काठमाडौं: महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा शसस्त्र प्रहरीको एपीएफले विजयी सुरुवाता गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले चन्द्रपुर नगरपालिकामाथि ६-० को फराकिलो जित निकालेको हो।
खेलको १४ औं मिनेटमै सावित्रा भण्डारीको गोलमा एपीएफले अग्रता बनाएको थियो। त्यस्तै २२ औं मिनेटमा पनि अञ्जली योञ्जनले गोल थपिन्। पहिलो हाफमा एपीएफ दुई गोलले अघि रह्यो।
दोस्रो हाफमा साबित्राले अर्को गोल थपिन्। उनले खेलको ६२ औं मिनेटमा कप्तान अनिता बस्नेतको पासमा गोल गरिन्। त्यस्को दुई मिनेटमै बस्नेतले गोल थपिन्।
त्यस्तै खेलको ७२ औं मिनेटमा साबित्राले ह्याट्रिक पुरा गरिन्। त्यस्तै ८९ मिनेटमा प्रीति राईले गोल गर्दा एपीएफले आधा दर्जन गोलको फराकिलो जित निकाल्यो।
एपीएफकी प्रशिक्षक भगवती थापाले आफ्नो टिमको लक्ष्य लिग जित्ने रहेको भन्दै आजको खेलप्रति सन्तुष्ट रहेको बताइन्।
‘पहिलो खेल जहिले पनि महत्वपूर्ण हुन्छ र यसमा हाम्रा खेलाडीहरुले राम्रो प्रदर्शन गरे। सुरुवातमा केही ‘स्लो’ देखिए पनि दोस्रो हाफमा उनीहरु राम्रो फर्ममा आए।’ प्रशिक्षक थापाले भनिन्।
त्यस्तै ह्याट्रिक पुरा गरेकी भण्डारी प्रतियोगितामा राम्रो सुरुवात गर्न पाउँदा मख्ख सुनिइन्।
‘प्रतिस्पर्धात्मक खेलमा फर्कन पाउनु राम्रो कुरा हो अझ राम्रो कुरा त प्रतियोगिताको गुणस्तर सुधार हुन हो।’ भण्डारीले भनिन्।
