PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

धमलाको शतकसहित पुलिसको उत्कृष्ट ब्याटिङ, लुम्बिनी ७४ रनले पराजित



पहिलोपोस्ट

धमलाको शतकसहित पुलिसको उत्कृष्ट ब्याटिङ, लुम्बिनी ७४ रनले पराजित

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले जित निकालेको छ। टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले लुम्बिनी प्रदेशमाथि ७४ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३१० रन बनाएको थियो। पुलिसका लागि सुनिल धमलाले शतकीय पारी खेल्दै सर्वाधिक १०९ रन जोडे। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ८५ रन जोड्दा आक्रामक ब्याटिङ गरेका पवन सर्राफले १३ बलमा ५० रन जोडे। त्यस्तै, आरिफ शेख २९ रनमा अभिजत रहँदा अमित श्रेष्ठले २८ रन जोडे।

बलिङतर्फ कृष्ण कार्की, अनिल खरेल, दीपेन्द्र रावत र सौरभ खनालले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीका लागि आक्रामक ब्याटिङ गरेका सौरभ खनालले सर्वाधिक ७४ रन बनाए। उनले ६० बलमा ६ चौका र ५ छक्काको सहायतामा ७४ रन बनाए। त्यस्तै, देव खनालले ४९ रन बनाउँदा सन्दीप रजाली र कृष्ण कार्कीले समान ४०/४० रन बनाए।

बलिङतर्फ राशिद खान र पवन सर्राफले समान २/२ विकेट लिँदा ललीत राजबंशी, सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए।

जारी प्रतियोगितामा ३ खेल खेलेको पुलिसको यो लगातार दोस्रो जित हो भने दुई खेल खेलेको लुम्बिनीको पहिलो हार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell