सन् २०२० मा बलिउडले अभिनेता सुशान्त सिंह राजपुतलाई गुमाउनु पर्यो। उनको आत्महत्या पनि रहस्यमय तरिकाले भएको थियो। किन उनले आत्महत्या गरे त? कारण अहिलेसम्म पत्ता लागेको छैन। जसकारण उनको आत्महत्या अहिलेसम्म पनि चर्चाको विषय बनेको छ।
आज जनवरी २१। अभिनेता सुशान्त सिंह राजपुतको ३५ औं जन्मदिन। सामाजिक सञ्जाल एवं सञ्चार माध्यमहरूमार्फत् राजपुतलाई सम्झिरहेका छन्। आफन्त, परिवार र प्रशंसकहरू उनीप्रति श्रद्धान्जली समेत दिइरहेका छन्।
अभिनेत्री कंगना रनौतदेखि चरित्र अभिनेता मुकेश खन्नासम्मले सुशान्तको विषयमा ट्वीट गरेका छन्।
खन्नाले उनको आत्महत्याको सीबीआइ जाँचमा ढिला भएको बताएका हुन्। भाष्कर डटकमसँग उनले भने,'सुशान्तको आत्महत्या भएको ७ महिना भए पनि अहिलेसम्म कुनै पनि फैसला आउन सकेको छैन। हामीले सुशान्तको केसलाई सीबीआइसम्म पुर्याउन निकै कोशिस गरेका थियौँ।'
सबैलाई सीबीआइको अनुसन्धानप्रति आशा भएपनि हालसम्म कुनै निचोडमा नपुग्नु दु:खद भएको बताए। घटनाबारे सत्यतथ्य चाँडै सार्वजनिक होस् भन्दै सुशान्तलाई जन्मदिनको शुभकामना व्यक्त गरेका हुन् खन्नाले।
