नयाँ दिल्ली : जेलमा रहेका राष्ट्रिय जनता दल (आरजेडी)का प्रमुख लालुप्रसाद यादवको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआइआइएमएस) दिल्ली लगिने भएको छ।
राँचीको अस्पतालमा उउपचार गराइरहेका बिहारका पूर्व मुख्यमन्त्री यादवको अवस्था खराब हुँदै गएपछि दिल्ली लैजान लागिएको प्रेस ट्रस्ट अफ इन्डियालाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ।
यादव राँचीको राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (आरआइएमएस) मा उपचाररत थिए। सामान्य निमोनिया देखिएपछि उनको उपचार सुरु भएको थियो।
'लालुप्रसादलाई पछिल्ला दुई दिन सास फेर्न कठिन भएको थियो। शुक्रवार उनलाई निमोनिया भएको पुष्टि भयो। उमेरको अवस्था हेरेर हामीले उहाँलाई एआइआइएमएस दिल्ली पठाउने तयारी भएको हो,' आरआइएमएसका निर्देशक डाक्टर कामेश्वर प्रसादले भने।
उनका अनुसार आजै उनलाई दिल्ली पठाइने प्रकृया अगाडि बढिसकेको छ।
दिल्ली लैजानका लागि यादवका परिवारका सदस्यहरुले एयर एम्बुलेन्सको लागि पहल गरिरहेका छन्। 'सास फेर्न कठिन भएका कारण उहाँको स्वास्थ्य अवस्था कमजोर भइरहेको छ। सबै रिपोर्ट हेरिसकेपछि के गर्ने भन्ने निर्णय हुनेछ,' लालुका छोरा तेजश्वी यादवले भने।
एआइआइएमएसका ८ जना चिकित्सकको टोलीले उनका सबै रिपोर्ट अध्ययन गरिरहेका छन्। उनीहरुले त्यसपछि दिने सुझावका आधारमा उनलाई दिल्ली लगिने छ।
बिहीवार सास फेर्न कठिन भएको बताएपछि चिकित्सकहरुले लालुको विभिन्न परीक्षण गरेका थिए। उनको बिहीवार नै एन्टी जेन परीक्षण गरिएको थियो जसमा रिपोर्ट नेगेटिभ देखिएको थियो। उनको आरटी पीसीआर परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ देखिएको थियो।
