PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

खुलेका सिनेमा घरमा छैनन् दर्शक, निराश भए सञ्चालक



लक्ष्मी बलायर

खुलेका सिनेमा घरमा छैनन् दर्शक, निराश भए सञ्चालक

​​​काठमाडौं : कोरोना महामारीका कारण नेपाली सिनेमा जगत पनि नराम्ररी थला पर्‍यो। यस क्षेत्रलाई पुन: उभ्याउन फिल्मकर्मीले सरकारविरुद्ध कदम चाल्नुपर्‍यो। गत पुस १० गतेबाट फिल्महलहरू सञ्चालनमा ल्याइयो, सरकारको अनुमतिबिना नै। त्यसको ठीक १ सातापछि मन्त्रिपरिषद्को बैठकले सिनेमा हल खोल्न अनुमति दिएपछि भने हल सञ्चालकहरूले राहतको सास फेरेका छन्। 

बिनाअनुमति हल खोल्ने सिर्जनात्मक आन्दोलन ताका त पूरानै फिल्महरू प्रदर्शनमा गरियो, 'आमा' र 'सेन्टी भाइरस।' ती फिल्म हेर्न हलसम्‍म पुग्ने दर्शकको संख्‍या औंलामा गन्दा अट्थे। त्यस समय धेरैको अनुमान थियो – पुरानो फिल्म भएकाले दर्शकको रुची रहेन। नयाँ फिल्म प्रदर्शनमा आए पक्कै हलसम्म आकर्षित हुन्छन्।

अनुमानबीच गत साताबाट प्रदर्शनमा आयो ‘एउटा यस्तो प्रेम कहानी।’ दिपेश सापकोटा निर्देशित फिल्म। त्यसमाथि चर्चित कलाकारहरू करिश्मा मानन्धर र शिव श्रेष्ठका सन्तानको डेब्यू। प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराजस्ता कलाकारको अभिनय। धेरैको आशाको केन्द्र थियो यस फिल्म।  

तर, फिल्म समीक्षात्मक हिसाबमा असफल ठहरियो। चर्चा नै आलोचनात्मक भएपछि दर्शक हलसम्म पुग्ने, पैसा कमाउने कुरै भएन। 

हल खुलेको छ तर व्यापार शून्य रहेको बताउँछन् क्युज सिनेमाका सञ्चालक सुमित मैनाली। हिन्दी सिनेमा मास्टर रिलिज भएपछि शुक्रवार र शनिवार फाट्टफुट्ट दर्शक आए पनि अहिले दर्शक नभएको उनले बताए। 

'सिनेमा हल खुलेपछि खर्चमात्र बढ्यो। राम्रो हिन्दी सिनेमा नआएसम्म र अवस्था सामान्य नहुन्जेल सिनेमा हल नै ठप्प राख्ने अवस्था आउँन सक्छ,' मैनालीले भने। 

क्युएफएक्समा पनि खासै दर्शक छैनन्। फिल्महरू प्रदर्शनरत् भए पनि व्यापार नभएको जानकारी दिए सीइओ रोशन अडिगाले। उनका अनुसार लबिम मल, छाँया सेन्टर र सिभिल मलका चेनमा दर्शक संख्या निराशाजनक छ। प्रत्येक सोमा बढीमा २० देखि २५ जनाको मात्र उपस्थिति छ। 
'नेपाली फिल्म त फ्लप नै भइसक्यो बरु हिन्दी फिल्म हेर्न थोरै भए पनि दर्शक आएका छन् ', उनले भने। 

कोभिड-१९ महामारीका कारण सिर्जित त्रास र जोखिमलाई हेर्ने हो भे जति दर्शक आएका छन् त्यतिलाई पर्याप्त मान्नु पर्ने तर्क राख्छन् एफक्युज सिनेमाका व्यवस्थापक रामहरि कोइराला। हिन्दी फिल्म 'मास्टर' प्रदर्शनले दर्शक संख्या केही बढाएको जानकारी दिए उनले। 
भने, 'नेपाली फिल्मको भने अवस्था नाजुक छ।' 

फिल्म क्षेत्र चलायमान गराउने प्रयासबिच हल खुले र छायाँकनहरू सुरु भएका छन्। तर, तत्कालका लागि कुनै पनि नेपाली फिल्मले प्रदर्शन मिति तय गरेको भने छैन। दर्शकको मुड हलसम्म आउने अवस्था नभएसम्म फिल्म रिलिज जोखिमपूर्ण नै हुने देखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell