काठमाडौं : जो बाइडेनले अमेरिकाका ४६ औं राष्ट्रपतिका रुपमा शपथ लिएका छन्। बुधवार वासिङटन डिसीस्थित क्यापिटलमा आयोजित समारोहमा बाइडेनले शपथ लिएका हुन्। बाइडेनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जो जी रोबर्टस जुनियरले शपथ दिलाएका हुन्।
यस्तै, कमलादेवी ह्यारिसले पनि उपराष्ट्रपतिका रुपमा शपथ लिइन्। उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोनोमेयरले शपथ दिलाइन्।
शपथ ग्रहणमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएनन्। निर्वतमान उपराष्ट्रपति माइक पेन्स भने बाइडेनको शपथमा सहभागी भए। शपथ ग्रहणमा पूर्व राष्ट्रपतिहरु बाराक ओबामा, जर्ज डब्लु बुस, बिल किल्न्टन पनि उपस्थित भए।
आजै ७८ वर्षीय बाइडेन ह्वाइट हाउस प्रवेश गर्नेछन्। ह्वाइट हाउस प्रवेश गर्ने बाइडेन सबैभन्दा पाका उमेरका अमेरिकी राष्ट्रपति हुन्।
शपथ लिएपछि सम्बोधन गर्दै बाइडेनले आफू सबै अमेरिकीको राष्ट्रपति बन्ने बताए। प्रजातन्त्र र अमेरिकी जनताले जितेको दिन भन्दै बाइडेनले आफूलाई साथ दिने र नदिने सबैको राष्ट्रको रुपमा काम गर्ने बताएका हुन्। उनले कोरोना भाइरससँग मिलेर लड्ने र जित्नेमा अमेरिका आशावादी रहेको समेत बताए।
शपथ ग्रहण समारोहमा अमेरिकी सेना, लेडी गागा, जनेफर लोपेज लगायतले प्रस्तुती दिएका थिए।
तीन पटकको प्रयासमा राष्ट्रपति
पार्टीमा पाका व्यक्ति भए पनि राष्ट्रपतिको नोमिनी बन्न बाइडेनले पटकपटक पापड बेल्नु परेको थियो। डेलावेयरबाट ६ पटक सिनेटर बनेका उनले सन् १९८७ देखि नै राष्ट्रपति पदमा आफ्नो दाबी गर्दै आएका थिए। तर, पार्टीको दबावमा उनले पहिलो दाबी फिर्ता लिन बाध्य भए। यसो त उनलाई साहित्यिक चोरीको आरोप लागेकोले पनि पछि हट्न बाध्य भएको बताइन्छ। त्यतिबेला उनलाई बेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लागेको थियो।
त्यसैगरी उनले सन् २००८ मा पनि राष्ट्रपतिको नोमिन बन्नका लागि प्रयास गरेका थिए। त्यतिबेला उनले बाराक ओबामालाई समर्थन गर्दै आफ्नो दौड रोके। त्यसपछि उनी दुई कार्यकाल अमेरिकी उपराष्ट्रपति बने। २०१६ मा भने हिलारी क्लिन्टनको पक्षमा उनले राष्ट्रपतिको नोमिनी दाबी गरेनन्।
पारिवारिक पृष्ठभूमि
बाइडेन वकिल र शिक्षकसमेत रहे। सन् १९७२ मा सिनेटरमा चुनिएको केही हप्तामै पहिलो उनकी श्रीमती नेलिया र छोरी नाओमीको कार दुर्घटनामा मृत्यु भयो भने दुई छोरा बो र हन्टर घाइते भए।
सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्कमा ट्यूमरका कारण उनका छोरा बो बाइडेनको मृत्यु भयो। उनका अर्का छोरा हन्टर वकिल भए पनि भ्रष्टाचारको आरोप भने खेपिरहेका छन्।
उनको दोस्रो श्रीमती जिल हुन्। जिलले बाइडेनसँगै पहिलो महिलाको रुपमा ह्वाइट हाउस प्रवेश गर्दैछिन्। जिलबाट उनीहरुको एक छोरी रहेका छन्।
बाइडेनलाई लाग्ने आरोप
जो बाइडेन प्रखरवक्ता हुन्। मतदातालाई आकर्षण गर्न सक्छन्। अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि पनि उनले आफ्ना विपक्षीलाई शत्रुका रुपमा नहेर्न आग्रह गरेका छन्। उनले सबैलाई एकले अर्कोको कुरा सुन्ने बेला भएकोले सबै एक ढिक्का हुनुपर्ने बताएका हुन्। बेलाबेला उनी भाषणमा चिप्लिन्छन् पनि। तर, अबका दिनमा आफूले यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता उनले जाहेर गरेका छन्।
यसो त गतवर्षमात्र उनलाई केही महिलाहरुले यौन दुर्व्यवहारको आरोप लगाएका थिए। आठ महिलाले उनलाई अनुचित तवरले स्पर्श गरेको आरोप लगाए पनि बाइडेनले ती आरोप अस्वीकार गर्दै आएका छन्। तारा रिड नामकी महिलाले भने आफूलाई बाइडेनले धेरै पटक दुर्व्यवहार गर्ने गरेको आरोप लगाएकी छिन्।