PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सडकबाट मानिसहरु 'उठाउँदा'को यो एक महिना



फूलमाया पुरी

सडकबाट मानिसहरु 'उठाउँदा'को यो एक महिना

बुटवल: मानवसेवा आश्रमले देशभरका सडकमा बस्ने मानिसहरूको उद्धारका लागि तय गरेको यात्राको एक महिना पूरा भएको छ। राष्ट्रिय उद्धार कार्यक्रमको गत पुष ७ गतेदेखि शुरु भएको थियो।

मेची महाकाली यात्राको टोली बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयबाट बिदा भएका थियो। मेचीको काँकडभिट्टाबाट बुधवार टोलीको सुदुरपश्चिमको कञ्चनपुर पुगेर महाकालीसम्मको यात्रा पूरा गर्‍यो।

एक महिनाको अवधिमा सडकहरूबाट ५ सय ३७ जनाको उद्धार गरेको छ। सडकमा कष्टकर जीवनयापन गर्दै आएका बेसहारा, अशक्त, अशाहाय, मनोरोगी वृद्धवृद्धा, युवा तथा बालबालिकाको उद्धार गरिएको आश्रमका अभियन्ता मनोज घिमिरेले जानकारी दिए।

सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको 'सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणा २०७८' अन्तर्गतको राष्ट्रिय उद्धार कार्यक्रममा मानव सेवा आश्रम पहिलो आधार भएको बताउँछन् आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी। उनले यात्राको एक महिनामा वास्तविक सडक आश्रितहरुको पहिचान तथा उद्धार भएको दावी गरे।

आफ्नो नाम बताउन नसक्नेदेखि शरीरमै दिसा पिसाब गर्नेहरू उद्धार भएका छन्। तीमध्ये प्रायको मानसिक एवं शारीरिक स्वास्थ्य परीक्षण र औषधी उपचारको आवश्यकता छ।

'शरीरमा किरा परेको अवस्थामा पनि भेटिएका छन् धेरै', अधिकारीले बताए।

करिब ४ सय सहाराविहीनको उद्धार योजना गरेको थियो अभियान टोलीले। लक्षितभन्दा बढीको उद्धार भएको छ र उद्धार कार्य सम्पन्न हुन देशका विभिन्न ठाउँ अझै बाँकी छन्।

उद्धारको क्रममा प्रदेश १ को झापा जिल्ला र मोरङको विराटनगर महानगरपालिका औपचारिपक रूपमा सहयोगापेक्षी सडक मानवमुक्त घोषणा भयो। जहाँ अब कोही पनि खुला आकाशमुनि रात कटाउन बाध्य नहुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए।

सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्र निर्माणका लागि मानवसेवा आश्रम सरकारको विश्वासिलो सारथि भएको राज्यमन्त्री जसमाया गजमेरको भनाइ छ।

त्यस्तै उद्धारकै क्रममा पर्साको वीरगन्ज महानगरपालिका पनि सहयोगापेक्षी सडक मानवमुक्त महानगरपालिका घोषणा भइसकेको छ।

यदि भोलिका दिनमा कोही पनि सडकमा अलपत्र भेटिएमा त्यसको अभिभाकत्व स्थानीय सरकारको हैसियतले महानगरले लिने महानगर प्रमुख विजय कुमार सरावगीले प्रतिवद्धता जनाएका छन्।

अहिलेसम्म राजनीतिले हुनेखानेको र मानवसेवा आश्रमले कष्टकर जीवनयापन गरिरहेका मनोरोगी, वास्तविक सडकमा आश्रितको सेवा गरेको महानगर उपप्रमुख शान्ति कार्कीले बताइन्।

‘हामी राजनीति गर्नेले त हुनेखाने पैसावालकै सेवा गरिरह्यौं,तर मानवसेवा आश्रमको यो सराहनीय कार्यले आँखा खोलिदिएको छ’, उपप्रमुख कार्कीले भनिन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो क्षेत्रलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गर्न प्रतिबद्द रहेको बताए। देशको राजनीतिक माहोलमा उतारचढाब भएपनि मानवीयता पहिलो प्राथमिकता भन्दै उनले पुरै राष्ट्रको नभएपनि आफ्नो प्रदेशको जिम्मा लिन सक्ने भएकाले उक्त विषयमा  आफ्नो ध्यान केन्द्रित भएको उनको भनाई छ।

सडक मानव ‘नन इस्यू’ बाट ‘नेशनल इस्यू’ बनेको लुम्बीनी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री सुदर्शन बरालको भनाई छ।

मन्त्री बरालका भनाइ अनुसार राज्यको मूल विषय बन्न पुगेको सडक आश्रितहरुको मुद्दा आजसम्म नेपालका कुनैपनि योजनाविदहरुको योजनामा पर्न सकेन। न त कुनै अर्थविदहरुले यसका लागि बजेट बिनियोजन गर्न पहल गरे। त्यसो त कुनै समाजविदले पनि यस विषयलाई उठाउन कुनै कदम नै चाले।

त्यसैले मानवसेवा आश्रमले विगत ९ वर्षदेखि चालेको मानवसेवा र मानवता प्रवर्दन महाअभियानले गर्दा नै सडकमा कष्टकर जीवनयापन गर्नेहरुको विषय राष्ट्रिय स्तरमा बहस हुनपुगेको उनको तर्क छ।

राष्ट्रिय उद्धार कार्यक्रम माघ १५ सम्म

मानवसेवा आश्रमले तय गरेको एक महिने राष्ट्रिय उद्धार कार्यक्रम माघ १५ गतेसम्म सञ्चालन हुने भएको छ। गत पुष ७ गतेबाट शुरु भएको सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र घोषणा २०७८ अन्तर्गतको राष्ट्रिय उद्धार कार्यक्रम तथा मेचीमहाकाली यात्रा यही माघ ७ गते सम्मका लागि तोकिएको थियो। तर काठमाडौं उपत्यकाका तीन जिल्ला र वाग्मती प्रदेशका माथिल्लो क्षेत्रका थप छ वटा जिल्लामा पनि उद्धार कार्यक्रम गरिने भएकाले समय थपिएको मानवसेवा आश्रमले जनाएको छ।

माघ ८ गते बिहिवार काठमाडौं पुग्ने करिब ४० जनाको राष्ट्रिय उद्धारको टोली दुई समूहमा विभाजन हुनेछ।र माघ ९, १० र ११ गते रसुवा धादिङ नुवाकोट सिन्धुपाल्चो दोलखा र रामेछापमा पनि वास्तविक सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धारमा खटिने छ।

माघ १६ गते राष्ट्रिय सभागृहमा राष्ट्रिय उद्धार कार्यक्रम तथा मेचीमहाकाली यात्राको औपचारिक रुपमा समापन हुने अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell