अन्य सामान चोरी गरेको बोहराले बताए।

यस क्षेत्रमा दैनिक लत्ताकपडा, जुत्तालगायतका सामग्री चोरी हुने गरेको स्थानीयवासी देउमा भण्डारीले बताइन्। सुरक्षा गस्तीले रातिको समयमा बजार गस्ती गरेको भने पनि दिउँसोको समयमा अत्यधिक चोरी हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell