PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

वाग्मती प्रदेशसभामा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै, प्रतिपक्षी काँग्रेस 'पर्ख र हेर' को नीतिमै



सहयोग रञ्जित

वाग्मती प्रदेशसभामा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै, प्रतिपक्षी काँग्रेस 'पर्ख र हेर' को नीतिमै

काठमाडौं : वाग्मती प्रदेशसभामा आज मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदैछ।

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। पौडेलको स्थानमा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई प्रस्तावित गरिएको छ।

१ बजे बोलाइएको बैठकका लागि अहिले ओली, प्रचण्ड नेपाल समूह र नेपाली काँग्रेस आ-आफ्नो रणनीति बनाउन व्यस्त छ। आज प्रस्ताव पेश हुने भए पनि थप कार्यसूची भने सार्वजनिक भएको छैन। मतदान प्रक्रियको लागि अझै करिब एक साता लाग्नसक्ने बताइएको छ।

ओली समूहका नेता एवम् प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फुयालले भने अविश्वासको प्रस्ताव प्रदेश सभामा विफल हुने दाबी गरे।

शाक्यको पक्षमा ५६ मत नपुग्ने भन्दै फुयालले भने, 'हामी प्रस्तावको सामना गर्छौं। शाक्यको पक्षमा मत पुग्दैन। बाँकी दुई वर्ष वाग्मतीको मुख्यमन्त्री डोरमणि पौडेल नै हुनेछन्।'

यता, प्रचण्ड नेपाल पक्षले भने पौडेल हट्ने र शाक्य अब मुख्यमन्त्री बन्ने दाबी गरिरहेका छन्। यद्यपि, अविश्वासको प्रस्तावको प्रक्रिया सुरु भएपछि मात्रै रणनीति बनाउने योजना रहेको शाक्य पक्षधर शालिकराम जम्कट्टेलले बताए।

'अहिले हामीसँग ४५ जना हुनुहुन्छ। आज प्रस्ताव पेश गर्न त्यो काफी छ। प्रक्रिया सुरु भएपछि हामी यसबारेमा थप छलफलमा जुट्छौं,' उनले भने।

उनले काँग्रेससँग प्रस्तावको बारेमा हालसम्म छलफल नभएको र प्रस्ताव प्रक्रियामा गएपछि मात्रै छलफल अघि बढाउने बताए।

काँग्रेसले भने 'पर्ख र हेर' को रणनीतिमा छ। आज प्रस्ताव पेश भएर प्रक्रिया अघि बढाएपछि मात्रै काँग्रेसले अन्य दलसँग छलफल गर्ने प्रदेशसभामा कांग्रेसकी प्रमुख सचेतक राधा घलेले बताइन्।

काँग्रेसले प्रतिनिधिसभा विघटनमा नै आफ्नो प्रस्ट धारणा राख्न नसकेको अवस्‍थामा प्रदेशमा समेत प्रस्ट अडान राख्न सकिरहेको छैन।

घलेले भनिन्, 'हाम्रो पहलमा नै सबै दलसँग कुरा भएर आज प्रस्ताव टेबल हुँदैछ। हामी प्रदेशलाई अनिर्णयको बन्दी बनाउँदैनौं। तर, आज प्रक्रिया सुरु नभएसम्म यसबारेमा केही भन्नसक्ने अवस्था छैन। अहिले हामी 'वेट एन्ट सी' मा छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell