काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले देशभर जनआन्दोलनको झल्को दिने गरी आन्दोलन सुरु भएको बताएका छन्।
'देशभरबाट थोरै संख्यामा मानिसहरु आउनु भएको छ। मलाई जनआन्दोलनको झल्को आइरहेको छ। यो त कास्टिङ हो। अझै फिल्म सुरु हुन बाँकी छ,' नेकपाको प्रचण्ड-माधव नेपाल समूहको विरोधसभामा उनले भने।
केपी ओलीले संविधानमाथि खड्ग प्रहार गरेको उनले आरोप लगाए।
'केपी ओलीको 'के' को अर्थ खड्ग हो। केपी ओलीले संविधानमाथि खड्ग प्रहार गरे। लोकतन्त्र माथि खड्ग प्रहार गरे,' उनले अगाडि भने, 'केपी ओलीमा कम्युनिस्टको सिद्धान्त छैन। त्यसैले कम्युनिस्ट पार्टीको अध्यक्षबाट हटायौँ। कम्युनिस्टको सदस्य हुन पनि लायक छैनन्। स्पष्टिकरण सोधेका छौँ।'
उनले ओलीले सच्चिएर आए केही समय जेल हालेर माफी दिने बताए।
'म भर्खर सुर्खेतबाट आएको छु। कतै पत्रको जवाफ पो लेखे कि। उनले संविधान उल्लंघन गरे। माफी दिनुस् भन्दै जुलुसमा पो आउँछन् कि। आएका छैनन्। सच्चिएर आएँ गल्ती पो गरेँ भन्दै आए भने केही समय जेल राखेर फेरि निकालौँला नत्र सुरुमै माफी दिउँला। भ्रम नपरोस् अब केपी ओलीसँग नेकपा झुक्ने कुरै छैन।'
उनले संविधानमाथि ओलीले 'कु' गरेको आरोप लगाए।
'अन्तर्राष्ट्रिय अभ्यास भनेका छन्। कहाँको अभ्यास हो बेलायतको? बेलायतको हो भने बेलायतमा पाँच वर्ष संसद विघटन गर्न पाइँदैन। श्रीलंकाको हो भने त्यहाँ असंवैधानिक तरिकाले संसद विघटन गर्न मिल्दैन्,' उनले अगाडि प्रश्न गरे, 'कहाँको अभ्यास हो त्यो? अन्तर्राष्ट्रिय अभ्यास भन्ने।'
केपी ओली जनतालाई झुटा आश्वासन बाँडेको बताए।
'जनतालाई खाली झुट्टा आश्वासन मात्र बाँड्ने। हामी भन्यौँ, आश्वासन होइन् काम गर्नुस्। अहिले कोरोना छ। जनताको ज्यान जोगाउनुस्। हामीले भन्यौँ महिलाहरु माथि बलात्कार भएको छ। उनीहरु सुरक्षाको कुरा गर्यौँ। हामीले भन्यौँ किसानले दु:ख पाएका छन्। त्यसका बारेमा छलफल गर्नै मानेनन्,' उनले अगाडि भने, 'त्यसका लागि ओली कहिल्यै तयार भएनन्। खाली एकलौटी ढंगले अगाडि बढ्न खोजे।'
नेता नेपालले ओलीले भने जस्तो अहिलेको आन्दोलन कुर्सीका लागि नभएको स्पष्टिकरण दिए।
'उनले भने जस्तो हामीले उहाँलाई काम गर्न दिएनौँ भन्ने होइन। हामीले राम्रो कामलाई राम्रो भन्यौँ। नराम्रोको विरोध गर्यौँ,' उनले भने।
नेता नेपालले ओलीलाई नेपाली हिटलर भएको आरोपसमेत लगाए। 'ओलीलाई राम्रो मान्छे मन पर्दैन्। साइवर सेना मन पर्छ। अरिंगालको गोला मन पर्छ,' उनले भने।
