PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

आवरणमा अधिकारकर्मी, धन्दा चाहिँ अपराधकै



पहिलोपोस्ट

आवरणमा अधिकारकर्मी, धन्दा चाहिँ अपराधकै

काठमाडौं : ६० वर्षीय तुलसी थापा आफूलाई मानव अधिकारकर्मी भन्दै हिँड्न थालेको लामो  समय भइसकेको छ। प्रशासनसँग समन्वय गरेर उनी अनुगमनदेखि विभिन्न कार्यक्रममा सहभागिता जनाइहाल्ने स्वभावका।

प्रायजसो चिटिक्क मिलेको कोट पाइन्ट र टाइमा नै उनी देखिने। आफूलाई मानव अधिकारकर्मी भन्दै परिचय दिने उनको बानी। थापाको सम्बन्ध नेपाल प्रहरीका उच्च तहका कर्मचारीदेखि शीर्ष नेतासम्म देखिन्छ। त्यसो त विभिन्न टेलिभिजनमा समेत उनले आफूलाई मानव अधिकारकर्मी भन्दै अन्तर्वाता दिन भ्याउँछन्। पछिल्लो पटक अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्राइम टेलिभिजनमा उनको अन्तर्वार्ता प्रसारित भयो।

तर, उनै थापालाई प्रहरीले मंगलवार दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेको छ। संखुवासभा पाँचखपन गाउँपालिका वडा नम्ब ५ खमारे स्थायी घर भएका उनलाई ठगीको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ ठगी धन्दा गरेकोमा प्रहरीले समातेको हो। मानव अधिकारकै विषयमा अमेरिका पठाइदिने भन्दै रकम लिएर ठगी गरेको उजुरी परेपछि महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएको छ।

'उहाँले परिचयपत्र देखाएर नै आयोगको अध्यक्ष भन्दै हिँड्ने र अमेरिका लग्ने भन्दै १५ लाख रुपैयाँसम्म ठगी गरेको खुलेपछि नियन्त्रणमा लिएका हौं,' महाशाखाका एसपी इश्वर कार्कीले भने।

थापाले अमेरिका हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाइदिने बचन दिँदै पैसा उठाएको प्रहरीको दावी छ। अमेरिका लैजान्छु भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानमा देखिएको छ। त्यस्तै, उनीबाट अरु पनि ठगिएको हुनसक्ने भन्दै प्रहरीले सम्पर्क गर्न अनुरोध गरेको छ।

थापाको विभिन्न दलका नेताहरुसँग पनि सम्बन्ध रहेको देखिन्छ। उनले फेसबुकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल, नेपालका लागि भारतका पूर्व राजदुत रञ्जित रे, पूर्व सेना प्रमुख लगायतका विभिन्न उच्च तहका व्यक्तिहरुसँग फोटो खिचेर फेसबुकमा हालेका छन्।

अहिले उनी महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। प्रहरीको दावीको विपरित उनले आफूलाई फसाइएको बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell