PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ब्राउन सुगरको कारोबारी समातिँदा भेटियो अपराधको पुरानै ट्र्याक रेकर्ड



सविन ढकाल

ब्राउन सुगरको कारोबारी समातिँदा भेटियो अपराधको पुरानै ट्र्याक रेकर्ड

काठमाडौं : बुधवार लागू औषध नियन्त्रण व्यूरोको टोलीले लागूऔषध कारोबारमा ९ जनालाई समातेको भन्दै पत्रकार सम्मेलन आयोजना गर्‍यो। काठमाडौं र विभिन्न जिल्लाबाट उनीहरुलाई पक्राउ गरिएको थियो। काठमाडौंमा ल्याइएका मध्ये ६ जनालाई प्रहरीले सार्वजनिक गरिरहँदा एक जना थिए टासी सन्डुप गुरुङ। उमेर ४६ वर्ष। घर चाहिँ मनाङ डिस्याङ्ग गाउँपालिका ३ नावल।

उनी व्यूरोको हिरासतमा नै थिए। उनलाई पत्रकार सम्मेलनमा सार्वजनिक भने गरिएन। व्यूरोका प्रमुख एसएसपी दिलिप कुमार चौधरीले कारण खुलाए, 'एक जनालाई कोरोना संक्रमण भएर सार्वजनिक नगरिएको हो।'

प्रहरीले कोरोना भनेर सार्वजनिक नगरेका उनको खातामा अपराधको धेरै ट्र्याक रेकर्डहरु भेटियो। 

२०५२ असोज २७ मा ठमेलमा भएको इटालियन नागरिक डेभिड क्यारारोको हत्या भएको थियो। हत्याको अभियोगमा घटना भएको २० वर्षपछि टासी पक्राउ परेका थिए।

अहिले फेरि उनी समातिएका छन्। तर, अपराधको प्रकृति भने फेरिएको छ। पुस २८ गते उनलाई व्यूरोको टोलीले ब्राउन सगुरको कारोबारी गरेको भन्दै कोटेश्वरबाट पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले लागू औषध तौलिन प्रयोग हुने तराजु समेत बरामद गरेको छ। तर, प्रहरीको बयानमा टासीले तराजु आफुले सुन खोज्न बोकेर हिँडेको भनेका छन्।

'मैले श्रीमतीको सुन जोख्नु थियो। त्यसैले तराजु बोकेर हिँडेको हुँ,' एक अनुसन्धान अधिकृतले टासीलाई उदृत गर्दै भने।

प्रहरीले उनको साथबाट २ लाख ६० हजार रुपैयाँसमेत बरामद गरेको छ। एसएसपी चौधरीका अनुसार ब्राउन सुगरको कारोबारी हुन् उनी। यस्तो कारोबार गर्ने गिरोहका सक्रिय सदस्य पनि। 'कारोबार गर्ने सूचना पाएपछि हामीले नियन्त्रणमा लिएका हौं। उनीहरुले देशका विभिन्न युजरलाई लागू औषध बिक्री गरेको देखिन्छ,' एसएसपी चौधरीले सुनाए।

अपराधको पुरानै ट्र्याक रेकर्ड

२०५२ असोज २७ गते ठमेलको एक पवमा इटालियन युवतीलाई जिस्काउँदा घटेको हत्या घटनामा उनी पनि तानिएका थिए। तर, त्यखिरे उनी विभिन्न जुक्ति निकालेर अमेरिका भाग्न सफल भए। अमेरिका जान उनले नामदेखि पहिचानसम्म फेरे। अमेरिका गएर ग्रिन गार्ड समेत लिन सफल रहे उनी। अमेरिकामा १५ वर्ष बसेपछि उनी ढुक्कसँग नेपाल फर्किए। नेपाल आए पनि केही समय उनी प्रहरीको नजरमा परेनन्। तर नाम फेरेर बसे पनि अन्तत: उनी प्रहरीको नियन्त्रणमा परिहाले।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले २०७२ सालमा उनलाई समात्यो। प्रहरीको प्रारम्भीक अनुसन्धानमा उनी केही समय भारतमा बसेर त्यहाँबाट अमेरिका पुगेको देखियो।

उनलाई कीर्ते गरिएको लाइसेन्स र नगारिकताको प्रकरणमा पनि कारवाही गरिएको थियो।

'उनी तिनै व्यक्ति हुन् जो इटालियनको हत्या र कीर्तेमा समातिएका थिए,' व्युरोका एसपी कृष्णकुमार महतले भने। श्रीमतीको हत्या प्रयासले पनि उनलाई हिरासत पुर्‍याएको थियो। भलै सबै प्रकरणमा उनी एकएकगरी चोखिएका थिए।

देशभर कारोबारीको सञ्जाल

प्रहरीले देशका विभिन्न भागबाट उनीजस्ता अन्यलाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा इलामको माई नगरपालिका ४ घर भई हाल तारकेश्वर-१० मनमैजु बस्ने ३१ वर्षीय सन्दीप राई, सोही वतन भएका ३२ वर्षीय दीपक राई, इलाम-२ मालापथ बस्ने ३६ वर्षीय केसाङ योल्म, मनाङको ङिस्याङ गाउँपालिका-३ नावल घर भई हाल स्यम्भू बस्ने ४६ वर्षीय टासी सन्डुप गुरुङ र पाँचथरको फालेलुङ्ग गाउँपालिका-८ घर भएका ५५ वर्षीय भीमप्रसाद लोवा रहेका छन्।

त्यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका-३ बस्ने ४१ वर्षीय दिनेश कमाल, सोही वतन भएका ४३ वर्षीय सन्तोष सापकोटा, भद्रपुर नगरपालिका-१० घर भई हाल काठमाडौं बस्ने ४१ वर्षीय राजेश श्रेष्ठ र इलाम माई जोगमाईका ३६ वर्षीय सोनाम कागतेलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरु लागू औषध कारोबार गर्नका लागि एउटै सञ्जालमा काम गर्ने गरेको पाइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनीहरुको साथबाट प्रहरीले ब्राउन सुगर ५३६.५ ग्राम, एम्फेटामा २ थान, ६ लाख ७१ हजार ५ सय रुपैयाँ, अमेरिकन डलर ६ हजार १ सय र ३ थान सवारी साधन बरामद गरेको छ।

साथै, सो कारोबारमा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी हुनुका साथै सो विषयमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। नेपालमा ब्राउन सुगरको मूल्य प्रतिग्राम १ हजारदेखि १० हजार रुपैयाँसम्म पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell