PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मुख्य प्रशिक्षक ह्वाटमोरको आगमन पछिको क्रिकेटमा अर्को अध्याय, भन्छन् : च्यालेन्ज उठाउन पाउँदा खुशी छु



मुकुन्द घिमिरे

मुख्य प्रशिक्षक ह्वाटमोरको आगमन पछिको क्रिकेटमा अर्को अध्याय, भन्छन् : च्यालेन्ज उठाउन पाउँदा खुशी छु

काठमाडौं : नेपाली क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोर केही दिनअघि नेपाल आइपुगेका हुन्। कोभिडको महामारीपछि ठप्प नेपाली क्रिकेट अहिले चलयमान हुन थालेको छ। नेपालमा महिला प्रधानमन्त्री कप क्रिकेट सम्पन्न भइसकेको छ भने पुरुषतर्फ जारी छ। बिहीवार नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीचको खेल चलिरहँदा ह्वाटमोर कीर्तिपुर क्रिकेट मैदान परिसरमा देखिए। अर्थात् क्यानले कोभिडपछिको न्यु नर्मलमा विश्वस्तरीय प्रशिक्षक भित्र्याएको छ। क्रिकेटमा पनि न्युनर्मल बनाउने अपेक्षासहित।

‘डेभ जतिको स्तरको कोच ल्याउन नेपाललाई त्यति सजिलो थिएन। हिजोको दिनसम्म हामीले जुन किसिमले कोचहरु यहाँ ल्याएर काम गराइरहेका थियौ त्यसको तुलनमा नेपाली क्रिकेटले एउटा छलाङ मार्ने गरी क्यानले कदम अघि बढाएको छ,’ क्यानका सचिव अशोकनाथ प्याकुरेलको दावी छ, ‘उहाँ आएपछि क्रिकेटको स्तर माथि कसरी लैजाने भनेर प्राथमिकतामा राखेको छ। धेरै अफ्ठ्याराहरुका बिच क्यानले उहाँलाई यहाँ ल्याउन सकेको हो।’

त्यस्तै, क्यान अध्यक्ष चतुरबहादुर चन्द पनि विश्वस्तरीय प्रशिक्षक भित्र्याउएको मख्ख सुनिए। उनले व्हाटमोरको आगमनलाई क्यानमा नयाँ नेतृत्व आएपछिको सफलताका रुपमा चित्रण गरे।

‘धेरै प्रतिक्षापछि एउटा रिजल्ट ओरियन्ट सफल कोच नेपालमा खड्किरहेको थियो। उहाँको कार्यकालमा नेपालले अझै अर्को स्तरमा पुग्छ भन्ने हामीले आशा गरेका छौं,’ अध्यक्ष चन्दले भने, ‘हामीलाई उहाँले दिएको एउटा सल्लाह बमोजिम नेपाली क्रिकेटलाई माथि पुर्‍याउन नेपाल क्रिकेट संघले वातावरण बनाउने छ।’

हुन त ह्वाटमोरका लागि चुनौती कम छैन। सन् २०१४ मा बंगलादेशमा सम्पन्न विश्वकपका नेपालले सहभागिता जनाएसँगै नेपाली क्रिकेट चर्चाको शिखरमा पुगेको थियो। तर, त्यसयता नेपालले विश्वकपको मैदानमा उत्रिएको छैन। नेपालका प्रतिस्पर्धी टिमहरुले बलियो संरचना बनाइसक्दा नेपालको ब्याटिङलाइन देखिकै समस्याहरु यथावत छन्। अझ पाएको ओडीआइ मान्यतालाई पनि राम्ररी सदुपयोग गर्न नसकिरहेको अवस्थामा त्यसलाई जोगाउन चुनौती हुनेछ। त्योभन्दा पनि मुख्य कुरा भनेको जसरी कुनैबेला राजनीतिक अस्थिरता र ध्रुविकरणका बिच क्रिकेटले विश्वकपमा पुगेर एकताको एउटा माहोल बनाएको थियो जसलाई फर्काउन अझ ठूलो चुनौती हुनेछ।

के भन्छन् व्हाटमोर?

नेपाली क्रिकेटको नेतृत्व लिएसँगै ह्वाटमोरले आफ्नो भूमिकालाई एउटा चुनौतीका रुपमा परिभाषित गरे।

‘नेपाली क्रिकेटलाई माथि लैजाने अपेक्षासहित म नेपाल आएको छु। म यहाँ खुशी छु। च्यालेन्ज उठाउन पाउँदा खुशी छु,’ उनले भने, ‘म चुनौती लिएरै आएको हो। यहाँ प्रशिक्षकका रुपमा आउनु कम चुनौती होइन।’

ह्वाटमोरले नेपालको ओडीआई स्टाटसबारे जानकार भएको भन्दै यसलाई जोगाउने चुनौती रहेको संकेत गरे। त्यस्तै क्रिकेट बोर्डबाट सहयोगको आश्वासन मिलेको बताए। उनले नेपाली क्रिकेटलाई यही स्थानसम्म पुर्‍याउने भनेर त किटान गरेनन् तर काम गरेको पछि त्यसको प्रतिफल मिल्ने बताए।

‘बोर्डले सहयोग गर्ने भनेको छ। विश्वकपको तहसम्म पुग्न पनि अहिले एकदमै गाह्रो छ। धेरैवटा देशहरुले त्यही प्रयास गरिरहेका छन् जुन अहिले हामीले गरिरहेका छौं,’ उनले भने, ‘तर जबसम्म हामी सपनै देख्दैनौ, आफ्नो गन्तब्यमा पुग्न सक्दैनौं। हरेक दिन हरेक समय त्यसमै एकअर्काका लागि लाग्ने हो भने त्यहाँ मौका हुन सक्छ। म यही प्राप्त गर्छौं भनेर भन्न त सक्दिन तर प्रयास गरेपछि नतिजा देखिन्छ नै।’

उनले नेपाल आउनु अघिबाटै नेपाली क्रिकेटलाई फलो गरिरहेका रहेछन्। पछिल्लो समय नेपाल र सिंगापुरबिच एक सिरिजको क्रममा प्रतिस्पर्धा हुँदा नेपालको खेललाई नजिबाट नियालेको सुनाए।

क्यानका सचिव प्याकुरलले ह्वाटमोरसँग लङटर्म र सर्ट टर्मका योजनाहरु बारे उनी औपचारिक रुपमै आउनुभन्दा अघिदेखि बहस भएको दावी गरे।

‘हामीले उहाँसँग छलफल गरेका छौं। फोकस र लङटम, सर्ट टर्मबारे अनौपचारिक छलफल भइसकेको छ। पद लिइसकेकपछि जिम्मेवारी पनि उहाँसँग छ। वर्क प्लान उहाँले प्रस्तुत गर्नुहुनेछ,’ प्याकुरेलले भने, ‘बेसिक तीन कुरा, तत्काल ओडीआई स्टाटसमा वरीयता राम्रो राख्नु र टोलीको राम्रो प्रदर्शन, दोस्रो ग्रासरुट देखि नै हामीले कसरी नेपाली क्रिकेटलाई चलयमान बनाउन सक्छौँ भन्ने हो र तेस्रो कुरा भनेको यू १९ र महिला टिमलाई पनि एउटा कन्सल्टेन्टको रुपमा उहाँले सल्लाह र सुझाव दिएर नेपालको क्रिकेट स्ट्रक्चरबारे पनि रायहरु दिनुहुनेछ।’

श्रीलंकामा जन्मिएका वाटमोरले अस्ट्रेलियन टीमबाट १९७९ मा डेब्यु गरेका थिए। खेल करियरमा भन्दा पनि प्रशिक्षकमा रुपमा उनी सफल देखिए। उनी प्रशिक्षक रहँदा श्रीलंकाले १९९६ को विश्वकप जितेको थियो। सन् १९९० यता श्रीलंका, बंगलादेश, पाकिस्तान जस्ता हेभीवेट टिमहरुलाई सम्हालिसकेका छन् उनले। सन् २०१४ मा जिम्बावेका प्रशिक्षक बनेका थिए उनी।

यसअघि नेपाल ओमन र अमेरिकाबिचको त्रिकोणात्मक सिरिजका क्रममा उमेश पटवालले नेपाली प्रशिक्षकबाट राजीनामा दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell