काठमाडौं : आज बिहानैदेखि काठमाडौंको दरबारमार्ग, घण्टाघर, भद्रकाली, प्रर्दशनीमार्ग, पुतलीसडक लगाएका क्षेत्रका सडक खाली गरिएको छ। यी क्षेत्र भएर चल्ने सवारी साधनलाई समेत रोक लगाइएको छ।
आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट आन्दोलनरत पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको नेतृत्वको समूहले सभागृहभन्दा बाहिरको मुल सडकमा विरोध कार्यक्रम गर्दैछ।
आजको कार्यक्रममा देशभरबाट १ लाख नेता तथा कार्यकर्ता उतार्ने सो समूहले घोषणा गरिसकेको छ। त्यतिमात्र होइन अध्यक्ष दाहालले यसअघिका आन्दोलन साकाहारी भएको भन्दै मुठभेडमा जानसक्ने संकेत गरिसकेका छन् । उनले आफू टाउको फुटाउन तयार भएको बताएकाले पनि सुरक्षा सतर्कता बढाइएको छ।
आजको आन्दोलन हिंसात्मक हुने संकेत पाएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। बिहानैदेखि तीनवटै जिल्लामा रहेका सुरक्षाकर्मीलाई अहिले कार्यक्रम स्थलमा खटाइएको छ। विभिन्न वृत्तका डीएसपी समेत काठमाडौंको सुरक्षालाई व्यवस्थित गर्न बिहानैदेखि तैनाथ भएका छन्। बिहान ११ बजेसम्म कार्यक्रमस्थल वरपर कार्यकर्ताभन्दा धेरै सुरक्षाकर्मी देखिएका थिए।
कार्यक्रममा देशको प्रधानमन्त्रीसम्म भइसकेका तीन जना नेता, पूर्व गृहमन्त्री लगायत प्रहरीको सूचीका भीआइपी व्यक्तिहरु सहभागी हुने भएकाले प्रहरीलाई झनै चुनौती थपिएको छ।
त्यस्तै, कार्यक्रममा अन्य हिंसात्मक गतिविधि गर्ने समूहको पनि घुसपैठ हुनसक्ने देखिएको छ। त्यसैको आशंकामा सादा पोशाकका प्रहरी तथा खबरीहरु समेत परिचालन गरिएको छ। सशस्त्र प्रहरीसमेत उतिकै सङ्ख्यामा देखिएको छ।
यता प्रर्दशनकको कारण काठमाडौंका सबै सडक अस्तव्यस्त बनेको छ। त्यसलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी समेतलाई हम्मेहम्मे परेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखामा रहेका १ हजार भन्दा धेरै ट्राफिक प्रहरीलाई उपत्यकाभित्रको ट्राफिक व्यवस्थापनका लागि परिचालन गरिएको छ।
