PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रचण्डविरुद्ध ओलीको आक्रमण : मेयर बनाउन छोरी छैनन्, घर किन्दिन ज्वाइँ



पहिलोपोस्ट

प्रचण्डविरुद्ध ओलीको आक्रमण : मेयर बनाउन छोरी छैनन्, घर किन्दिन ज्वाइँ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदलाई फेरि सांसद किनबेचको पहिले जस्तो सिलसिला सुरु हुने प्रयास भएको भन्दै त्यसलाई रोक्न प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन्।

उनले आफूले लेफ्टलाई जोडेर त्यसको प्रयास गरेको भए पनि त्यसलाई असफल पार्ने काम भएको दाबी गरे। प्रेस संगठन नेपालको आफू पक्षीय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'मैले प्रयास गरेको थिए। लेफ्ट पार्टी जोडेर भौगोलिक अखण्डाको रक्षा गरोस्। स्वाभिमान माथि उठाओस् र देशको विकासमा योगदान गरोस्। त्यस्तो पार्टीको परिकल्पना गरेको थिएँ,' उनले भने, 'पार्टी देखिहाल्नु भयो। एक दिन एउटा राम्रो कामको प्रशंसा गर्न नसक्ने हुतिहारा।  
देशका निम्ति मर्ने होइन आफन्तका निम्ति मर्ने!'

उनले प्रण्डलाई परिवारवादको आरोपसमेत लगाए।

'केपी ओलीका छोराछोरी छैनन्। मेरा त ज्वाइँहरु छैनन्। छोरी मेयर बनाउनै पर्‍यो। नजिते मतपत्र च्यानै पर्‍यो। ज्वाईँलाई घर किन्दिनै पर्‍यो,' उनले अगाडि भने, 'मलाई सन्चै छ। यो देशका सबै केटाकेटीलाई आफ्नै ठान्छु। उहाँलाई त्यो ठाउँमा पुर्‍याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन्? लड्ने बेलामा अरुका छोराछोरी चाहियो। आफ्ना छोराछोरीलाई विदेशमा पढाउने। अरुका छोराछोरीका पनि ज्यान हुन्। त्यो काठको बनाएको हो? अरुका छोराछोरी बेच्न राखेको पुतली हुन्?' 

प्रधानमन्त्री केपी शर्मा ओलीले उनीविरुद्ध कालो झण्डा देखाएर हिँड्नेहरुप्रति व्यङ्ग्य गरेका छन्।

‘हामी पेरिसडाँडामा बसेर कालो झण्डा उडाउनेहरु मध्ये होइनौं। हामी सडकमा कालो झण्डा देखाउनेहरु होइनौँ,' उनले भने, ‘हामी रातो झण्डा फहराउने हौं।’

उनले प्रचण्ड-माधव नेपाल समूहले जनतालाई सिनेमा देखाइरहेको आरोप समेत लगाए।

‘केही मान्छे फिलिम देखाउन आउँछन्। सिनेमामा के हुन्छ? हिरो हुन्छ। हिरोइन हुन्छ लभ पर्‍या छ। हिरोइन घाइते हुन्छे। हिरो व्याकुल पर्छ। तर केही पनि होइन,’ उनले भने, ‘केही मान्छेहरु सिनेमा देखाउन आउँछन्। नाटक गर्‍या हुन्। केही पनि होइन। जनतालाई झुक्याउँछन्। हामीले सचेत गराउनुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell