PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

विद्यालयका संचालकबाट पौने तीन करोड ठगी : न जग्गापास, न बैना नै फिर्ता



पहिलोपोस्ट

विद्यालयका संचालकबाट पौने तीन करोड ठगी : न जग्गापास, न बैना नै फिर्ता

काठमाडौं : पौने तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार बबरमहलस्थित ओलम्पिया वर्ल्ड विद्यालका सञ्चालक समेत रहेका शिरिष खड्का र सुरेन्द्र महर्जनलाई नियन्त्रणमा लिएको हो।

'ठगी गरेको उजुरीको आधारमा अनुसन्धानको लागि नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले भने।

उनीहरुलाई जिल्ला अदालत काठमाडौंबाट ठगी मुद्दामा पक्राउ अनुमति लिएर समातेको हो। पक्राउ परेका खड्का न्याय परिषद्का सदस्य लक्ष्मीबहादुर "निराला" खड्काका छोरा भएको खुलेको छ।

एक वर्षअघि उनीहरुले कोटेश्वरमा स्कुलको नामा रहेको दुई रोपनी १४ आना २ पैसा जग्गा कृष्णप्रसाद देवकोटालाई बिक्री गर्ने सहमतिमा बैना रकम समेत लिएको प्रहरीको अनसन्धानमा खुलेको छ। २०७६ वैसाखमा देवकोटाले उनीहरुलाई जग्गा बैना स्वरुप २ करोड ७५ लाख रुपैयाँ बुझाएका थिए। तर, सुरुमा भाका गरेको समयमा उनीहरुले जग्गा पास गर्न त परै जाओस् बैनाको रकम समेत फिर्ता गरेनन्।

देवकोटाले पटक पटक बैनाको रकम माग्दा समेत फिर्ता नदिएपछि एक वर्षअघि प्रहरीमा उजुरी गरेका थिए। ठगी मुद्दामा विद्यालयका अन्य संचालक समेत फरार रहेका खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ। 'गएको फागुन १६ गते उजुरी दर्ता भएको थियो। अरु ७/८ जना यो घटनामा जोडिएका छन्। उनीहरुलाई खोजी गरिरहेका छौं,' परिसरका डीएसपी विष्टले भने।

कुनै पनि स्कुलको जग्गा बिक्री तथा खरीद गर्दा महानगरपालिकाको शिक्षा शाखाबाट अनुमति लिनुपर्ने हुन्छ। तर, त्यस विपरीत गएर कारोबार गरिएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ।

प्रहरीले केही दिनअघि थानकोटमा रहेको जग्गा कीर्ते गरी ठगी गरेको अभियोगमा मलपोतका अधिकृतसहित दुई जनालाई समातेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नुवाकोट ककनी गाउँपालिका ८ घर भएका नारायण श्रेष्ठ र काठमाडौं टोखा नगरपालिका बस्ने दीपक दाहाललाई पक्राउ गरेको थियो। श्रेष्ठ मालपोत कार्यालय कलंकीका नायव सुव्बा र दाहाल (तत्कालीन) शाखा अधिकृत हुन्।

उनीहरुले मीना खड्काको नाममा थानकोटमा रहेको २० आना जग्गाको नक्कली जग्गाधनी र कागजपत्र बनाएर ७२ लाख रुपैयाँ ठगी गरेको खुलेको थियो। वास्तविक जग्गाधनी भने बेल्जियममा भएको समयमा किर्ते गरी ठगी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell