मिलाको गाउँ गुराँसेका मान्छेहरु आगो बाल्न जान्दैनथे। गाउँका एकजना बुढा मान्छेले वनमा डढेलो लाग्दा ल्याएको आगोलाई निभ्न नदिई रेखदेख गर्दै उनीहरुले आगोको प्रयोग गरिरहन्छन्।
एकदिन अचानक जोगाएर राखेको आगो निभ्छ। र, गाउँमा खाना कसरी पकाउने? कसरी न्यानो बस्ने? भन्ने अन्यौलता सिर्जना हुन्छ।
आफू भोकै, चिसै मरे पनि छोरीलाई त जोगाउनु पर्यो! त्यसैले मीलाका बुबाले उनलाई आगो हुने गाउँमा छोडेर आउँछन्। तर मीलालाई फर्केर आफ्नै गाउँ जान मन लाग्छ।
घर जाने बाटो खोज्दाखोज्दै मीला घनाजंगलमा पुग्छिन्। त्यहाँ भौतारिन्छिन्। उनलाई त्यही जंगलमा बस्ने खरायोले आगो बाल्न चाहिने झुलो र चकमक दिन्छ।
त्यो आगोको बीउ लिएर उनी आफ्नो गाउँ फर्किने सोच्छिन्। हराएकी छोरी मीला आगोको बीउ लिएपछि गाउँ फर्किएपछि उनको गाउँ नै उज्यालो हुन्छ। मीलाले गाउँलेलाई आगो बाल्न सिकाउँछिन। सबैले मीलाको जयजयकार गर्छन्। त्यसपछि गाउँमा हरेक वर्ष त्यसै दिन अग्निपर्व मनाउन थालिन्छ।
प्राचीन समाजमा मान्छेहरुले आगो बाल्न सिकेको यो लोककथा आगोको बीउभित्रको कथा हो।
श्यामकृष्ण खुलिमुलीको ‘आगोको बीउ’ बालकथा प्रकाशित भएको छ। कथालयबाट प्रकाशित यस पुस्तकले बालबालिकालाई पृथ्वीमा मानव सभ्यताको विकासक्रमलाई परिकथासँग जोड्दै सरल ढंगले बुझाउँछ।
पुस्तकमा मानिस, प्रकृति र जीवजन्तुको पारस्परिक सम्बन्धको सजीव चित्रण गर्दै बालबालिकामा वातावरणप्रति जिम्मेवारी बोध गराउने चेष्टा पनि भेटिन्छ।
चित्राङ्कनकर्ता ध्रुव प्रजापतिले बनाएका चित्रले कथाक्रम बुझ्न सहयोग गर्छ।
६ देखि १२ वर्ष उमेर समूहका बालबालिका लक्षित यो पुस्तक अभिभावकले बालबालिकालाई ‘बेडटाइम स्टोरी’ का रुपमा सुनाउन सक्छन्।
बालबालिकाको कल्पनाशीलता र समाज व्यवहार विकास गर्नमा यो कथा महत्वपूर्ण हुन सक्छ।
४० पृष्ठको यस पुस्तकको मूल्य १२५ रुपैयाँ तोकिएको छ।
