PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओलीविरुद्धको शक्ति प्रदर्शनमा प्रचण्ड र नारायणकाजीबीच भनाभन: सभा विसर्जन गर्न इन्कार, पम्फाले देखेको ड्रोन एक्कासी कता हरायो?



प्रकाश भण्डारी

ओलीविरुद्धको शक्ति प्रदर्शनमा प्रचण्ड र नारायणकाजीबीच भनाभन: सभा विसर्जन गर्न इन्कार, पम्फाले देखेको ड्रोन एक्कासी कता हरायो?

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको समूहलाई काठमाडौँमा शक्ति प्रदर्शन गर्न सबैभन्दा बढी चिन्ता खाली ठाउँ नभएकोमा हुन्छ। आमसभामा हजारौँलाई उपस्थित गराउने उद्देश्य अनुसार गाउँ-गाउँबाट कार्यकर्ता ल्याए पनि खुल्ला ठाउँ नै नभएपछि सडकमै आमसभा गर्नुपर्ने बाध्यता पनि छ।

शुक्रबारको विरोधसभा पनि सडकमै गर्दा बिहानैदेखि काठमाडौँको जनजीवनमा प्रभाव पर्‍यो। रत्नपार्क, भद्रकाली र प्रदर्शनीमार्गको बीचमा 'टी' आकारमा सहभागीलाई हेर्न मिल्नेगरि मञ्च बनाइयो। टाढासम्म जोडिएका माइक, नेता कार्यकर्ताको बाक्लो उपस्थिति र कडा सुरक्षा निगरानीले पनि आमसभा भव्य भएको प्रतीत हुन्थ्यो। तर, नेताहरुबीचको सहकार्यको कमी, टाढादेखि कार्यकर्ताको उपस्थिति र व्यापक सहभागिताका कारण व्यवस्थापन गर्न भने हम्मेहम्मे परेको थियो। केही दिनअघि प्रज्ञा प्रतिष्ठानबाट प्रचण्डले मांसाहारी आन्दोलनको उद्घोष गरेका थिए। तर शान्तिपूर्ण रूपमै प्रचण्ड नेपालको शुक्रबारको विरोधसभा समापन भएको छ।

मांसाहारी आन्दोलनको आह्वान गर्दै आफूले ओलीमाथि जाइलाग्न चाहेको अभिव्यक्ति दिएको भए पनि आलोचना हुन थालेपछि आफ्नो भनाइको प्रचण्डले बचाउ गरेका थिए।

खाली खुट्टा आन्दोलनमा

पुस ५ को प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड-माधव समूह एक अर्कालाई काउन्टर दिइरहेका छन्। शक्ति प्रदर्शनलाई दुवै समूहले आफ्नो सबैभन्दा ठूलो हतियार बनाएका छन्।

विभिन्न जिल्लाबाट काठमाडौँमा नेता कार्यकर्ता उतारेर आफ्नो पक्षमा ठूलै जमात भएको पुष्टि गर्नु नेकपाको दुवै समूहका लागि सामान्य बनिसकेको छ।

ओली समूहको युवा संघले धोती जुलुस नै निकालेको थियो। प्रचण्ड-माधव समूहले ओली समूहको शैलीलाई भने पछ्याएन। तर, कार्यकर्ता भने काठमाडौँमा ओली समूहकै जसरी ल्यायो।

बिहीबार राति नै काठमाडौँ हिँडेका उनीहरू एकाबिहानै काठमाडौँ पुगेका थिए। नेकपा संघर्ष समितका सदस्य तथा प्रदेश न २ को संयोजन गरिरहेका स्थायी कमिटी सदस्य गणेश साहाका अनुसार तराईबाट प्रचण्ड-नेपाल समूहले १२ हजार कार्यकर्ता काठमाडौँ ल्याएको थियो। रातभरिको यात्राका कारण लखतरान देखिन्थे। कति जना सडकमै सुस्ताएका थिए भने जुलुसमा झण्डा समातेर उभिएकाहरूको पनि अरू सहभागीमा जस्तो जाँगर थिएन। उनीहरुमध्ये केहीका खुट्टामा चप्पल समेत थिएनन्। हँसिया हथौडा बोकेर आएका उनीहरूले चप्पल हाल्न भने पाएनन्।

प्रचण्ड र नारायणकाजी मुखामुख

सभालाई व्यवस्थापन गर्नै धौधौ भएको प्रचण्ड–माधव समूहलाई समयको पालना गर्न सजिलो भएन। ठाउँ-ठाउँबाट सडकमा निस्केका जुलुस पौने १२ बजेको तोकिएको समयमा नपुग्दा सभा ढिलोगरि मात्रै सुरु भयो। सभा सुरु हुनुअघि नै मञ्चमा भएका नेताहरूमा केही विवाद भएको देखियो। सबै नेता मञ्चमा देखिसकेको भए पनि पार्टी प्रवक्ता तथा संघर्ष समितिको संयोजक नारायणकाजी श्रेष्ठ देखिएनन्। उनी नदेखिएपछि सभा सञ्चालनको जिम्मेवारी पाएकी स्थायी कमिटी सदस्य पम्फा भुसालले मञ्चबाटै बोलाइन। उनी आएपछि प्रचण्ड र उनीबीच केहीबेर भनाभन भयो। सहभागी र लाउडस्पिकरको ठूलो आवाजका कारण उनीहरुबीच भएको विवाद के थियो सहभागीले थाहा भने पाएनन्।

प्रचण्ड र नारायणकाजीबीच विवाद हुन थालेपछि मञ्चको पछाडि बसेका स्थायी कमिटीका नेताहरूले उठेर मध्यस्थताको भूमिका निभाएका थिए। नाराणकाजी भने त्यसपछि गमक्क देखिए। उनी कार्यक्रमभर खुसी देखिनन्। उनले कोही कसैसँग पनि कानेखुसी गरेनन्। सभाध्यक्षको भूमिकामा रहेका श्रेष्ठले सभा विसर्जन गर्न पनि मानेनन्। उनले नबोलेपछि सभा सञ्चालक भुसाल आफैँले श्रेष्ठको निर्देशनमा सभा सकिएको घोषणा गरिन्।

किन भयो विवाद?

स्थायी कमिटी सदस्य गणेश साहका अनुसार सभा व्यवस्थापनकै विषयमा उनीहरूबीच विवाद भएको हो। आन्दोलनको कमान्डर श्रेष्ठ भएकाले व्यवस्थापनमा कमीकमजोरी हुँदा केही समय भनाभन भएको उनले बताए।

'मलाई ठ्याकै के बोल्नु भो भन्ने त थाहा भएन। तर आन्दोलनको कमान्डर नै उहाँ हो। व्यवस्थापनकै विषयमा रिसाउनु भएको होला,' उनले भने।

ओलीको आलोचना, प्रचण्ड नेपाललाई खबरदारी

दुई अध्यक्ष प्रचण्ड, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य घनश्याम भुसाल केही दिनअघि नै मुख्य वक्ता तोकिएका थिए। उनीहरूलाई मन्तव्यका लागि तयारी गर्न समेत भनिएको थियो। भुसालले सुरुमै भाषण गरे। उनको भाषण अरू नेताको भन्दा दमदार थियो। उनले तयारी गरेरै प्रस्तुत भएको अनुमान गर्न गाह्रो थिएन। नेता भुसालले ओलीको चर्को आलोचना गरे भने प्रचण्ड र माधव नेपाललाई अर्को ओली नबन्न खबरदारी गरे।

'पार्टी र सरकारको शीर्ष ठाउँमा बसेर उहाँ जवाफदेही हुनु भएन। ओलीले सांसद र मन्त्रीको हुर्मत लिनुभयो। स्वाभाविक थियो विकास आकाशबाट झर्दैन भन्ने,' भुसालले अगाडि भने, 'बाचा पूरा नभएपछि तिरस्कार हुनुभयो। असफलतालाई लुकाउन संसद् विघटन गर्नुभयो।'

भुसाल आक्रामक देखिन्थे। उनको भाषणलाई कार्यकर्ता र मञ्चमा बसेका नेताहरूले रुचाएको देखियो। प्रचण्डले उनको भाषणलाई रुचिपूर्वक सुने भने टाउको हल्लाएर हैँसे मिलाए।

भुसालले ओलीलाई कडा शब्दमा चुनौती दिए। ओलीसँग साइबर सेनाका नाममा साइबर स्याल र सेटिङमात्रै अब शक्तिका रूपमा रहेको भुसालको टिप्पणी थियो।

'कमरेड केपी ओली तपाईँसँग अब दुइटा शक्ति छन्। एउटा साइबर स्याल छ कथित साइबर सेनाको नाममा अर्को सेटिङको मामला छ,' ओलीलाई आरोप लगाउँदै भुसालले भने।

उनले ओलीलाई आफ्नो कदमबाट पछि हट्न आग्रह समेत गरे। तत्कालीन नेकपाको नवौँ महाधिवेशनबाट ओली अध्यक्ष चुनिनु र नयाँ युगको पार्टी बनाउने नीति पारित हुनु नै दुर्घटना भएको उनको ठम्याइ थियो। उनले प्रतिगमनको सुरुवात त्यही दिनबाट भएको तर्क समेत गरे।

माधवलाई लागे झलनाथ अग्ला

धेरैजसो कार्यक्रममा दुई अध्यक्ष प्रचण्ड-माधव प्रमुख अतिथि बन्दा वरिष्ठ नेता खनाललाई विशिष्ट अतिथि बनाइएको हुन्छ। शुक्रबारको सभामा पनि उनले विशिष्ट अतिथिका रूपमा दुई अध्यक्षभन्दा पहिला सम्बोधन गरे। नेकपामा अध्यक्षहरूको वरीयतालाई लिएर भएको किचलोले समेत हाल पार्टी विभाजित भएको छ। प्रचण्ड-नेपालले त्यस्तो नहोस् भनेर केही सावधानी भने अपनाएका छन्। प्रचण्डले खुलेरै माधव पहिलो अध्यक्ष भएको बताएका छन्। कार्यक्रममा पहिला माधवको सम्बोधन र उनीपछि मात्रै प्रचण्डको सम्बोधनको व्यवस्था मिलाइएको हुन्छ। शुक्रबारको सभामा पनि त्यस्तै गरियो। सुरुमा भुसाल र खनालको भाषणपछि नेपालले सम्बोधन गरे।

नेपाल रोष्ट्रममा उभिँदा उनलाई उभिन पिर्काको व्यवस्था गरियो। माधव नेपाले आफू खनालभन्दा होचो भएकाले पिर्का चाहिएको जवाफ दिए। 'झलनाथ मभन्दा अग्ला भएकाले केही राख्नु परेन म त होचो भएकाले यहाँ मलाई अग्लो बनाउनुपर्ने भो,' उनले भने। नेपालको जवाफ सुनेर कार्यकर्ता गलल हाँसे।

ओलीले जवाफ फर्काइ हाले कि?

नेपालले सुरुमै ओलीलाई कम्युनिस्ट पार्टीको लायक नेता नै नभएको बताए। आफूले अध्यक्षबाट मात्रै नभई ओलीलाई साधारण सदस्यबाटै हटाउन तयारी गरेको नेपालले जानकारी दिए। सुर्खेतबाट भर्खर फर्किएका नेपाल काठमाडौँमा भएको राजनीतिक घटनाक्रमबारे भने अपडेट देखिएनन्। भाषण गर्दा उनले ओलीलाई पार्टीबाट निकाल्न स्पष्टीकरण सोधिएको बताए। तर जवाफ आए नआएको भने उनलाई थाहा भएन। मञ्चमा बसेका प्रचण्डलाई उनले सोधे -जवाफ त आएको छैन?

प्रचण्डले नआएको इसारा गरेपछि उनले कार्यकर्तातिर फर्किएर ओलीले कतै जवाफ फर्काएर सुध्रिने बाटोमा लागेकी भन्ने लागे पनि उनले त्यसो नगरेको बताए।

'म सुर्खेतबाट आएको। कतै जवाफ फर्काइहालेकी। कतै सच्चिइहालेकी। कतै माफी मागेर संसद् पुनर्स्थापन जुलुसमा सहभागी भइहालेकी भनेको त्यसो भएको रहेनछ,' उनले भने।

प्रचण्ड नेपाल समूहले केही दिनअघि ओलीलाई साधारण सदस्यबाट तपाईँलाई किन नहटाउने? भन्ने स्पष्टीकरणसहितको पत्र बालुवाटारमा बुझाएको थियो।

प्रचण्ड सरलाई प्रश्न

प्रचण्ड नेपालले शीर्ष नेताहरूको सुरक्षाको जिम्मा युवा संघका कार्यकर्तालाई दिएका थिए। युवा संघले नै उनीहरूलाई जुलुसमा मानव साङ्लो बनाएर सुरक्षा दिएका थिए। मञ्चको पनि चारैतिर उनीहरूको तैनाथ थियो। सञ्चारकर्मी बाहेकलाई मञ्च अगाडि बाँधिएको डोरीभित्र प्रवेश निषेध गरियो।

सुरक्षा कर्मीका साथसाथै बाक्लो गरी नेताहरूको सुरक्षामा खटिएका युवा संघका कार्यकर्ता निकै चनाखो देखिन्थे। प्रचण्डको भाषण गर्दा सुरुमा कार्यकर्ताले उनलाई हौस्याउन सिट्ठी बजाउनका साथै हो हल्ला गरे। प्रचण्डले सम्बोधन गरिरहेकै बेला एक जना युवा संघको घेरा तोड्दै भित्र छिरे। उनी अघि बढेको देखेपछि युवासंघका कार्यकर्ताले उनलाई नियन्त्रणमा लिए। 'प्रचण्ड सरलाई मेरो एउटा प्रश्न छ' भनी नसक्दै उनी युवा संघको पञ्जामा परे। मञ्चमा भाषण गरिरहेका प्रचण्डले भने उनलाई वास्ता गरेनन्।

प्रचण्डका दुई जुक्ति

संसद् विघटनपछिका अधिकांश सभामा नेकपाका नेताहरूको भाषण दोहोरिएको हुन्छ। ओलीले आफ्ना पुरानै कुरा दोहोर्‍याउँछन् भने उखान टुक्का जोड्दै नेता कार्यकर्तालाई हसाउँछन्। ओली इतर समूहका नेताले पनि पुरानै विषयलाई भाषणमा दोहोर्‍याउँछन्। कार्यकर्ताले धेरै पटक उनीहरूको भाषण सुनिसकेकाले पट्ट्यार मान्न थालेका छन्। प्रचण्डले शुक्रबारको भाषणमा भने दुई वटा विषय जोडे।

उनले जनयुद्धका बेला घाइते भएकालाई शुक्रबारको सभाबाट सम्झिए। यसअघिका अधिकांश भाषणमा उनले घाइते र उनका परिवारबारे खासै चर्चा गरेका छैनन्। कालीबहादुर खामलाई ओलीले संरक्षण गर्ने रे। घाइतेहरूलाई बरु मैले पैसा खोजेर राहत बाँड्ने गरेको छु। बरु ओलीले घाइते बेपत्ताका परिवारले खाइपाइ आएको भत्ता समेत कटाएका रहेछन्। अहिले पार्टीमा अल्पमतमा परेपछि प्रचण्डले जनयुद्धका घाइतेलाई हेर्नुपर्दैन भन्दै हिँडेका छन्,' उनले भने।

अहिले नेकपाका विभाजन भएपछि पूर्व माओवादीका अयोग्य लडाकु र नेताहरूलाई आफ्नो समूहमा तान्न ओलीले उनीहरूका पक्षमा बोल्न थालेका छन्। ओलीले पूर्व माओवादी र अयोग्य लडाकुलाई फकाउन थालेपछि प्रचण्डले ओली समूहमा नजान बरु ओलीपछि सरकारमा आफ्नो पार्टी जाने भएकाले आफैँलाई साथ दिन आग्रह गरे।

शुक्रबार प्रचण्डले भाषणका क्रममा सरकारी कर्मचारीलाई पनि सम्झिन भ्याए। उनले सरकारले अहिले आफ्नो आन्दोलनमा सहभागी भएका कर्मचारीको विवरण राखेको भन्दै आक्रोश व्यक्त गरे। उनले कर्मचारीलाई आफूले संरक्षण गर्ने प्रतिवद्धता जनाए। 'म चुनौती दिएर भन्न चाहन्छु। एउटा रौँ मात्रै पनि हल्लाएर देखाउनुस्। तागत छ। हामी संरक्षण गर्न तयार छौँ। गणतन्त्रको पक्षमा लाग्नेको हामी जिम्मा लिन तयार छौँ। यो सरकरको बिदापछि आउने सरकारले तपाईँहरूको संरक्षण गर्छ,' उनले भने।

संसद् विघटनका विपक्षमा महोल बनाउन र आन्दोलनलाई चर्काउन प्रचण्डले पछिल्लो समय विभिन्न जुक्ति लगाइरहेका छन्। उनले आफ्ना कमजोरीको समेत समीक्षा गर्ने र ओलीजस्तो नेता जन्मन नदिने प्रतिवद्धता गरेर जनतामा जाने सार्वजनिक रूपमा बताउन थालेका छन्।

एक्कासी ड्रोनको चर्चा

विरोधसभा चलिरहेका बेला सभा सञ्चालक पम्फा भुसालले ड्रोनले तस्बिर खिचिरहेको बताइन्। गृह मन्त्रालयले आफ्ना गतिविधिको निगरानी गरेको उनको आरोप थियो।

'साथीहरू अहिले हाम्रो कार्यक्रमको गृह प्रशासनले ड्रोनमार्फत तस्बिर लिएको छ। हामी यसबाट डराउँदैनौँ,' उनले भनिन्।

उनले यति भनेपछि सबै कार्यकर्ता आकाशतिर हेर्न थाले त्यतिबेला भने ड्रोन देखिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell