PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काठमाडौँमा देखिएको मधेश : संविधानमाथि अन्याय भयो भन्ने सुनेर आएको...



पहिलोपोस्ट

काठमाडौँमा देखिएको मधेश : संविधानमाथि अन्याय भयो भन्ने सुनेर आएको...

  • विकास पौडेल-

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौँमा विरोध सभाको आयोजना गर्‍यो।

देशभरबाट दुई लाख मान्छे उतार्ने भनेर गरिएको विरोध सभामा देशका विभिन्न भू-भाग, जात जातिको प्रतिनिधित्व गर्नेगरि मानिस काठमाडौँमा उतारिए। सभागृह चोकमा मञ्च राखेर राखेर तीन तिरका सडकमा मान्छे राखिएको थियो। सडकमा प्रदर्शनकारी उतार्दा दिनभर बसपार्क खाली गरियो। सडक पूरा अवरुद्ध भए। यात्रुहरूले दुःख पाए।

प्रदर्शनमा देशभरबाट मान्छे ल्याएको नेकपाले जनाएको छ। कति पार्टीको सिद्धान्तले तानेर आए, कति प्रधानमन्त्री केपी शर्मा ओलीको 'प्रतिगामी कदम'को विरोधमा आए। कति गाउँका छिमेकीले भन्दा हार्न नसकेर आए। कति काठमाडौँ घुम्नकै लागि आए। यसरी आउनेमध्ये पहिलोपटक आउने पनि धेरै थिए।

तिनै मध्येका एक प्रतिनिधि पात्र हुन्- सिराहाका अजय लोध। 'चोकमा गाडी तयार थियो। सबैले जाउँ-जाउँ भने जान्नँ भन्न नसकेर आएको,' उनले भने, 'फेरि आज जान्नँ भन्यो भोलि तिनीहरू नै हो बाबु चाहिने गावोँमे।'

सुरुमा त्यति खुल्न नचाहेका उनी पार्टीभन्दा पनि गाउँलेले भनेपछि आएका थिए। विद्युत् प्राधिकरण अगाडिको सडकमा मधेशको प्रतिनिधित्व गर्नेहरू बदाम खाँदै थिए। तिनै मध्येका थिए मदन दास टाउकोमा पगरी बाँधेका। पर्साको बिन्दबासिनी गाउँपालिका ३ का उनी राति ९ बजे बस चढेका थिए। बिहान ९ बजे कोटेश्वर आएका उनी त्यहीँ होटेलमा खान खाए।

कोटेश्वरबाट र्‍यालीसहित आएको बताउने उनी आफू काठमाडौँ किन आएँ भन्ने ठोस् कारण थाहा छैन। काठमाडौँ ल्याउनेले भनेका थिए- अन्याय भएको छ जाउँ।

'अन्याय भएको छ भन्ने सुनेर आएको। त्यत्रो बलिदान गरेर ल्याएको संविधानमाथि अन्याय भयो भन्ने गाउँतिर हल्ला छ। त्यही सुनेर आएको,' उनले भने।

बाराका जयलाल चौधरीसहित बिहान ७ बजे कलंकीमा ओर्लिएका थिए। उनी भने नेताकै भाषण सुन्न काठमाडौँ आएको बताए। 'देश अस्थिरतातिर जान लाग्यो भन्दैछन् गाउँतिरका साना नेता। के रहेछ भनेर ठूला नेताकोको भाषण सुन्न आएको,' उनले भने।

माधव नेपालको गृह जिल्ला रौतहट गौरका मटुक पासवान वडा कमिटी सदस्यसमेत हुन्। माथिबाट सर्कुलर आएपछि प्रत्येक गाउँ कमिटीबाट एक-एक वटा गाडी ल्याएको उनले बताए।

'गाउँ गाउँमा मिडियाले समाचार फुकेछ। गाउँमा नबुझ्ने कोही छैन। गलत भयो भन्ने बुझेर इच्छाले आएछन्,' उनले भने, 'त्यत्रो बलिदान दिएर ल्याएको एउटा व्यक्तिले मास्न पाउँदैन।'

यही भीडमा एक जना कवि भेटिए चितवनबाट आएका। सडकमै बसेर कविता लेखिरहेका छ थिए। शीर्षक 'के हो ओली प्रवृत्ति?'

'देशमा विकास निर्माण हुन सकिरहेको छैन …..' उनी बोल्दै थिए, छेउमा बसेका अर्का व्यक्ति थपे, 'हामी व्यक्ति होइन प्रणाली स्थापना गर्न चाहन्छौँ जसमा केपी ओली जस्ता मान्छे आए पनि टिक्न नसकुन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell