PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कर्णाली प्रदेशमाथि प्रदेश १ को जित, मिनासले लिए पाँच विकेट



पहिलोपोस्ट

कर्णाली प्रदेशमाथि प्रदेश १ को जित, मिनासले लिए पाँच विकेट

काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा जारी खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई पराजित गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कर्णाली १५६ रनमा सीमित हुँदा प्रदेश १ ले ५९ रनको जित निकालेको हो।

प्रदेश १ का लागि सिद्धान्त लोहनीले सर्वाधिक ६६ रन बनाउँदा शुभाङ्कर राओले ३६ रन जोडे। त्यस्तै मिनस थापाले २५ रन बनाउँदा श्रवण यादव र फिर्दोस अन्सारीले समान १७/१७ रन जोडे।

बलिङतर्फ रबीन्द्र शाहीले सर्वाधिक ३ विकेट लिँदा दिनेश अधिकारी र दिनेश चुनराले समान २/२ विकेट लिए। त्यस्तै दिवान पुन र राज शाहले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कर्णाली प्रदेशले आक्रामक ब्याटिङ सुरुवात गरे पनि त्यसलाई निरन्तरता दिन सकेन र १५६ रनमा समेटियो।

कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४७ रन बनाउँदा निश्चल रावलले ३१ रन जोडे। त्यस्तै कप्तान रबीन्द्र शाहीले १८ रन तथा दिवान पुनले १४ रन जोडे।

कर्णालीलाई लक्ष्यसम्म पुग्न नदिन प्रदेश १ का मिनस थापाले सर्वाधिक ५ विकेट लिए। त्यस्तै दीपेश कणेलले तीन विकेट लिए।

प्रतियोगितामा सेमिफाइनलको होडबाट बाहिरिसकेको प्रदेश १ को यो सान्त्वना जित हो। त्यस्तै तीन खेल खेलेको कर्णालीको यो दोस्रो हार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell