PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

चुनावी प्रतिवद्धता पूरा गर्न नसकेको भन्दै प्रचण्डले मागे माफी, ओलीलाई तह लगाउन नसकेको स्वीकारोक्ति



पहिलोपोस्ट

चुनावी प्रतिवद्धता पूरा गर्न नसकेको भन्दै प्रचण्डले मागे माफी, ओलीलाई तह लगाउन नसकेको स्वीकारोक्ति

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तीन वर्षमा जनतासामु गरेका वाचा पूरा गर्न नसकेको भन्दै माफी मागेका छन्। 

'हामीले हिजो देखाएका सपनाहरुलाई तीन वर्षमा पूरा गर्न सकेनौँ। हामीले हाम्रो घोषणापत्रमा भने जस्तै न्याय, सुशासनको युग सुरु हुने, सबै अफ्टेरोमा परेकालाई राहत दिन्छ भन्ने सोचेको थियौं। तर हामीले त्यस्तो गर्न सकेनौँ,' नेकपाको प्रचण्ड-माधव नेपाल समूहको विरोधसभामा बोल्दै उनले भने। चुनावी घोषणापत्रका वाचा पूरा गर्न खोज्दा पनि प्रधानमन्त्रीका कारण त्यो असफल भएको उनको दावी थियो।

उनले पार्टी एकता हुँदैगर्दा गरेका सम्झौता पूरा खोजे पनि नसकिएको बताए। 'केपी ओलीले सहमति गर्न चाहेनन्। वाचा पूरा गर्न चाहेनन्,' प्रचण्डले भने, 'त्यसमा म ओलीलाई मात्र दोष दिन चाहन्न। हाम्रो पनि केही कमजोरी छ। यो तीन वर्षमा केपीलाई तह लाउन सकेनौँ।'

केपी ओली प्रवृतिलाई ठिक गर्न नसकि बताउँदै उनले सुरुदेखि नै केपी ओली विरुद्ध लड्नुपर्थ्यो भने। त्यसैलाई लिएर उनले आत्माआलोचित हुन चाहेको बताए। 

आज केपी ओलीले पार्टी विधान मात्र नमान्ने नभई संविधान नै नमान्ने भएको उनको आरोप थियो। केपी ओली प्रवृतिलाई साथ दिने काम नगर्ने पनि संकल्प गरे उनले। ओलीले शान्ति प्रक्रियालाई नै विघटन गर्न चाहेको भन्दै खबरदारी गरे प्रचण्डले। 

प्रतिनिधिसभा विघटनलाई देशका कुनै पनि संविधानविद्हरुले ठीक नभनेको उनले बताए।

'संविधानविद्, पूर्व प्रधानन्यायाधीश, नागरिक अगुवा, पत्रकारिता जगत सिंगो देश यो प्रतिगमनका विरुद्ध खडा भएको छ,' उनले अगाडि भने, 'यसले के पुष्टि हुन्छ भने उनीहरुले चालेको कदम झुटो छ। यो सिंगो राष्ट्र एक जुट भएको छ।'

उनले केपी ओलीको सेटिङलाई भत्काएर जनताको सेटिङ खडा गर्ने घोषणा गरे।

'केपी ओली र केपी ओलीका मान्छेले सेटिङ मिलाइसकेका छौँ भन्ने गरेका छन्। उनीहरुले भन्ने गरेको सेटिङलाई जनताले भत्काएर नयाँ सेटिङ जनताको पक्षमा खडा गर्ने छन्। उनीहरुका प्रतिगामी सेटिङ भत्काएर जनताको सेटिङ खडा हुन्छ,' प्रचण्डले अगाडि भने, 'आज काठमाडौंका सडकमा उर्लेको जनसागर हाम्रो अदालतले पनि देख्छ। निर्वाचनले पनि देख्छ। यो उपस्थितिले जनताको जित सुनिश्चित गरेका छन्।'

उनले प्रधानमन्त्री केपी ओलीले प्रतिगमनका विरुद्ध आवाज उठाउनेहरुलाई धम्की दिएको भन्दै त्यसको प्रतिकार गर्ने बताए।

'पूर्व प्रधानन्याधीशहरुले सत्यको पक्षमा बोल्दा तिनलाई धम्की दिने। पत्रकारहरुले जनताको पक्षमा लेख्दा धम्की दिने,' उनले भने, 'कर्मचारी साथीहरुलाई धम्काइएको छ। केपी ओलीका साइवर स्यालहरुले रेकर्ड राख्ने रे! अनी कारवाही गर्ने रे! विभिन्न क्षेत्रमा काम गर्ने विभिन्न व्यवसायीहरुको रेकर्ड राख्ने रे!'

उनले कसैलाई छोएर देखाउन चुनौतीसमेत दिए।

'म केपी ओलीका गुटलाई चुनौती दिन चाहन्छु एउटालाई छोएर देखाउ। नडराउनुहोस्, तपाईँलाई छिसिक्क केही गरे हामीले हेर्ने छौँ। भोलि जनताको सरकार आउने छ। कारवाही केपी ओलीका गुटलाई गर्ने छ,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell