स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको एट्लेटिको मड्रिडले जित निकालेको छ। म्युनिसिपल डी इपुरुवामा भएको खेलमा एट्लेटिकोले घरेलु टोली आइबरलाई २-१ गोलअन्तरले हराएको हो।
खेलमा घरेलु टोलीले अग्रता बनाएको थियो। खेलको १२ औं मिनेटमै इबरका मार्को डिमिट्रोबिचले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। तर ४० औं मिनेटमा एट्लेटिको मड्रिडका लागि लुइस स्वारेजले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ को बराबरीमा टुङ्गियो।
दोस्रो हाफमा स्वारेजले नै एट्लेटिकोका लागि दोस्रो गोल थपे। उनले खेलको ८९ मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। उनको त्यो गोल नै एट्लेटिकोको जितका लागि निर्णायक बन्यो।
जितसँगै १७ खेलबाट ४४ अंक जोडेको एट्लेटिकोले शीर्षस्थानका लागि ७ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडले १८ खेलबाट ३७ अंक जोडेको छ भने तेस्रो स्थानमा रहेको बार्सिलोनाले १८ खेलबाट ३४ अंक जोडेको छ।
